ड्रोन, साइबर हमला र मिथ्या प्रचार : युरोपविरुद्ध 'हाइब्रिड युद्ध' थालेको रुसमाथि आरोप

तस्बिर स्रोत, EPA
- Author, लुइस बरुचो
- Role, बीबीसी विश्व सेवा
- Published
- पढ्ने समय: ६ मिनेट
गत महिना लाइप्ट्सिक विमानस्थलमा भएको ड्रोन हमलाका लागि जर्मनीले मस्कोलाई दोषारोपण गरेपछि रुस र पश्चिमा विश्वबीच तनाव चुलिएको छ।
जर्मनीका आन्तरिक मामिलामन्त्री आलेक्सान्डर डोर्बिन्टले खुल्ला द्वन्द्व ननिम्त्याई सैनिक र गैरसैनिक रणनीतिको प्रयोग गरिएको ड्रोन हमलाले "युरोपमा रुसद्वारा स्थापित मिश्रित कारबाहीहरूको शैलीलाई अनुकरण" गरेको बताएका छन्।
प्रतिक्रियास्वरूप जर्मनी र रुसले एकअर्काका सांस्कृतिक केन्द्रहरू बन्द गराएका छन् भने बोनस्थित रुसी वाणिज्यदूतावास पनि बन्द भएको छ।
उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका लागि अमेरिकी राजदूत म्याथ्यू ह्वाइटेकरले लाइप्ट्सिक विमानस्थलमा भएको हमलालाई युरोपमा भएका "निकै चिन्ताजनक हाइब्रिड कारबाहीमध्ये एक" भनेका छन्।
"त्यस्तो कदम स्वीकार्य भएको र आफूहरूले नसहने भनी सशक्त प्रतिवाद गर्नु" महत्त्वपूर्ण भएको उनले बताए।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको अतिक्रमण थालेपछि मस्कोले व्यापक रूपमा उक्त शैलीको कारबाही गर्दै आएको विज्ञहरूले औँल्याएका छन्।
मस्कोले लाइप्ट्सिकमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै जर्मनीले लगाएका आरोपहरूलाई आधारहीन भनेको छ। पहिला भएका घटनाबारे आफूमाथि लागेका आरोपहरू पनि उसले खण्डन गरेको छ।
मस्कोले 'पश्चिममा बेमेल र अस्तव्यस्ता' चाहेको छ
यसै वर्षको आरम्भतिर ब्राटिस्लाभास्थित थिङ्क ट्याङ्क 'ग्लोब्सेक'ले सन् २०२२ को फेब्रुअरीदेखि सन् २०२६ को फेब्रुअरीसम्म युरोपविरुद्ध १५१ वटा रुसी गतिविधि पाइएको जनाएको थियो। यद्यपि सन्दिग्ध घटनाहरूको सङ्ख्या त्योभन्दा बढी भएको उसको तर्क छ।
त्यसमा हत्या गर्ने प्रयास, आगजनी गर्ने, तोडफोड गर्ने र सार्वजनिक स्थलहरूमा अवरोधहरू सिर्जना गर्ने जस्ता रुसी गतिविधि रहेका उसले उल्लेख गरेको छ।
पोल्यान्ड, फ्रान्स, जर्मनी, लिथुआनिआ, एस्टोनिआ र यूकेलगायतका देशमा गरिएका आक्रमणहरूको एकमात्र कारण ती मुलुकहरूले युक्रेनलाई गरेको समर्थन रहेको स्पष्ट देखिएको ग्लोब्सेकले निष्कर्ष छ।
गत अगस्टमा अमेरिकी 'कङ्ग्रेसनल रिसर्च सर्भिस' को एउटा अध्ययन प्रतिवेदनले पनि युरोपमा रेल्वे, समुद्रमुनिका केबलमाथि आक्रमण, "हत्या, राजनीतिक हस्तक्षेप तथा प्रभाव, साइबर हमला र हवाई क्षेत्र उल्लङ्घन" लगायतका आरोप रुसमाथि लगाएको थियो।
'रुसी' नामक यूकेमा अवस्थित थिङ्क ट्याङ्ककी एमिली फेरिस सन् २०२२ यता आक्रमणको मात्रा र स्तर बढेको बताउँछिन्।
"युद्धको स्तरमा नगई" मस्कोले "पश्चिममा बेमेल र अस्तव्यस्तता उत्पन्न गराउन" र "युक्रेनलाई समर्थन गरेकोमा नेटोका निम्ति त्यसको मूल्य बढाउन चाहिरहेको" उनी तर्क गर्छिन्।
क्रेम्लिनले "नेटोको नाडी छामिरहेको, युरोपेली साझेदारबीचको राजनीतिक एवं कानुनी मतभेदको फाइदा उठाइरहेको र नियतवश अनिश्चितता सिर्जना गरिरहेको" ग्लोब्सेकसँग आबद्ध शोधार्थी माक्सिम बेज्नोसिउक बताउँछन्।
"ठूलो अवरोध र राजनीतिक चिन्ता बढाउँदै युक्रेनलाई युरोपले गरिरहेको सैन्य सहायता र कम मूल्य एवं कम जोखिममा प्रतिरक्षा प्रणाली उत्पादन गर्ने क्षमतालाई कमजोर पार्ने रणनीति रुसको देखिन्छ," उनले अगाडि थपे।

जर्मनी, बेल्जियम, डेन्मार्क, नेदरल्यान्ड, फ्रान्स, नर्वे, स्वीडन र ब्रिटेनसहित कैयौँ युरोपेली देशहरूमा सैन्य संरचना, विमानस्थल तथा संवेदनशील पूर्वाधार संरचनाहरूनजिक रुससँग सम्बन्धित सन्दिग्ध ड्रोन गतिविधिहरू भएका विवरणहरू छन्।
तर हाइब्रिड गतिविधि भौतिक तोडफोडमा मात्र सीमित छैन।
युरोपेली सरकारहरूले झूटा सामाजिक सञ्जाल खाताहरू र अतिशयोक्तिपूर्ण रिपोर्ट र एआईद्वारा सिर्जित सामग्रीमार्फत् रुससँग सम्बन्धित सञ्जालहरूले गलत सूचना फैलाएको आरोप लगाएका छन्।
फ्रेन्च अधिकारीहरूले सन् २०२७ को राष्ट्रपतीय चुनावअघि प्रमुख राजनीतिक अनुहारहरूलाई निशाना बनाउने रुससम्बद्ध सन्दिग्ध 'इन्फ्लुअन्स अफरेशन'हरूबारे अनुसन्धान गरेका छन्।
जर्मन अधिकारीहरूले क्षेत्रीय चुनावहरूअघि गलत सूचना फैलाउन सकिने र लोकतान्त्रिक संस्थाहरूप्रति विश्वास घटाउने खालका गतिविधि हुन सक्नेतर्फ सचेत गराएका छन्।
"आधारभूत उद्देश्य फेरिएको छैन," बेज्नोसिउक भन्छन्, "मस्कोले ठूलो सङ्ख्यामा मतदाताहरूलाई प्रभावित पार्न जरुरी नठान्न सक्छ। उसले विद्यमान मतभेदको फाइदा उठाउन सक्छ, रुसका आलोचक राजनीतिज्ञहरूको साख गिराउन सक्छ, राजनीतिक ध्रुवीकरण बढाउन सक्छ र लोकतान्त्रिक संस्थाप्रति रहेको विश्वासमा क्रमिक रूपमा क्षयीकरण निम्त्याउन सक्छ।"
विज्ञहरूका अनुसार रुसले पछिल्ला वर्षहरूमा आफूलाई आक्रमण गतिविधिबाट पर राख्ने उपायहरू फेला पारेको देखिन्छ।
युक्रेनमा पूर्णस्तरको अतिक्रमणसँगै रुसी कूटनीतिक अभियानलाई व्यापक रूपमा जासुसीका लागि प्रयोग गरिने गरेको निष्कर्ष निकाल्दै युरोपेली सरकारहरूले कूटनीतिक आवरणमा खटिने सन्दिग्ध गुप्तचरहरूलाई निकाला गर्ने गरिएको बताएका छन्।
विज्ञहरूका अनुसार त्यससता युरोपको प्रतिगुप्तचरी कदमहरूलाई चुनौती दिन तेस्रो देशका नागरिकहरूलाई भर्ती गर्ने दिशामा मस्को निकै प्रभावकारी देखिएको छ।
"ती कामहरू राजदूतावासमार्फत् भएका छैनन्," फेरिस भन्छिन्, "छद्म माध्यमबाट भएका छन्।"
गत ज्यानुअरीमा लिथुआनिआका अधिकारीहरूले रुसको जीआरयू सैन्य गुप्तचर सेवालाई सन् २०२४ मा युक्रेनी सेनालाई रेडिओ वेब स्क्यानरहरू आपूर्ति गर्ने कारखानामा आगजनी गर्ने प्रयासको षड्यन्त्र गरेको आरोप लगाएका थिए।
उक्त घटनाको सम्बन्धमा स्पेन, कोलम्बिया, क्युबा, रुस र बेलारुसका छ नागरिकलाई पक्राउ गरिएको थियो। दोषी ठहर भएमा उनीहरूलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्छ।

तस्बिर स्रोत, Reuters
ग्लोब्सेकको रिपोर्टअनुसार युरोपमा रुससँग सम्बन्धित आक्रमणहरूमा संलग्न १७२ जनामध्ये ९५ प्रतिशत रुसी गुप्तचर निकायहरूसँग औपचारिक सम्बन्ध नभएका सामान्य नागरिकहरू" थिए।
"यसले रुसदेखि एक प्रकारको दूरी सिर्जना गर्छ," फेरिस भन्छिन्, "यसबाट दोषी ठहर गर्ने काम ढिलो र कानुनी रूपमा जटिल बन्छ।"
"यी सबै जानकारीहरू बाहिर आउन निकै समय लाग्यो। त्यसैले यो धेरै गाह्रो छ।"
बेज्नोसियूक रुसको तथाकथित "श्याडो फ्लीट"बारे पनि चर्चा गर्छन्। "श्याडो फ्लीट" भनेको तेल ट्याङ्कर तथा अरू व्यापारिक जहाजहरूको सञ्जाल हो जुन मस्कोविरुद्ध पश्चिमा जगत्को नाकाबन्दीलाई छल्नका निम्ति विदेशी झण्डा प्रयोग गरेर र विदेशमा दर्ता भएर सञ्चालन हुन्छन्।
सन् २०२४ यता त्यस्ता जहाजहरू समुद्रमुनिका केबल तथा पाइपलाइनमा क्षति पुर्याउने अनि बाल्टिक एवं नोर्थ सी क्षेत्रमा रहेका संवेदनशील पूर्वाधारनजिक निगरानी तथा ड्रोन गतिविधिमा संलग्न हुने क्रम बढ्दो छ।
अरू आरोपहरूलाई जस्तो यो आरोपको पनि रुसले खण्डन गर्दै आएको छ।
के गर्न सकिन्छ?

तस्बिर स्रोत, Finnbarr Webster/Getty Images
नेटो र ईयू रुसबाट हुन सक्ने खतराबारे "बोलेर मात्र नपुग्ने" भन्दै बेज्नोसिउक रुसी तोडफोडलाई कसरी परिभाषित र सम्बोधन गर्ने भन्नेबारे स्पष्ट हुनुपर्ने औँल्याउँछन्।
तोडफोडका कार्यहरूलाई राज्यको शत्रुतापूर्ण गतिविधिका रूपमा व्यवहार गरिनुपर्ने र चुनावअघि कूटनीतिक गतिविधिहरूमा कडा प्रतिबन्ध, रुसको "श्याडो फ्लीट"विरुद्ध कारबाही र मिडिया साक्षरतामा बढी लगानी हुनुपर्ने उनको तर्क छ।
नेटो र ईयूका देशहरूका अनुसार उनीहरूले जासुसी सहयोगलाई सशक्त बनाइरहेका छन्, महत्त्वपूर्ण पूर्वाधारहरूको सुरक्षा बढाइरहेका छन् भने रुससँग सम्बन्धित व्यक्ति, संस्था र जहाजहरूविरुद्ध प्रतिबन्धहरू विस्तार गरिरहेका छन्।
यद्यपि अधिकारीहरूका अनुसार हाइब्रिड खतराहरू बढ्दै र विकसित हुँदै जाँदा थप समन्वय आवश्यक पर्ने छ।
'असमझदारी हुन सक्ने पर्याप्त सम्भावना छ'
दुवै विज्ञका अनुसार भविष्यलाई हेर्दा रुसले नेटोसँग प्रत्यक्ष युद्ध गर्न चाहेको देखिँदैन।
युक्रेनसँगको युद्ध समाप्त भएपछि पनि रुसलाई आफ्नो सेना पुनर्निर्माण गर्न धेरै वर्ष लाग्ने फेरिसको आकलन छ।
बेज्नोसिउकका अनुसार "अधिक सम्भावित परिदृश्य" भनेको रुसले नेटोको पूर्वी भागमा "सीमित र जानाजानी अस्पष्ट राजनीतिक तथा सैन्य उत्तेजना" सुरु गर्ने छ।
यद्यपि रुसले 'हाइब्रिड युद्ध'मा अझ तीव्रता दिनेमा दुवै विज्ञ सहमत देखिन्छन्।
"जबसम्म यी कारबाहीहरू सस्तो, सजिलै जिम्मेवार ठहर्याउन कठिन र महत्त्वपूर्ण अवरोध एवं राजनीतिक चिन्ता निम्त्याउन सक्षम रहन्छन्, तबसम्म मस्कोसँग युरोपेली देशहरूको जोखिम र लक्ष्मणरेखाको परीक्षण जारी राख्न बलियो प्रोत्साहन हुने छ," बेज्निसिउक भन्छन्।
तर नजानीकनै तनाव भड्किने खतरा रहेकोमा फेरिस र बेज्निसिउक दुवै चेतावनी दिन्छन्।
"दुर्घटनाहरू, नागरिकहरूलाई हानि र राजनीतिक रूपमा संवेदनशील घटनाहरूले एउटा गम्भीर तनाव निम्त्याउन सक्छन्, जुन कुरा दुवै पक्षको चाहना होइन," बेज्नोसिउक भन्छन्।
त्यो कारणले गर्दा "अलोकप्रिय" भए पनि रुससँग सञ्चार सुदृढ गर्नुपर्ने फेरिसको तर्क छ। त्यसमा नेटो-रुसी परिषद्लाई फेरि बिउँताउनुपर्ने उनी बताउँछिन्। सन् २०२२ को ज्यानुअरीयता परिषद्को बैठक बसेको छैन।
"यो द्वन्द्व समाधानको कुरा हो, तुष्टीकरणको कुरा होइन," उनी भन्छिन्, "असमझदारी र मृत्युका निम्ति धेरै ठाउँ छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















