जाभा सागरमा सम्पर्कविहीन इन्डोनेशियाको पानीजहाजबाट १०२ जनाको उद्धार, एक जनाको मृत्यु

तस्बिर स्रोत, Getty Images
- Author, ट्याबी विल्सन
- Published
- पढ्ने समय: १ मिनेट
जाभा सागरमा समस्यामा परेको बताइएको इन्डोनेशियाको एक यात्रुवाहक फेरी (पानीजहाज) का एक जना यात्रुको मृत्यु भएको र त्यसमा सवार १०२ जनाको उद्धार गरिएको एक अधिकारीले बताएका छन्।
खराब मौसमको सामना गरेसँगै २४३ जना सवार 'भर्गो ट्रान्सपोर्ट ८' नामक पानीजहाजसँग सम्पर्क टुटेको थियो।
जससँगै त्यसको खोजी तथा उद्धार अभियान सुरु गरिएको इन्डोनेशियाको खोज तथा उद्धार निकायले जनाएको छ।
बाँकी यात्रुहरूको खोजी कार्य जारी छ।
उक्त फेरी सुराबायाबाट दक्षिण कालिमन्तानको सहर बन्जारमासिनतर्फ गइरहेको थियो। र आइतवार स्थानीय समयअनुसार बिहान करिब २ बजे बन्जारमासिनबाट करिब १५० किलोमिटर दक्षिणमा रहेको जानकारी अन्तिम पटक प्राप्त भएको थियो।
घटनास्थलमा खोजी तथा उद्धारका लागि पानीजहाज र हेलिकप्टर परिचालन गरिएको जनाइएको छ।
जाभा सागरको सो क्षेत्रमा रहेका अन्य सबै पानीजहाजहरूलाई यात्रुहरूबारे कुनै सङ्केत देखा परेमा जानकारी गराउन भनिएको छ।
गत महिना समेत इन्डोनेशियाको मादुरा टापुनजिकै एउटा फेरीमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको थियो।
इन्डोनेसियाली द्वीप समूहमा १७,००० भन्दा बढी टापुहरू छन् र त्यहाँ फेरी यातायातका साधनको रूपमा व्यापक रूपमा प्रयोग हुनेगर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















