उडिरहेको विमानभित्र चक्कु प्रहार गरिएका पाइलट अस्पतालको शय्याबाटै बोले

Published
पढ्ने समय: ३ मिनेट

यूएईबाट इजरेलका लागि उडेको एउटा विमानभित्र सहकर्मीले चक्कु प्रहार गरेपछि घाइते भएका एक भारतीय विमानचालकलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालको शय्यामै फोन गरेका छन्।

उक्त संवादका क्रममा क्याप्टेन स्मित मच्छार निकै भावुक देखिएका थिए। उनले विमानमा सवार मानिसहरूलाई मृत्युवरण गर्न दिन आफूले नसकेकाले प्रतिकार गरेको बताएका छन्। उक्त विमानमा १७० जनाभन्दा बढी मानिस सवार थिए।

आफूमाथि हमला भएपछि ककपिटको ढोका खोलेर यात्रुहरूलाई भित्र आउन दिई आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेपछि उनलाई "नायक" मान्दै प्रशंसा गरिएको छ।

क्याप्टेन मच्छरका अनुसार भुइँमा लडेको र अझै आक्रमण भइरहेकै अवस्थामा उनलाई विमान तलतिर खसेको महसुस भएको थियो। त्यसपछि आफूलाई "केही न केही गर्नुपर्छ" भन्ने लागेको उनले बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडिओ कलमा उनले भने, "म घाइते भएर भुइँमा लडेको थिएँ, तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरेँ।"

"अरू मानिसहरू भित्र आए अनि परिस्थिति नियन्त्रणमा लिए। म आफ्नै ज्यान जोगाउन सङ्घर्ष गर्दै थिएँ, तर 'अरूलाई मर्न दिने छैन' भन्ने कुरामा म स्पष्ट थिएँ।"

दुबईबाट उडेको उक्त विमान साउदी अरबमा सुरक्षित रूपमा अवतरण भएको थियो। विमानमा सवार सबै यात्रु सकुशल भएको बताइएको छ।

उक्त विमानले सुरुमा एअर ट्राफिक कन्ट्रोलरलाई आपत्कालीन सङ्केत र विमान अपहरणमा परेको जनाउ दिने सङ्केत पठाएको थियो।

पछि इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सञ्चारमाध्यमलाई एक विमानचालकले अर्का विमानचालकलाई चक्कु प्रहार गरेको र विमानलाई "दुर्घटना गराउने प्रयास गरेको" बताएका थिए।

पाइलटहरूबारे नेतन्याहूले के भने

नेतन्याहूले "वास्तविक नायक"को सङ्ज्ञा दिएका मच्छारलाई सुरुमा साउदी अरबस्थित ताबुकको अस्पताल लगिएको थियो।

त्यसपछि उनलाई विमानमार्फत् अबुधाबी लगियो। त्यहाँ उनको अवस्था स्थिर रहेको बताइएको छ।

नेतन्याहूले 'फक्स न्यूज'लाई बताएअनुसार आक्रमण गर्ने विमानचालक ओमानका नागरिक थिए।

अनुसन्धानमा उनी इस्लामिक कट्टरपन्थी विचारधाराबाट प्रभावित भएको देखिएको नेतन्याहूको भनाइ छ।

नेतन्याहूका अनुसार यात्रु र चालकदलका सदस्यहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएर बाँधेपछि उनले विमानका कर्मचारीहरूलाई "मलाई मारिदेऊ, मलाई मारिदेऊ" भनेका थिए।

"त्यसैले उनी आत्महत्या गर्ने मनसायमा थिए भन्ने कुरा स्पष्ट छ, यसमा कुनै शङ्का छैन," उनले भने।

यूएईको सरकारी समाचार एजेन्सीका अनुसार उक्त घटनाको सम्बन्ध कुनै आतङ्कवादी गतिविधि वा उद्देश्यसँग भए नभएकोबारे अनुसन्धान सुरु भएको छ।

'पूरा भारत गौरवान्वित'

मच्छारको परिचय सार्वजनिक भएदेखि नै भारतीय सामाजिक सञ्जालमा उनको प्रशंसाको ओइरो लागेको छ।

मोदीसँगको कुराकानीमा उनले आफूले १७ वर्षदेखि विमान उडाउँदै आएको र "आँखा बन्द गरेर पनि विमानमा के हुँदै छ त्यो भन्न सक्ने" बताए।

मोदीले उनले "साहस, धैर्य र तत्काल निर्णय गर्न सक्ने क्षमताका कारण धेरै मानिसको ज्यान बचाएको" भन्दै पूरा भारत उनीप्रति गौरवान्वित भएको बताए।

यूएईस्थित भारतीय दूतावासले बिहीवार मच्छार "निको हुने क्रममा रहेको र उनको स्वास्थ्य राम्रो रहेको" बताएको थियो।

राजदूत दीपक मित्तलले आफू "क्याप्टेन स्मितको वीरताप्रति गौरवान्वित भएको" र उनलाई भेट्न पाउँदा "ढुक्क" भएको बताए।

मच्छारले भने, "मैले यो चोटलाई चोट मानेको छैन किनभने त्यसो गर्दा मलाई निको हुन कठिन हुन्छ।'

"म यसलाई एउटा यात्राको रूपमा हेर्दै छु, जुन बिस्तारै अघि बढ्दै छ। यसलाई केही समय लाग्छ। तर म पूर्ण रूपमा निको हुन्छु अनि पुनः स्वस्थ र हुन्छु भन्ने कुरामा म विश्वस्त छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।