'मेरो यो आवाज अन्तिम हुन सक्छ': इरानमा युद्ध सुरु भएयता 'राजनीतिक मृत्युदण्ड' बढ्दै

तस्बिर स्रोत, KURDPA
- Author, क्यारोलीन हली र गोन्ची हबीबिआजाद
- Published
- पढ्ने समय: ५ मिनेट
यो अलि 'झ्यारझ्यार' सुनिन्छ। तर मेरब अब्दुल्लाहजादेको आवाज स्पष्ट छ र जुन परिस्थितिमा उनले बोलेका छन्, त्यस हिसाबमा अचम्म गरी धीर छ।
उनी पश्चिमी इरानमा मृत्युदण्डको पर्खाइमा छन्। उनी छिटोछिटो बोल्छन्, लाग्छ अब उनीसँग धेरै समय नै छैन। अनि उनले अति जरुरी सन्देश दिन खोजेका छन्।
"तपाईँले मेरो आवाज अरोमिये केन्द्रीय कारागारबाट सुनिरहनु भएको छ र तपाईँले मेरो आवाज सुन्ने यो नै अन्तिम पटक पनि हुन सक्छ," कुर्दिस मानव अधिकार सञ्जालले प्राप्त गरेको भोइस नोटमा उनले बोलेको सुनिन्छ।
"मेरो पक्राउको पहिलो दिनदेखि नै उनीहरूले मलाई यातना र धम्की दिएर बलजफ्ती पूर्ण रूपमा झुटा आरोपहरू स्वीकार गर्न लगाए। ममाथि लगाइएका कुनै पनि आरोप सत्य होइनन्। यो कुरा उनीहरू र ईश्वरलाई थाहा छ। म निर्दोष छु।"
मेरब सन् २०२२मा पक्राउ परेका थिए। राम्रोसँग हिजाब नलगाएको आरोपमा पक्राउ परेकी युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको राष्ट्रव्यापी प्रदर्शनका क्रममा मेरब पक्राउ परे। उनीमाथि इरानको बासिज मिलिशिया फौजका एक जना सदस्यको हत्यामा संलग्न भएको आरोप लाग्यो।
त्रासले भरिएका ४२ हप्ता अनिदा रातहरूपछि उनलाई यसै महिनाको आरम्भमा मृत्युदण्ड दिइयो। इरानमा बढ्दो राजनीतिक र सुरक्षाको अभियोगमा मानिसहरूलाई मृत्युदण्ड दिने क्रममा उनी पनि थपिए।
व्यापक वृद्धि
गएको फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरेलले आक्रमण सुरु गरेयता मात्रै ३२ जना राजनीतिक बन्दीलाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको छ।
यसले अघिल्लो वर्षको तुलनामा मृत्युदण्डमा व्यापक वृद्धि भएको देखाउँछ। एम्नेस्टी इन्टर्न्याश्नलका अनुसार सन् २०२५ को सिङ्गो वर्षमा राजनीतिक विषयसँग जोडिएका अभियोगमा ४५ जनालाई मृत्युदण्ड दिइएको थियो।
संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार कार्यालयले मानिसहरूको राजनीतिक आवाज दबाउन मृत्युदण्डको सहारा लिने क्रम बढ्दो रहेको चेतावनी दिएको छ।
यो वर्ष मारिएकामध्ये धेरै जनामाथि इजरेल वा अमेरिकी गुप्तचर निकाय सीआईएलाई सुराकी गरेको आरोप थियो। अनि बाँकी केहीविरुद्ध निर्वाचनमा रहेका विपक्षी समूहमा आबद्ध भएको आरोप।
त्यसमध्ये १४ जना गत ज्यानुअरीमा भएको विरोध प्रदर्शनमा सहभागी भएका कारण पक्राउ परेका थिए। उक्त प्रदर्शन दबाउने प्रयासमा राज्यले चरम बल प्रयोग गर्दा हजारौँ जनाले ज्यान गुमाएका थिए।
"इरानमा प्रशासनले झुन्ड्याएर मृत्युदण्ड दिन्छ। उनीहरूले त्यो काम बिहान झिसमिसेमै सक्छन्," एम्नेस्टी इन्टर्न्याश्नलकी नशीम पापायानी भन्छिन्। "इरानमा मानिसहरू हरेक दिनजसो उठ्नेबित्तिकै मृत्युदण्ड घोषणाको समाचार सुनिरहेका छन्।"
"उनीहरूले राजनीतिक दमनका लागि मृत्युदण्डलाई हतियारका रूपमा प्रयोग गरेका छन्। उनीहरूले जनतामा त्रास फैलाएका छन्। अनि असन्तुष्टिलाई दबाएका छन्।"
कतिपय मृत्युदण्ड सार्वजनिक रूपमै घोषणा हुने भए पनि गोप्य रूपमा पनि मानिसहरूलाई मृत्युदण्ड दिइएको हुन सक्ने राष्ट्रसङ्घीय मानवाधिकार कार्यालयका प्रवक्ता आशङ्का गर्छन्।
एम्नेस्टी इन्टर्न्याश्नलका अनुसार गत वर्ष इरानले २,१५९ जनालाई मृत्युदण्ड दिएको थियो। यो सङ्ख्या सन् १९८९ यताकै सबैभन्दा धेरै हो। मृत्युदण्डको सजाय पाउने अधिकांश मानिसहरूमाथि लागुऔषध र हत्याको अभियोग रहेको एम्नेस्टी इन्टर्न्याश्नलले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घ यो सङ्ख्या अझै धेरै हुन सक्ने ठान्छ। मृत्युदण्डको प्रयोग बढाएर इरानको सत्ताले गत ज्यानुअरीको विरोध प्रदर्शन अनि पछिल्लो युद्धका कारण कमजोर भएको शासन पुनः बलियो बनाउने प्रयास गरिरहेको कुर्दिस्तान मानव अधिकार सञ्जालका काभा कर्मनशाही बताउँछन्।
"धेरै वटा आन्तरिक र बाह्य सङ्कटसँग टकराव गरिरहेका समयमा उसले दमन र मृत्युदण्ड बढाएर शक्ति देखाउँछ र 'म अझै यहीँ छु र मैले अझै पनि परिस्थितिको नियन्त्रण गरिरहेको छु' भन्ने देखाउने प्रयास गर्छ," उनी भन्छन्।
'ससाना' आरोप

तस्बिर स्रोत, IRAN HUMAN RIGHTS
गत महिना सरकारी टेलिभिजनले इस्फहानको मध्यसहरका २१ वर्षीय कराते च्याम्पिअन सासन आजादवारलाई मृत्युदण्ड दिइएको समाचार प्रसारण गर्यो। उनीमाथि "इश्वरविरुद्ध युद्ध सुरु गरेको," र "शत्रुसँग सहकार्य गरेर" ज्यानुअरीको प्रदर्शनमा प्रहरीमाथि आक्रमण गरेको आरोप थियो।
उनीमाथि प्रहरी कारको झ्याल फुटाउन लाठी प्रयोग गरेको र त्यसमा आगो लगाउन पेट्रोल मागेको आरोप पनि थियो। तर अन्तर्राष्ट्रिय कानुनले मृत्युदण्डको सजायका लागि बनाएको कानुनी सीमाभन्दा ठूलो अपराधको आरोप उनीमाथि थिएन।
इरानी अधिकारीहरूले सरदार अजद्बारलगायतमाथि दिइएको मृत्युदण्ड र यातनाको आरोप अनि मृत्युदण्डको बढ्दो प्रयोगबारे प्रतिक्रियाका लागि बीबीसीको आग्रहमा कुनै जबाफ दिएनन्।
तर ज्यानुअरीको अशान्तिसँग जोडिएका विषयमा मृत्युदण्ड दिइएकोबारे अन्तर्राष्ट्रिय आलोचनासामु आफ्नो अदालत नझुक्ने इरानी न्यायालयका प्रमुखले गएको ३० एप्रिलमा बताए।
मानवअधिकारकर्मीहरूले देशका अल्पसङ्ख्यक समुदायमाथि असमान रूपमा मृत्युदण्ड प्रयोग भएको बताएका छन्।
एरोस्पेस इन्जिनिअरिङ अध्ययन गरिरहेका २९ वर्षका इर्फान शाकोरजादेलाई मे ११ मा झुन्ड्याइयो। इरानी न्यायालयले इजरेली र अमेरिकी गुप्तचरलाई गोप्य सूचना चुहाएको अभियोगमा उनलाई दोषी ठहर गरिएको बतायो।
तर उनले मृत्युअघि लेखेको एउटा नोट नर्वेको एक मानवाधिकार संस्था 'हेन्गो'ले प्रकाशित गरेको छ।
"म गोप्य सूचना चुहाएको अतिरञ्जित आरोपमा पक्राउ परेँ। मलाई साढे आठ महिनासम्म यातना र एकान्तमा थुनेपछि मैले झुटा आरोप स्वीकार गर्न बाध्य भएँ। चुपचाप निर्दोष ज्यान जाने अवस्था आउन नदिऔँ।"
हेन्गोले अपारदर्शी न्यायिक प्रक्रियाबाट सुनुवाइ, सजाय निर्धारण र मानिसहरूलाई मृत्युदण्ड दिने काम भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
मृत्युदण्डअघि जेलबाट पठाएको एक सन्देशमा मेरब अब्दुल्लाहजादेले मृत्यु पर्खँदाको आघातबारे व्याख्या गरेका छन्।
"मृत्युदण्ड सुनाइएको एउटा व्यक्तिले हरेक रात र दिनका प्रत्येक पल उनीहरूले कति बेला बोलाएर झुन्ड्याउने हुन् भनेर मात्रै सोच्छ। मृत्युदण्ड पर्खिरहेको मानिसले रातको १ बजेपछि मात्रै एकछिनका लागि शान्ति महसुस गर्छ। सम्भवतः उसले चिन्ताको दौडलाई केही घण्टा भए पनि विश्राम दिन्छ," उनले भनेका छन्।
कुर्दिस्तान मानवाधिकार सञ्जालका अनुसार २९ वर्षीय पसले मेरबलाई मृत्युदण्ड दिनुअघि उनको परिवार र वकिललाई उनलाई दिन लागिएको सजायबारे जानकारी दिइएको थिएन। उनको शव समेत परिवारले नपाएको उसले बताएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

















