युक्रेन युद्धमा रुसको तर्फबाट लडेर ज्यान गुमाउने 'भाडाका सैनिक'मध्ये नेपालीको सङ्ख्या उच्च

रुसी सैन्य पोसाक लगाएर हातमा खुकुरी बोकेका एक सैनिकको चित्राङ्कन
    • Author, केशव कोइराला
    • Role, बीबीसी न्यूज नेपाली
    • Author, ओल्गा इभ्शिना
    • Role, बीबीसी रसियन
  • Published
  • पढ्ने समय: ८ मिनेट

रुसी सेनामा भर्ती भई युक्रेनमा जारी युद्धमा ज्यान गुमाउने विदेशीहरूमध्ये नेपालीहरूको सङ्ख्या तात्कालिक सोभियत राज्यहरूका नागरिकहरूपछि सर्वाधिक रहेको देखिएको छ।

नेपालका परराष्ट्रमन्त्रीले संसद्‌मा जानकारी दिएअनुसार रुसी सेनामा भर्ना भएकामध्ये असार महिनाको तेस्रो सातासम्म १३१ नेपालीको मृत्यु भएको जानकारी नेपाल सरकारले प्राप्त गरेको छ। परराष्ट्र मन्त्रालयले उक्त सङ्ख्यामा परिवर्तन नआएको जनाएको छ।

बीबीसी नेपाली र बीबीसी रसियनले नेपाल सरकारसहित विभिन्न स्रोतबाट मृतकहरूबारे महत्त्वपूर्ण विवरण सङ्कलन गरेको छ।

मृतकहरूको सूचीमा सबैभन्दा पछि समाविष्ट व्यक्तिबारे नेपाल सरकारले १५ मेमा सूचना प्राप्त गरेको थियो। ती व्यक्ति सुर्खेतका स्थायी बासिन्दा भएको परराष्ट्र मन्त्रालयस्थित स्रोतले बीबीसी न्यूज नेपालीसँग पुष्टि गरेको छ।

दुई साताअघि राष्ट्रिय सभामा बोल्दै नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये १३१ नेपालीको मृत्यु भएको, ९५ जना बेपत्ता भएका र नौ जना युक्रेनको नियन्त्रणमा रहेको जानकारी आफूसँग भएको बताएका थिए।

प्रवृत्ति

रुसी सेनामा भर्ना भएका मानिसका परिवारजन र त्यहाँबाट फर्किएका व्यक्तिहरू ६ फेब्रुअरी २०२४ मा काठमाण्डूस्थित रुसी दूतावासनजिकै विरोधप्रदर्शन गर्दै

तस्बिर स्रोत, NurPhoto via Getty Images

तस्बिरको क्याप्शन, नेपालले आफ्ना नागरिकहरूलाई रुसी सेनामा भर्ती हुने अनुमति दिँदैन

मृतकहरूबारे सबै कुरा नखुलेको भए पनि सङ्कलित विवरणले केही प्रवृत्तिहरू बुझ्न सघाउँछ।

बीबीसीले तयार पारेको विवरणमा युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीहरूको औसत उमेर २४ वर्ष भएको देखिन्छ। तीमध्ये सबैभन्दा कान्छा व्यक्ति २० वर्षका थिए।

हामीसँग उपलब्ध विवरणानुसार युक्रेन युद्धमा ज्यान गुमाउने पहिलो नेपाली ३० वर्षीय सन्दीप थपलिया हुन्। उनको मृत्यु सन् २०२३ को जुन महिनामा भएको बुझिन्छ।

उनको शवलाई पछि मस्कोबाट झन्डै ३०० किलोमिटर टाढा अवस्थित इभानोभोमा एउटा चिहानमा समाधिस्थ गरिएको थियो।

असार २३ गते राष्ट्रिय सभामा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले परम्परागत सम्झौता भएका मुलुकबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरूलाई भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेका थिए।

उनले युक्रेन युद्धका क्रममा हराएका र मृत्युवरण गरेका नेपालीहरूले पाउनुपर्ने क्षतिपूर्ति उपलब्ध गराउन अनि नेपाली नागरिकहरूलाई रुसी सेनामा भर्ना नगर्न नेपालले फेरि रुससँग अनुरोध गरेको बताए। "केही दिनअघि मैले रुसी राजदूतसँग औपचारिक भेटघाटमा पनि यो कुरालाई स्पष्ट ढङ्गले उठाएको छु," उनको भनाइ थियो।

रुसी सेनामा नेपाली नागरिकहरू भर्ती हुने मुख्य लहर सन् २०२३ को गर्मी र शरद्‌ याममा चलेको थियो। त्यसै वर्षको डिसेम्बरमा नेपाली अधिकारीहरूले मस्कोलाई नेपालीहरूलाई उस्को सेनामा भर्ती नगर्न अनुरोध गरेका थिए।

तर पछिसम्म भर्ती जारी रहेको सङ्केत उपलब्ध प्रमाणहरूले गरेका छन्।

ज्यान गुमाउने नेपालीहरू कहाँका

सूचीमा समाविष्ट मृतकमध्ये ८५ प्रतिशतभन्दा बढी अर्थात् कम्तीमा ११४ जनाको स्थायी ठेगाना खुलेको छ।

तीमध्ये स्याङ्जा जिल्लाका ६ जना, धादिङ र रूपन्देहीका ५-५ जना अनि झापा, सङ्खुवासभा, नुवाकोट, गोरखा, बाँके, सुर्खेत र कञ्चनपुरका ४-४ जना छन्।

कोशी, बागमती, गण्डकी र लुम्बिनी घर भएका मृतकहरूको सङ्ख्या २०-२० भन्दा बढी छ भने सबैभन्दा कम मधेश प्रदेशका छन्। अहिलेसम्म उपलब्ध विवरणमा महोत्तरी र धनुषा घर भएका मृतकहरू एक-एक जना मात्र भएको खुलेको छ।

थरहरूको विश्लेषण गर्दा ४५ प्रतिशतभन्दा बढी मृतक नेपालको आदिवासी जनजाति समुदायसँग र ३० प्रतिशतभन्दा बढी ब्राह्मण र क्षेत्री समुदायसँग सम्बन्धित भएको देखिन्छ।

मृतकहरूमध्ये कम्तीमा ३९ जना ब्राह्मण वा क्षेत्री, ३१ जना मगर, ११ जना राई वा लिम्बू, १० जना गुरुङ र नौ जना तामाङ समुदायका छन्। अन्य जातीय समूहका सदस्यहरूले पनि युक्रेन युद्धमा ज्यान गुमाएका छन्।

'भाडाका विदेशी सैनिकहरू'

काठमाण्डूमा २४ फेब्रुअरी २०२४ मा आयोजित श्रद्धाञ्जलि सभाका क्रममा युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीहरूको तस्बिर अङ्कित ब्यानरमा माल्यार्पण गर्दै मृतकका परिवारजन

तस्बिर स्रोत, NurPhoto via Getty Images

तस्बिरको क्याप्शन, परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार रुसी सेनामा भर्ना भएकामध्ये १३१ नेपालीको मृत्यु भएको जानकारी नेपाल सरकारले प्राप्त गरेको छ

बीबीसीको गणनानुसार युक्रेनमा रुसले पूर्ण स्तरमा आक्रमण गरेपछि रूसको पक्षमा लड्नेमध्ये कम्तीमा ३,५८९ विदेशीको मृत्यु भएको छ। मृतकहरूमा उत्तर कोरियाली सैनिकहरू पनि छन्।

रुसका लागि लड्दा ज्यान गुमाउने 'भाडाका सैनिक'हरू एक्वडोर र संयुक्त राज्य अमेरिकादेखि श्रीलङ्का र भारतसम्म गरी ४० भन्दा बढी देशका नागरिक रहेका छन्।

बीबीसी रसियनले 'मिडियाजोना' प्रकाशन र स्वयंसेवकहरूको टोलीसँग संयुक्त रूपमा मृतकहरूको अभिलेख राख्दै आएको छ। उक्त सूचीमा अहिलेसम्म दुई लाख ३३,००० भन्दा बढी मृत सैनिकहरूको नाम परेको छ।

तीमध्ये झन्डै १,३०० जना विदेशी नागरिक हुन्।

आधिकारिक वक्तव्य, आफन्तहरूले सामाजिक सञ्जालमा राखेका पोस्टहरू वा समाधिस्थल तथा सैनिक स्मारकका तस्बिरजस्ता खुला स्रोतहरूको आधारमा उनीहरूको मृत्यु भएको पुष्टि गरिएको हो।

त्यसबाहेक अगस्ट २०२४ मा युक्रेनी सैनिकहरू कुर्स्क क्षेत्रमा प्रवेश गर्दा रूसको पक्षमा लड्दै गरेका २,३०४ उत्तर कोरियाली सैनिकहरू मृत्यु भएको थियो।

बीबीसी कोरियनले भूउपग्रहबाट प्राप्त तस्बिरहरू र प्योङ्याङमा निर्माण गरिएको नयाँ सैनिक स्मारकका आधिकारिक तस्बिरहरूको विश्लेषण गरेर ती सैनिकहरूबारे विवरण सङ्कलन गरेको हो।

रूसको पक्षमा युक्रेन युद्धमा सहभागी हुँदा हताहत भएका विदेशी नागरिकहरूको वास्तविक सङ्ख्या योभन्दा निकै धेरै हुन सक्छ। यो नामावली तयार पार्दा युक्रेनी पक्षका तथ्याङ्क वा पश्चिमी गुप्तचर निकायहरूको प्रतिवेदन प्रयोग गरिएको छैन।

रूसको पक्षमा लडेका विदेशीहरूको कुल सङ्ख्या योभन्दा धेरै गुना ठूलो छ।

नेटोका अनुसार ४४ देशका झन्डै २४,००० विदेशी नागरिकहरू भाडाका सैनिकका रूपमा रुसको पक्षमा लडाइँमा सहभागी भएका छन्। जुलाईमा टर्कीमा आयोजित शिखर सम्मेलनका क्रममा नेटोका एक वरिष्ठ अधिकारीले बीबीसी रसियनलाई यसबारे जानकारी दिएका थिए।

"सम्भवतः सयौँ अफ्रिकीहरू भर्ती भएका छन्। केही आफूखुसी भर्ती भएका थिए भने अरूलाई त्यसो गर्न बाध्य पारिएको थियो," उनले भनेका थिए।

बन्दी , आप्रवासी र स्वयंसेवक

रुस-युक्रेन युद्धमा ज्यान गुमाएका सैनिकहरूको सम्मानमा फूल चढाउँदै उत्तर कोरियाका नेता किम जङ अन

तस्बिर स्रोत, KCNA

युद्धमा ज्यान गुमाएका विदेशी नागरिकहरूको विवरण र भौगोलिक पृष्ठभूमि विश्लेषण गर्दा उनीहरूलाई रुसी सैन्य संरचनामा भर्ती गर्ने प्रक्रिया मूलतः तीन चरणमा भएको देखिन्छ।

सन् २०२२ को मध्यदेखि २०२३ को अन्त्यसम्म रूसको पक्षमा लड्ने अधिकांश विदेशीहरू जेल परेका व्यक्तिहरू भएको देखिन्छ।

उनीहरूलाई ६ देखि १२ महिना युद्धमा सहभागी भएमा जेलबाट मुक्त गरिदिने बताइएको थियो। सुरुमा वाग्नर समूहले भर्तीको काम सम्हालेको थियो। तर पछि रुसी रक्षा मन्त्रालयले उक्त कामको जिम्मा लियो।

यो व्यवस्था मुख्यतः भूतपूर्व सोभियत राज्यका देशका नागरिकहरू विशेष गरी मध्यएशियाली मुलुकका व्यक्तिहरूमा लागु भएको थियो।

उदाहरणका लागि, उज्बेकिस्तान र ताजिकिस्तानका मृतक नागरिकहरूमध्ये आधाभन्दा बढी रुसी कारागारबाट युद्धको मोर्चामा पठाइएका व्यक्तिहरू थिए।

रुसी सेनामा विदेशी नागरिक भर्ती गर्ने दोस्रो प्रमुख चरण सन् २०२४ देखि २०२५ को मध्यसम्म चलेको थियो।

सन् २०२४ को सुरुतिर रुसले सेनामा भर्ती हुनका लागि रक्षा मन्त्रालयसँग नयाँ सम्झौता गर्दा दिइने रकममा उल्लेखनीय वृद्धि गरिदियो। त्यही बेला क्युबा, नेपाल, भारत, श्रीलङ्का र यमनसहित विभिन्न गैरसोभियत देशका नागरिकहरूलाई धमाधम भर्ती गर्न थालियो।

धेरैजसो विदेशी नागरिकहरू राम्रो पारिश्रमिक पाउने आशामा रुसी सेनामा भर्ती भएका थिए।

केहीले बुझेरै आफूखुसी सम्झौतामा हस्ताक्षर गरेका थिए। अरू भने अध्ययन वा निर्माण क्षेत्रमा काम पाइने ठानेर रूस पुगेका थिए। तर झुक्क्याएर भर्ती गराइएपछि उनीहरू युद्धको मोर्चामा खटिन बाध्य भए।

प्योङ्याङमा युक्रेन युद्धमा मारिएका उत्तर कोरयाली सैनिकहरूको सम्मानार्थ निर्मित सैन्य स्मारक उद्घाटनका बेला उपस्थित भएका उत्तर कोरियाली र रुसी अधिकारीहरू

तस्बिर स्रोत, KCNA via Reuters

तस्बिरको क्याप्शन, केही महिनाअघि रुसी रक्षामन्त्री एन्ड्रे बेलोउसोभको उपस्थितिमा उत्तर कोरियाका नेता किम जङ अनले प्योङ्याङमा युक्रेन युद्धमा मारिएका उत्तर कोरयाली सैनिकहरूको सम्मानार्थ निर्मित सैन्य स्मारकको उद्घाटन गरेका थिए

सन् २०२५ को मध्यदेखि मानवाधिकारकर्मीहरूले तात्कालिक सोभियत राज्यहरूबाट रूस आउने आप्रवासी कामदारहरूमाथि नयाँ प्रकारको दबाव देखिएको बताएका छन्।

उनीहरूलाई प्रवेश प्रतिबन्ध हटाइदिने, नागरिकता प्रक्रिया छिटो गरिदिने वा देशनिकालाको आदेश फिर्ता गरिदिने जस्ता वाचासहित युद्धमा सहभागी हुन लोभ र दबाव दिइएको छ।

वकिलहरूले आप्रवासीहरूलाई धम्क्याएर रुसी रक्षा मन्त्रालयसँग सम्झौतामा हस्ताक्षर गराइएको थुप्रै घटनाहरूको अभिलेख राखेका छन्।

इन्टरन्याश्नल फेडरेशन फर ह्यूमन राइट्सको प्रतिवेदन र समाचारसंस्था रोएटर्सको अनुसन्धानानुसार कम आय भएका अफ्रिकी देशका नागरिकहरूलाई भर्ती गर्ने प्रयास पनि हालै तीव्र पारिएको छ।

युद्धमा ज्यान गुमाउने विदेशीहरूमध्ये उत्तर कोरियाली सैनिकको सङ्ख्या सर्वाधिक छ। तर उत्तर कोरियाले रुससँग गरेको सम्झौताका आधारमा उनीहरू लडाइँमा परिचालित भएका हुन्। अन्य देशहरूसँग त्यस्तो कुनै सम्झौता भएको छैन।

मृतकहरूको सूचीमा रुसी पक्षमा लडेका २५ युक्रेनी नागरिकको पनि नाम देखिन्छ। उनीहरूलाई लडाइँ सुरु भएपछि रुसमा रहेका कारागारहरूबाट युद्धमोर्चामा पठाइएको थियो। रूसको पक्षमा लडेका युक्रेनका क्राइमिया, डोनेट्स्क, लुहान्स्क, खेअर्सन र जापोरिज्या क्षेत्रका बासिन्दाहरूको तथ्याङ्क छुट्टै राखिएको छ र यो गणनामा समावेश गरिएको छैन।

समग्रमा रुसले युद्धमा गुमाएका सैनिकहरूमध्ये विदेशी मूलका सैनिकहरूको सङ्ख्या न्यून नै देखिन्छ। नाम पहिचान भएका २,३३,००० मृतक सैनिकहरूमध्ये उत्तर कोरियाली सैनिकहरूसहित विदेशी नागरिकहरूको अंश दुई प्रतिशतभन्दा कम छ।

तर उच्च क्षति र स्वेच्छापूर्वक भर्ती हुन इच्छुक रुसीहरूको सङ्ख्या क्रमशः घट्दै गएकाले क्रेम्लिनले लडाइँमा पठाउन नयाँ भर्ती गर्न अन्य उपाय खोज्न सक्ने सम्भावना छ।

(एलिजाभेटा फोख्टको सहयोगमा)

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।