तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फ्लाइदुबईको विमानमा चक्कु प्रहार भएको घटना 'नियतवश दुर्घटना गराउने प्रयास'
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले तेल अभिभतर्फ उडान गर्दा साउदी अरबमा आपत्कालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेकोजस्तो देखिएको बताएका छन्।
घटनापछि एक यात्रु र चालकदलका एक सदस्य ककपिटको ढोका फोडेर भित्र गएको अनि धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबुमा लिन सफल भएको जानकारी आफूलाई दिइएको उनले बताए।
त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतन्याहूले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ।
इजरेलका रक्षामन्त्रीले प्रारम्भिक सङ्केतले सो घटना 'जिहादी आतङ्कवादी हमलाको प्रयास भएको' भन्दै विमानलाई नियन्त्रणमा लिन अर्का पाइलटलाई साथ दिएकोमा यात्रुहरूको प्रशंसा गरे।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको एफजेड१०७३ मा भएको उक्त विमानमा भएको घटनाबारे फ्लाइदुबईले पनि प्रतिक्रिया दिएको छ।
विमानको 'फ्लाइट डेक'मा झगडा भएको उल्लेख गर्दै ती प्रवक्ताले उक्त उडानमा रहेका फ्लाइदुबईका चालकदलका सदस्यले सफलतापूर्वक त्यसलाई नियन्त्रणमा लिएको उक्त वायुसेवाका प्रवक्ताले जनाए।
सबै जना सुरक्षित रहेको उल्लेख गर्दै उक्त वायुसेवाले अहिलेको चरणमा उक्त घटनाको उद्देश्य र कारण थाहा नभएको र औपचारिक अनुसन्धानबाट मात्रै थाहा हुने उल्लेख गरेको छ।
के भएको थियो
विमानचालकहरूबीच झगडा भएपछि यूएईको दुबईबाट इजरेलको तेल अभिभका लागि उडेको एउटा यात्रुवाहक विमान साउदी अरबतर्फ मोडिएको इजरेली अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका थिए।
उडान ट्र्याक गर्ने वेबसाइट 'फ्लाइटरेडार२४' का अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधवार बिहान उडेको फ्लाइदुबईको उक्त विमानले दुई घण्टापछि आपत्कालीन सङ्केत पठाएको थियो।
त्यसको केही मिनेटपछि उक्त सङ्केतलाई परिवर्तन गरेर "विमान अपहरण" मा परेको सङ्केत पठाइएको थियो। तर पछि फेरि त्यसलाई सामान्य आपत्कालीन सङ्केतमै फर्काइएको थियो।
उक्त विमानमा झन्डै १५० जना सवार थिए। तीमध्ये अधिकांश इजरेली नागरिक हुन्।
उडान नम्बर एफजेड१०७३ (FZ1073) को उक्त विमान बेन-गुरियन विमानस्थलमा अवतरण हुनुपर्ने थियो। तर विमानचालकहरूबीच विवाद उत्पन्न भएपछि अप्रत्याशित रूपमा उत्तरपूर्वी साउदी अरबको तबुक विमानस्थलमा पुगेको अधिकारीहरूले जनाएका छन्।
'चक्कु प्रहार'
इजरेली अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले एक पाइलटले विमान आफ्नो नियन्त्रणमा लिनुअघि अर्का पाइलटलाई चक्कु प्रहार गरेको विवरण प्रकाशित गरेका छन्।
विमानमा सवार यात्रुहरूले पनि विमानभित्र धारिलो हतियार प्रहार भएको जानकारी स्थानीय सञ्चारमाध्यमलाई दिएका छन्।
फ्लाइदुबईका एक प्रवक्ताले विमानमा "उडानका क्रममा एउटा घटना भएको" पुष्टि गरेका छन्।
तर उनले थप विवरण प्राप्त भएपछि मात्र अद्यावधिक जानकारी दिइने जनाएका छन्।
"हाम्रा टोलीहरू सम्बन्धित निकायहरूसँग समन्वय गरेर काम गर्दै छन्," उनले भने।
'दुई मिनेटमा १७,००० फीट तल ओर्लियो'
फ्लाइटरेडार२४को तथ्याङ्कले उडेको दुई घण्टापछि उक्त विमान यूटीसी ०५:२१ बजेपछि दुई मिनेटभन्दा कम समयमा १७,००० फीट (५,००० मिटरभन्दा बढी) तल तीव्र गतिमा ओर्लिएको देखिन्छ।
उक्त विमान यूटीसी ५:४० मा केही बेर जोर्डनको आकाशमा प्रवेश गरेर केही मिनेटपछि पुनः साउदी अरब फर्किएको थियो। साउदी अरबको आकाशमा पुगेपछि अवतरण गर्ने उद्देश्यले विमान तल ओर्लिन थालेको देखिन्छ।
सुरुमा विमान अपहरण भएको आशङ्कामा इजरेली प्रधानमन्त्री र रक्षामन्त्रीले आपत्कालीन छलफल गरेका थिए।
अप्रत्याशित रूपमा आफ्नो उडान मार्गबाट विमान अन्यत्र मोडिएपछि इजरेली वायुसेनाले प्रतिक्रियास्वरूप लडाकु विमानहरू परिचालन गरेको थियो।
एउटा विज्ञप्ति जारी गर्दै नेतन्याहूले स्थिति नियन्त्रणमा रहेको र साउदी अरबबाट इजरेली यात्रुहरूलाई स्वदेश फर्काउने प्रयास भइरहेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।