विश्वकप २०२६ को पहिलो खेलमा तीन 'रेड कार्ड': कतै रेफरीहरू कठोर बन्ने लक्षण त होइन?

तस्बिर स्रोत, Reuters
- Author, डेल जोन्सन,
- Role, फुटबल संवाददाता, बीबीसी स्पोर्ट
- Published
- पढ्ने समय: ६ मिनेट
धेरैलाई विश्वकपका खेलहरूमा 'रेड कार्ड'को वर्षा हुन छोड्छ जस्तो लागेको थियो। तर बिहीवार फिफा विश्वकप २०२६ को पहिलो खेलमा रेफरीले तीन पटक रेड कार्ड निकाले।
मेक्सिको सिटीमा आयोजित समूह 'ए'को खेलमा आयोजक राष्ट्र मेक्सिकोको टोलीले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्यो।
रेफरीले सुरुमा दक्षिण अफ्रिकाका याया सिट्होल र टेम्बा ज्वाने अनि त्यसपछि मेक्सिकोका सीजर मोन्टेसलाई खेलको अन्तिम क्षणतिर मैदानबाट बाहिर पठाइदिए।
हामीलाई रेफरीहरूको नम्र स्वभाव र व्यवहार देख्ने बानी परिसकेको हुन सक्छ। रुस र कतारमा आयोजित दुइटा विश्वकपमा पूरै प्रतियोगितामा केवल चार-चारवटा रेड कार्ड देखाइएको थियो।
बीस वर्षपछि पहिलो पटक यसपालि एउटै खेलमा तीन खेलाडी त्यस्तो कारबाहीमा परेका हुन्। सन् २००६ मा विश्वकपमा पूरा प्रतियोगितामा कुल २८ खेलाडीले रेड कार्ड पाएका थिए।
उक्त प्रतियोगितामा तीनवटा खेलमा तीन-तीन खेलाडीले रेड कार्ड पाएका थिए भने पोर्चुगल र नेदरल्यान्ड्सको खेलमा अहिलेसम्मकै सर्वाधिक चार खेलाडीले रेड कार्ड पाएका थिए।
कहिलेकाहीँ रेड कार्ड दिनुको कारण चित्तबुझ्दो हुन्छ

तस्बिर स्रोत, Getty Images
फिफाले सन् २०१७ मा प्येर्ल्वीजि कोलिनालाई नयाँ मुख्य रेफरी नियुक्त गर्यो। त्यसपछि नयाँ युगको आरम्भ भयो।
रेफरीले गर्ने निर्णयबाट दुवै टोलीलाई न्याय हुनुपर्छ भन्ने कुरामा कोलिनाले जोड दिँदै आएका छन्। रेड कार्ड पाउनैपर्ने गतिविधि नगरेसम्म खेलाडीहरू मैदानमा रहनुपर्छ।
उदाहरणका लागि, उनको कार्यकालमा गोल गर्ने सुनिश्चित अवसरलाई फाउल गरेर रोकिँदा (Dogso - डग्सो)को नियम केही खुकुलो पारिएको छ। अब त्यस्तो अवस्थामा रेफरीले पेनाल्टी दिएको छ भने हतपत रेड कार्ड सोझै दिँदैन।
त्यसैले उनी नेतृत्वमा हुँदा सन् २०१८ र २०२२ का विश्वकपमा केवल खेलाडीहरूले केवल चार-चार पटक रेड कार्ड पाए।
प्रतियोगिताको प्रारम्भमा रेफरीहरूको निर्णयशैलीको आधारमा प्रायजसो पछि हुने खेलहरूका लागि एउटा रूपरेखा निर्धारण हुँदै आएको देखिन्छ। यो खेलले त्यस्तो सङ्केत गरेको निष्कर्ष निकाल्नु कति उपयुक्त होला त?
प्रतियोगिता आरम्भ हुनुअघिको ब्रीफिङमा कोलिनाले समय खेर फाल्ने प्रवृत्ति र खेलाडीहरूको व्यवहारमा आफ्नो ध्यान केन्द्रित भएको जनाउ दिएका थिए। रेड कार्डको सङ्ख्या ह्वात्तै बढ्ने सङ्केत दिँदै कुनै कठोर नीति अङ्गीकार गरिएको विषयबारे चर्चा भएकै थिएन।
यद्यपि कहिलेकाहीँ खेलाडीलाई रेड कार्ड दिनुको कारण युक्तिसङ्गत हुन्छ।

तस्बिर स्रोत, Reuters
ब्रायन गूट्यिरेसलाई लडाएकाले सिट्होललाई मैदानबाहिर पठाउनु रेफरी विल्टन साम्पाइऊका लागि सजिलो निर्णय थियो।
मेक्सिकोका आक्रामक मिडफील्डर गूट्यिरेस गोल गर्न सक्ने स्पष्ट अवस्था सिर्जना गर्दै अगाडि बढेका थिए।
सिट्होलले उनलाई जानीजानी लडाउन नखोजेको पनि हुन सक्छ तर गूट्यिरेसलाई रोक्न खोज्दा उनले फाउल गर्न पुगे। ती दक्षिण अफ्रिकी डिफेन्डरले विपक्षी खेलाडीलाई गोल गर्ने सुनिश्चित अवसरबाट विमुख पारिदिए भन्नेमा कुनै द्विविधा थिएन।
दोस्रो रेड कार्डबारे चाहिँ विवाद उत्पन्न भएको छ। ज्वानेको आक्रामक व्यवहारबारे भिडिओ सहायक रेफरीले रिभ्यू गरेपछि रेफरीले निर्णय लिएका हुन्।
दक्षिण अफ्रिकाका ज्वाने र मेक्सिकोका रोबेर्टो आल्भाराडोबीच घम्साघम्सी हुँदा आल्भाराडो टाउको समात्दै मैदानमा ढले।
बाहिरबाट हेर्दा त्यो सामान्य शारीरिक टक्करजस्तो मात्र देखिन्थ्यो। तर भिडिओ सहायक रेफरी (भीएआर) कोलम्बियाका निकोला ग्याल्योले मैदानका रेफ्रीलाई 'पिचसाइड स्क्रीन'मा गएर भिडिओ फेरि हेर्न आग्रह गरे।

तस्बिर स्रोत, Reuters
साम्पाइऊलाई मनिटरमा रिप्ले देखाइयो तर त्यसबाट के भएको थियो भन्ने निष्कर्ष निकाल्न गाह्रो थियो।
के हात टाउकोमा ठोकिएको थियो? हो भने त्यो झुक्किएर भएको थियो कि उनले हात नै चलाएका थिए?
आक्रामक व्यवहारको परीक्षण गर्दा भीएआरहरूलाई मुट्ठी कसिएको छ कि छैन त्यो हेर्न भनिन्छ। मुट्ठी कस्नु भनेको आक्रामकताको सङ्केत हो। त्यो हुनैपर्छ भन्ने छैन तर त्यसले सङ्केत चाहिँ गर्छ।
ज्वानेको एउटा खुला हातले आल्भाराडोको टाउकोमा छोएको देखियो। उनको मुट्ठी भने कसिएको थिएन।
उनलाई रेड कार्ड दिने निर्णय निकै कठोर देखिन्छ। भीएआरको सहायतामा लिइएको भए पनि यो निर्णय स्पष्ट र अकाट्य बन्न सकेन।
कोलिनाले रेफरी र भीएआरहरूलाई खेलाडीको खराब आचरणबारे विचार गर्न दिएको निर्देशनमा यो पनि परेको हुन सक्छ।
विवाद हुँदा आफ्नो मुख छोप्ने र कुनै निर्णयको विरोध गर्दा मैदान छोड्ने खेलाडीहरूलाई कोलिनाले रेड कार्ड देखाउने गरेका छन्।
उनी फ्रीकिक वा कोर्नरका बेला विपक्षी खेलाडीलाई छेकेर गरिने गोललाई मान्यता नदिने पक्षमा देखिन्छन्।
सम्भवतः ज्वानेको व्यवहार पनि यही वर्गमा पर्छ। अनि उक्त निर्णय खेलभित्रका यस्ता गलत दाउपेचलाई घटाउन कोलिनाले चालेको एउटा कदम हुन सक्छ।
रेफरीको निर्णयबारे आत्तिनुपर्ने बेला भएको छैन

तस्बिर स्रोत, Reuters
तेस्रो रेड कार्ड पनि 'डग्सो' अर्थात् गोल गर्ने सुनिश्चित अवसर फाउल गरेर रोकिएको भन्दै दिइएको हो। त्यो निर्णय सुरुमा विवादित देखियो।
डी-बक्सतिर तीव्र गतिमा अघि बढ्दै दक्षिण अफ्रिकाका खुलिसो मुडाऊले मोन्टेसलाई छलाउन खोजे। तर उनलाई मोन्टेसले नराम्रो 'ट्याकल' गरेर रोकिदिए।
मुडाऊ केही खुल्ला स्थानमै थिए। त्यसैले मोन्टेसले 'येलो कार्ड' मात्र पाउने ठानिएको थियो। तर साम्पाइऊले उनलाई रेड कार्ड देखाए। भीएआरबाट के भएको थियो भनेर समीक्षा हुने भयो।
भिडिओमा हेर्दा मुडाऊले अर्को टचमा बललाई डी-बक्सभित्र आफ्नो नियन्त्रणमा लिन सक्ने सम्भावना देखिन्थ्यो। उनलाई रोक्न सक्ने गरी छेउछाउमा अरू डिफेन्डर थिएनन्।
मुडाऊले एक पटक बल छुँदै गोल प्रहार गर्न सक्थे। भीएआर आफू संलग्न भएर रेफरीलाई उक्त निर्णय त्रुटिपूर्ण छ भन्न सक्ने सम्भावना थिएन।
गत प्रिमिअर लीगमा भएको एउटा खेलमा त्यस्तै घटना भएको थियो। अक्टोबरमा क्रिस्टल प्यालेस र बर्न्मथबीच भएको खेल ३-३ को बराबरीमा टुङ्गिएको थियो।
मार्कोस सेनेसीले इस्माइला सारलाई लडाइदिए। प्यालेसका स्ट्राइकर सार मुडाऊको जस्तो स्थितिमा अगाडि बढ्दै थिए।
रेफरी ज्यारेड जीलेटले येलो कार्ड दिए। तर भीएआरले रेड कार्ड दिनुपर्ने गरी भिडिओ समीक्षा गर्नुपर्छ भने।
जीलेटले समीक्षा गर्न अस्वीकार गरे। तर प्रिमिअर लीगको 'की म्याच इन्सिडन्ट्स प्यानल'ले उनको निर्णय गलत भएको निष्कर्ष बहुमतका आधारमा निकाल्यो। त्यो रेड कार्ड नै हुनुपर्थ्यो भने निर्ष्कष निस्कियो।
सम्भवतः यसले साम्पाइऊको निर्णय सही थियो भन्ने देखाउन सक्छ। उनको निर्णय निश्चित रूपमा तर्कसङ्गत थियो।
कोलिना 'डग्सो'विरुद्ध कडा कारबाही सुरु गरिहाल्ने खालका प्रशासक होइनन्। उनले विश्वकप सुरु हुनुअघि नै आफ्ना उद्देश्यहरू स्पष्ट पारिसकेका थिए।
जथाभाबी रेड कार्ड देखाएर रेफरीहरूले विश्वकपको आकर्षणलाई यसपालि धमिलो बनाइदिन्छन् भन्ने निष्कर्षमा पुग्नु हतारो हुने छ।
कुल १०४ खेलको लामो प्रतियोगितामा यो खेल एउटा अपवाद मात्र पनि हुन सक्छ।
खेलको मैदानमा दिइएका दुइटा रेड कार्ड सम्भवतः सन्तुलित र सही निर्णय थिए।
त्यसैले रेफरीहरूको विषयमा अहिल्यै नआत्तिइहालौँ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















