के अमेरिका र इजरेलले इरानमाथि फेरि हमला गर्ने तयारी गर्दै छन्

अमेरिकाविरोधी प्रदर्शनका क्रममा एक इरानी महिला
Published
पढ्ने समय: ४ मिनेट

केही इरानी अधिकारीहरूले अमेरिका र खाडी देशहरूलाई नयाँ युद्धको सम्भावनाबारे चेतावनी दिएका छन्।

इरानका सर्वोच्च नेताका सल्लाहकार मोहम्मद मोखबरले खाडी देशहरूमा रहेका अमेरिकी अखडाहरूमा हालैका इरानी आक्रमणहरूलाई उल्लेख गर्दै भने, "हालैको युद्धमा अमेरिकी केन्द्रीय कमान्डका अखडाहरूमा हाम्रो प्रतिशोधात्मक हमला अत्यन्तै संयमित थियो, तर यो संयम सधैँभरि रहने छैन।"

"इरानले यी देशहरूलाई वर्षौँदेखि साथी र दाजुभाइका रूपमा हेर्दै आएको छ, तर उनीहरूले आफ्नो स्वतन्त्रता बेचिसकेका छन् र आफ्नो देश एवं घरहरू प्यालेस्टाइन र इरानका शत्रुहरूलाई सुम्पिसकेका छन्," उनले अगाडि थपे।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयसँग सम्बद्ध सञ्चारमाध्यम नूर न्यूजले नाम नखुलाउने एक वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गर्दै इरानमाथि फेरि आक्रमण भयो भने "४० दिनको युद्धका बेला केही कारणले निशाना नबनाइएका स्थानहरू यस पटक प्राथमिकता सूचीमा हुने छन्" भनी चेतावनी दिएको छ।

यसअघि न्यूयोर्क टाइम्सले मध्यपूर्वका नाम खुलाउन नचाहेका दुई जना अधिकारीलाई उद्धृत गर्दै अमेरिका र इजरेलले इरानमा फेरि आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका र त्यसको तयारी गरिरहेका लेखेको थियो।

'युद्धविरामयताकै व्यापक तयारी'

अमेरिका र इजरेलले गरेका यी तयारीहरू युद्धविरामयताको सबैभन्दा व्यापक सैन्य तयारी भएको बताइएको छ।

अमेरिकी रक्षामन्त्रीले पेन्टागनले विभिन्न परिदृश्यका लागि योजना बनाएको यसै साता अमेरिकी कङ्ग्रेसका सदस्यहरूलाई बताएका छन्।

आवश्यक परे फेरि युद्ध शुरू गर्ने र सो क्षेत्रबाट सेना घटाउने अथवा फिर्ता गर्ने उक्त योजनामा समावेश छ।

डोनल्ड ट्रम्पले आक्रमण गर्ने निर्णय गरे एउटा विकल्प इरानका सैन्य अड्डा र पूर्वाधारमा ठूलो बम विस्फोट गराउनु रहेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

अर्को विकल्पका रूपमा इरानको प्रशोधित युरेनियम भण्डार हटाउने प्रयास गर्ने स्थलगत कारबाही रहेको उसले जनाएको छ।

बाह्र दिने युद्धको समयमा परमाणु केन्द्रहरूमा गराइएका बम विस्फोटबाट ती भण्डारहरू भग्नावशेषमुनि पुरिएका विश्वास गरिएको छ।

अमेरिकाविरोधी प्रदर्शनका क्रममा इरानी महिलाहरू

ट्रम्पको चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको भेटवार्ताले इरान युद्ध र होर्मुज जलमार्ग खुलाउने विषयमा कुनै ठोस नतिजा दिन नसकेपछि अमेरिका र इजरेलको सम्भावित सैन्य कारबाही सम्बन्धमा अनुमानहरू अझ बढेका छन्।

गत मङ्गलवार चीन जानुअघि ट्रम्पले अमेरिकासँग इरानले सम्झौता नगरे "ध्वस्त" हुने पुनः चेतावनी दिएका थिए। सोमवार उनले इरानसँगको युद्धविराम धेरै कमजोर देखिएको बताएका थिए।

ट्रम्पका ती अभिव्यक्तिपछि इरानी संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले इरानी सशस्त्र सेना "अर्को तर्फबाट हुने आक्रमण" को जबाफ दिन तयार रहेको बताए।

"गलत रणनीति र गलत निर्णयहरूको परिणाम सधैँ नराम्रो हुन्छ। हामी हरेक विकल्पका लागि तयार छौँ। हामीले उनीहरूलाई चकित पार्ने छौँ," सामाजिक सञ्जाल एक्समा उनले लेखेका थिए।

पाकिस्तानी गृहमन्त्री इरानमा

यसैबीच इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनएले पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी "पूर्व सूचनाबिना" तेहरान पुगेका जनाएको छ।

बीबीसी पर्सियनका अनुसार आईआरएनएले स्रोतहरूलाई उद्धृत गर्दै नक्वी केही घण्टाअघि तेहरान पुगेका र केही इरानी अधिकारीहरूसँग भेट्ने कार्यक्रम रहेको जनाएको छ।

इरान र अमेरिकाबीच हाल जारी युद्धविरामका लागि पाकिस्तानले मध्यस्थता गरेको हो।

उसले हालै इस्लामाबादमा वरिष्ठ इरानी तथा अमेरिकी अधिकारीहरूबीच शान्तिवार्ताको आयोजना गरेको थियो। यद्यपि शान्ति वार्ताहरू अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनन्।

इरान र अमेरिकाबीच बढ्दो मतभेदका कारण दोस्रो चरणका वार्ताहरू हुन सकेका छैनन्।

एक महिनाअघि पाकिस्तानी गृहमन्त्रीले इरानी सेना प्रमुख असिम मुनीरसँग इरानको भ्रमण गरेका थिए।

होर्मुज जलमार्ग

युरोपेली देशहरू संवादमा

इरानी सरकारी टेलिभिजनले युरोपेली देशहरूले आफ्ना जहाजहरूलाई होर्मुज जलमार्गबाट आउजाउ गर्न दिनेबारे इरानसँग वार्ता गरिरहेका जनाएको छ। बीबीसी पर्सियनका अनुसार इरानी टेलिभिजन न्यूज नेटवर्कले यसबारे रिपोर्ट प्रसारण गरेको छ।

"पूर्वी एशियाली देशहरू विशेष गरी चीन, जापान र पाकिस्तानबाट जहाजहरू आउँदै गरेका पृष्ठभूमिमा युरोपेली देशहरूले पनि आफ्ना जहाजहरूलाई होर्मुज जलमार्ग भएर जान जान अनुमति लिन आईआरजीसीसँग वार्ता शुरू गरेका जानकारी हामीले पाएका छौँ," युरोपेली देशहरूका नाम उल्लेख नगरी उसले भनेको छ।

गत फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरेलसँगको युद्ध शुरू भएयता इरानले उक्त महत्त्वपूर्ण जलमार्ग लगभग बन्द राखेको छ।

उक्त जलमार्गमाथि इरानको नियन्त्रणले विश्वव्यापी तेल र ग्यास बजारमा निकै गम्भीर असर पारेको छ।

तेल तथा तरलीकृत प्राकृतिक ग्यासको अन्तर्राष्ट्रिय निर्यातको लगभग पाँचौँ हिस्सा सोही मार्गबाट हुने गरेको छ। त्यसका साथै अरू आवश्यक वस्तुहरूको ढुवानी पनि सोही जलमार्ग भएर हुने गर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।