यी ६ कुरा जसले ६० वर्षदेखि चीनको सांस्कृतिक क्रान्तिको कथा भन्छन्

अध्यक्ष माओको तस्बिरअङ्कित रातोकिताब
तस्बिरको क्याप्शन, अध्यक्ष माओको सानो रातो किताब अहिलेसम्म प्रकाशित दोस्रो लोकप्रिय किताबमा पर्छ - बाइबलमात्र त्योभन्दा बढी छापिएको छ
Published
पढ्ने समय: ३ मिनेट

चीनमा सांस्कृतिक क्रान्तिको ६० औँ वार्षिकोत्सव मनाइँदै छ- त्यो समय जसले चीनलाई उथलपुथलयुक्त दशकतर्फ धकेलेको थियो।

१६ मे १९६६ मा कम्युनिस्ट नेता माओले देशलाई पुँजीवादी प्रभाव र पुँजीवादी सोचबाट मुक्त गर्न र आफ्ना प्रतिद्वन्द्वीलाई समाप्त गर्न एक अभियान सुरु गरे।

माओका विचारको प्रचारप्रसार गर्न देशभरि युवाहरूको 'रेड गार्ड' समूह अगाडि सारियो।

उनीहरूले सांस्कृतिक सम्पदा ध्वस्त पारे, धरपकड गरे र शिक्षक बुद्धिजीवी र राज्यका 'परम्परागत शत्रु'सँग सोधपुछ गरियो तथा उनीहरूलाई अपमानित गर्दै कुटपिट गरिए।

क्रान्तिमा दशौँ लाख मानिस विस्थापित भए र करिब पाँच लाखदेखि २० लाखको ज्यान गयो। उथलपुथल र रक्तपातयुक्त वर्षहरू माओको सन् १९७६ मा मृत्यु भएसँगै अन्त्य भए।

त्यो समयको विवादास्पद विरासतलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय चीनका कम्युनिस्ट शासकहरूका लागि त्यसयता नै चुनौतीका रूपमा रहँदै आएको छ।

खुला किताबमा देखिएका म्यान्डरिन भाषाका शब्दहरू
तस्बिरको क्याप्शन, सांस्कृतिक क्रान्ति उत्कर्षमा पुगेका बेला सबैले माओत्सेतुङको रातो किताबको एक प्रति आफूसँग राख्नुपर्थ्यो। त्यो एउटा शक्तिशाली प्रचार गर्ने उपकरण थियो र त्यसको सर्वव्यापी उपलब्धताले माओका विचारसँग मिल्ने विचार मात्र स्वीकार्य भएको सुनिश्चित गर्थ्यो। औपचारिक रूपमा "अध्यक्ष माओका भनाइहरू" भनिने रातो किताबमा कम्युनिस्ट पार्टी वर्ग सङ्घर्ष तथा समाजवाद युवा महिला र कला जस्ता विषयमा ४२७ उद्धरणहरू छन्।
खुला किताबमा देखिएको म्यान्डरिन लिपी - केही अक्षर केरिएका छन्।
तस्बिरको क्याप्शन, अनुमानित ५ अर्बभन्दा बढी प्रति रातो किताब ४० भन्दा बढी भाषामा छापिएका छन्। यो सङ्ख्याले यसलाई बाइबलपछि दोस्रो प्रचलित पुस्तक बनाएको छ। माओका दाहिने हात भनेर चिनिने मार्शल लिन बियाओले रातो किताबको भूमिका लेखेका थिए र प्रचार प्रसारमा प्रमुख भूमिका खेलेका थिए। माओसँग बियाओको सम्बन्ध बिग्रिन पुगेपछि कैयौँ मानिसले माओप्रतिको बफादारी झल्काउन बियाओको नाम रातो किताबबाट काटेका थिए।
गोलो रातो ब्याज जसमा अध्यक्ष माओको तस्बिर खोपिएको छ
तस्बिरको क्याप्शन, सर्वत्र माओत्सेतुङको व्यक्तित्व पूजाको स्थिति थियो। सांस्कृतिक क्रान्तिका बेला करिब २ अर्ब वटा 'ब्याज' उत्पादन गरिएको अनुमान गरिन्छ। सन् १९६९ पछि उत्पादन घट्न थाल्यो - एलुमिनिअम जहाज बनाउन आवश्यक पर्ने हुनाले ब्याजको उत्पादन कम भएको बताइन्छ। सन् १९६६ देखि १९६९ सम्म यी ब्याजहरू यत्रतत्र देखिन्थे। "असल चरित्र " भएका सबैले "महान नेताप्रति " आफ्नो बफादारी प्रस्तुत गर्न ब्याज लगाउँथे। चीनका कैयौँ परिवारले सांस्कृतिक क्रान्तिका बेलाको संस्मरणस्वरूप सजाएर राखेका थिए।
रातो र सेतो रङको पोस्टरको केन्द्रमा रहेको माओको तस्बिर जसबाट सूर्यको किरणजस्तै किरण बाहिर फैलिएको देखिन्छ
तस्बिरको क्याप्शन, माओको व्यक्तित्व पूजा ब्याज र रातो किताबमा मात्र सीमित थिएन। घरभित्र कक्षाकोठाभित्र बैठक कक्षभित्र कार्यालयभित्र र कारखानाभित्र प्रचार प्रसार गर्ने पोस्टर टाँगिन्थे। माओको तस्बिरको तल अध्यक्ष माओलाई दीर्घायुको शुभकामना लेखिएको हुन्थ्यो।
रेड गार्ड्सले लगाउने रातो आर्मब्यान्ड
तस्बिरको क्याप्शन, यो रेड गार्ड्स भनेर चिनिने युवा सङ्गठनले पाखुरामा लगाउने रातो पट्टी 'आर्मब्यान्ड' हो। यो संस्था सन् १९६६ मा बेइजिङका हाइस्कूल र विश्वविद्यालयमा स्थापना गरिएको थियो जुन केही समयमै मुलुकभर स्थापना गरिए। रेड गार्डले आफूलाई माओका रक्षक मान्थे - तीमध्ये कैयौँले उनीहरूका शिक्षकसहित उनीहरूले देशद्रोही वा बुर्जुवा ठानेका अन्यलाई कुटपिट गर्ने गर्थे।
खाकी रङको झोला र सैनिक स्टाइलको पानी खाने भाँडो
तस्बिरको क्याप्शन, सांस्कृतिक क्रान्तिका बेला विश्वविद्यालयहरू स्कूलहरूलाई अर्धसैनिक संस्थाका रूपमा चलाइएको थियो। युवाहरूले र्‍यालीमा सहभागी हुन जाँदा वा खेतमा काम गर्न जाँदा सेनाले प्रयोग गर्ने किसिमका पानी खाने भाँडा र सैनिकले बोक्ने जस्ता खाकी रङका झोला बोकेर जान्थे।
 सांस्कृतिक क्रान्तिका बेला मन्दिरहरू र कैयौँ कलात्मक वस्तुहरू रेड गार्ड्सले नष्ट गरेका थिए

तस्बिर स्रोत, ullstein bild via Getty Images

तस्बिरको क्याप्शन, अध्यक्ष माओलाई पूजा गर्ने तहको मान गरिए पनि कैयौँ धार्मिक धरोहरहरू भने नष्ट गरिएका थिए। रेड गार्डहरूले "पुराना चार कुराहरू": पुरानो सोच, पुरानो संस्कृति, पुरानो परम्परा, पुरानो व्यवहारमाथि आक्रमण गरेका थिए। मन्दिरहरू, सम्पदा स्थल, दुर्लभ किताबहरू र चित्रकलाहरू नष्ट गरिएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।