इजरेलतर्फ गइरहेको विमानमा धारिलो हतियार प्रहार गरिएका 'हिरो' भारतीय पाइलट को हुन्?

    • Author, हेनरी मूर
    • Role, लन्डन
    • Author, सारान्य हृषिकेश र मेरिल सेबास्टिअन
    • Role, दिल्ली
  • Published
  • पढ्ने समय: ५ मिनेट

बुधवार इजरेलतर्फ उडान भरिरहेको विमानमा धारिलो हतियार प्रहार भएको भनिएका विमानचालकको नाम क्याप्टेन स्मित मच्छार रहेको र उनी भारतीय नागरिक रहेको अधिकारीहरूले बताएका छन्।

तेल अभिभतर्फ उडान भरिरहेको फ्लाइदुबईको विमानमा क्याप्टेन मच्छारलाई अर्का विमानचालकले हमला गरेपछि उक्त विमान साउदी अरबमा मोडिन बाध्य भएको बताइएको थियो।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले 'वास्तविक नायक' का रूपमा चित्रण गरेका ती क्याप्टेनलाई उत्तर पश्चिम साउदी अरेबियाको ताबुक सहरमा अवस्थित अस्पतालमा उपचारका लागि लगिएको थियो।

रियादस्थित भारतीय राजदूतावासले उनको अवस्था स्थिर रहेको उल्लेख गरेको छ।

एक्समा एक सन्देश लेख्दै इजरेली प्रधानमन्त्री नेतन्याहूले क्याप्टेन मच्छारले '१७४ जनाको ज्यान जोगाएको' र 'मध्य आकाशमा एउटा भयङ्कर विपद्' रोकेको बताएका छन्।

क्याप्टेन मच्छारका बारेमा हामीलाई के थाहा छ?

क्याप्टेन मच्छार भारतको मुम्बई सहरमा हुर्किएका थिए र उनका अभिभावकहरू अझै पनि त्यहाँ बस्ने गर्छन्। सन् २००८ मा उनी न्यूजील्यान्डको डनेडिनमा अवस्थित मेनल्यान्ड एअरको एभिएशन कलेजमा भर्ना भएका थिए। त्यसको तीनवर्षपछि उनले भारतीय एअरलाइन स्पेशजेटमा व्यवसायीक पाइलटका रूपमा काम गर्न थालेका थिए।

सन् २०२२ मा अनुभवी पाइलटको हैसियतमा उनी फ्लाइदुबईमा आबद्ध भए।

बीबीसीसँग कुरा गर्दै मेनल्यान्ड एअरका प्रमुख कार्यकारी फिलिप केनले सङ्कटका बेला पनि शान्त रहने व्यक्तिका रूपमा आफूले क्याप्टेन मच्छारलाई सम्झिएको बताए।

उनी भन्छन्, "हामीले उनलाई आकस्मिक अवतरणका बारेमा तालिम दिएको थियौँ, अत्यन्तै दुर्लभ रूपमा हुने यस्तो खालको अवस्था होइन। त्यो निक्कै लामो समय अघि थियो तर उनले राम्रो गरे र एकदमै इमान्दारीपूर्वक काम गरे।"

क्याप्टेन मच्छारसँग ९ हजार ७५० भन्दा बढी घण्टा उडानको अनुभव छ जसमध्ये ६,४०० घण्टा भन्दा बढी उनले उडानको नेतृत्व गरेको उनको लिन्क्डइन प्रोफाइलमा उल्लेख छ।

उनी विगतमा आवद्ध रहेको स्पाइसजेटले एउटा विज्ञप्तिमा मच्छारलाई 'असङ्ख्य जीवन जोगाएका' एक जना 'नायक' भनेको छ।

अघिल्लो वर्ष क्याप्टेन मच्छारले आफूले कसरी उडान थाले र पाइलटका रूपमा उनको अनुभव कस्तो रह्यो भनेर बोना-फाइड ब्यान्टर नामक पडकास्टमा आफ्नो अनुभव सुनाएका थिए।

उड्डयन, उनको 'बाल्यकालको सपना कहिल्यै पनि थिएन।" जब उनी १९ वर्षका थिए उनले व्यवस्थापन सम्बन्धी शिक्षा लिँदै थिए र त्यो बेला परिवारको व्यवसाय सम्हाल्ने योजना पनि गरिरहेका थिए। त्यही बेला उनी एउटा उड्डयन सम्बन्धी सेमिनारमा सहभागी भए र त्यही बेला उनलाई यो क्षेत्रप्रति अचानक रुचि बढेको उनले बताएका थिए।

मच्छारले पाइलटको पोसाक पहिरिएपछि आफू कसरी अनुशासित रहेको उल्लेख गर्दै उनले त्यो अवस्थामा आफूले 'शत प्रतिशत कामकै बारेमा सोच्ने गरेको' बताएका थिए। तर आफ्नो किशोर उमेरमा भन्दा फरक अहिले आफूले काम र जीवनशैलीको सन्तुलन र परिवारसँग समय बिताउने कुरालाई बढी महत्त्व दिएको पनि उल्लेख गरेका थिए।

"व्यक्तिगत जीवनको पनि उत्तिकै महत्त्व छ, त्यसले तपाईँलाई लामो समयसम्म उडान भर्न सघाउँछ," उनले सुझाव दिँदै भनेका थिए।

उडानमा आफूले भोगेका चुनौतीबारे कुरा गर्ने क्रममा उनले एक जना यात्रुलाई समय अगावै प्रसव पीडा भएपछि चालक दलका सदस्यहरू मिलेर सुरक्षित रूपमा सन्तान जन्मिने कुरा सुनिश्चित गराएको उल्लेख गरेका थिए।।

"उड्डयनको कुरा गर्दा आज म जस्तो पाइलट छु, त्यस्तो बन्न मलाई सघाउने सम्पूर्णप्रति म आभारी छु," उनको भनाई थियो। उनले तनावपूर्ण परिस्थितिसँग जुझ्ने विषयमा वरिष्ठ पाइलटहरूले आफूलाई शिक्षा दिएको पनि बताएका थिए।

त्यो संवाद् भएका बेला क्याप्टेन मच्छारले आफूले उडाएको कुनै पनि विमानले आपत्कालीन अवतरण गर्नु नपरेको पनि चर्चा गरेका थिए। उनले स्वास्थ्य आपत्काल वा अन्य उडान विलम्बहरू भने भोग्नु परेको थियो।

उनले त्यस्ता विलम्ब 'आफ्नो समस्या नरहेको भन्दै' आफूहरूले मानिसहरू विमानबाट सुरक्षित रूपमा बाहिरिएको मात्रै हेर्न चाहेको जनाएका थिए।

फ्लाइ दुबईका घाइते पाइलटका रूपमा उनको परिचय सार्वजनिक भएपछि भारतीय सामाजिक सञ्जालमा क्याप्टेन मच्छारको प्रशंसा भइरहेको छ। टिप्पणीकर्ताहरूले उनलाई नायक भनिरहेका छन् भने सो पडकास्ट पनि भाइरल भएको थियो।

फ्लाइ दुबईको विमानमा के भएको थियो

फ्लाइ दुबईको विमान एफजेड १०७३ युएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट जीएमटी ३:०५ मा बेन गुरिअन विमानस्थल इजरेलका लागि प्रस्थान गरेको थियो।

उक्त विमानमा कम्तीमा १५० जना यात्रुहरू थिए। नेतन्याहूले 'लगभग सबै' इजरेली भएको बताएका छन्।

उडानहरूको ट्रयाकिङ् गर्ने वेबसाइट 'फ्लाइटरेडार २४' को तथ्याङ्कले उक्त विमान उडान थालेको अढाई घण्टापछि साउदी अरेबियामा तीव्र गतिमा तल झरिरहेको देखाएको छ। दुई मिनेट भन्दा कम अवधिमा ०५:२१ मिनेटमा उक्त विमान १७,००० फिट भन्दा धेरै तल झरेको थियो।

त्यसको केही मिनेटपछि विमानले आपत्कालीन कोड पठाएको थियो। त्यसपछि उसले विमान अपहरणमा परेको अर्को सङ्केत पठायो। जोर्डनको हवाई क्षेत्रमा छोटो समयका लागि प्रवेश गरेको सो विमान ५ बजेर ४० मिनेटमा पुनः साउदी हवाई क्षेत्रमा देखिएको थियो र पछि उसले मानवीय सहयोगमा अवतरण थालेको थियो।

करिब एक घण्टाभन्दा कम समयमा विमान पुनः आपत्कालीन कोड पठाइएकै बिन्दुमा फर्किएको थियो। प्रारम्भिक विवरणहरूमा इजरेली अधिकारीहरूले दुई जना पाइलटबीच 'झगडा भएको' उल्लेख गरेका थिए।

तर बुधवार घटनापछि नेतन्याहूले एक जना पाइलटले अर्को पाइलटलाई धारिलो हतियार प्रहार गरेको भन्दै त्यो 'विमानलाई दुर्घटना गराउने प्रयास जस्तो देखिएको' बताएका थिए।

उनले इजरेली यात्रुले आफूलाई 'विमान अनियन्त्रित भएको र स्वाट्टै तल झरेको' आफूलाई बताएको उल्लेख गर्दै एक जना यात्रु र चालक दलका अर्का सदस्य ककपीट भित्र प्रवेश गरेको र 'धारिलो हतियार प्रहार गर्ने पाइलटलाई' काबूमा लिन सफल भएको बताएका थिए।

उत्तर पश्चिम साउदी अरेबियाको ताबुक विमानस्थलमा उक्त विमानले ६:५८ मा अवतरण गरेको थियो।

पछि साउदी अरेबियास्थित भारतीय राजदूतावासले धारिलो हतियार प्रहार गरिएका घाइते पाइलट मच्छार रहेको पुष्टि गरेको थियो।

मोदी र ट्रम्पको प्रशंसा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गम्भीर घाइते हुँदा पनि मच्छारले 'अदम्य साहस देखाएको र अरूको जीवन रक्षाका लागि दृढ अठोट व्यक्त गरेको' उल्लेख गरेका छन्।

उनले एक्समा राखिएको एउटा पोस्टमा उनको साहसका कारण सयौँ व्यक्तिको ज्यान जोगिएको र एउटा ठूलो विपद् टरेको उल्लेख गर्दै मच्छारको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन्।

भारतीय विदेशमन्त्री एस जयशङ्करले पनि पाइलटको 'अभूतपूर्व साहस' को प्रशंसा गर्दै 'ठूलो खतरा सामुन्ने हुँदा पनि उनले उल्लेखनीय सुझबुझ देखाएको' जनाए।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'पाइलटलाई नराम्रोसँग चोट लाग्दा पनि' उनले आक्रमणको समयमा सुझबुझ देखाएको बताए।

" ककपिटको ढोका खोलिदिएर अचम्म पार्ने गरी उनी नायक बने। आफू पछाडि ढल्दै गए पनि उनले ढोका खोल्न सके," ट्रम्पले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।