मलेसिया पुगेका बुवा मिर्गौला समस्याले बिते, ऋण तिर्न रुस पुगेका छोरा युक्रेनमा युद्धबन्दी

प्रतिकले परिवारलाई लेखेको चिठी
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

मिर्गौलाको समस्या भएपछि वैदेशिक रोजगारीबाट फर्किएका आफ्ना बुवाको उपचारकै क्रममा मृत्यु भएपछि पैसा कमाएर ऋण तिर्ने सपना देखेका रोल्पाको रुन्टीहढी गाउँपालिका प्रतीक पुन तीन वर्षअघि रुस पुगे।

आमा तीलकुमारीले ऋणमाथि अर्को ऋण थपेर 'ठूलो देश' नजान छोरालाई अनुनय गरिन्। "हामी दुखी गरिब मान्छे ठूलो देश हेर्ने होइन। बरु कमाउन जान्छस् भने मलेसिया जा भन्दाभन्दै कता के गर्‍यो," उनले बीबीसी न्यूज नेपालीसँग सोमवार टेलिफोनमा भनिन्।

उनका मामाले कोरियाली भाषा पढेर कोरिया जान सुझाव दिए। तर कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर जान लामो समय लाग्ने भन्दै उनले त्यो विकल्पमा रुचि देखाएनन्।

पोर्चुगल जाने योजना सुनाइरहेका एक्लो छोरा प्रतीक कसरी रुस पुगे भन्ने आमा तिलकुमारीलाई पनि थाहा छैन। उनलाई छोरो जाँदा थपिएको '१३ लाख ऋण' मात्र याद छ।

रुस पुगेपछि उनले आफू विद्यार्थी भिसामा त्यहाँ पुगेको आमासँग बताएका थिए। केही समपछि उनी रुसी सेना भर्ती भएको आमालाई बताए। छिट्टै पाँच लाख रुपैयाँ नेपाल पठाउने आश्वासन दिएको केही दिनपछि प्रतीक सम्पर्कविहीन भएको आमा तीलकुमारीले सुनाइन्।

रुस पुगेको केही महिनामै २०८० मङ्सिरमा प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेर युद्धबन्दी बनाएका खबरहरू आए। परराष्ट्र मन्त्रालयले पुस ४ गते रोल्पाका प्रतीक पुनसहित बर्दियाका विवेक खत्री, काभ्रेपलान्चोकका सिद्धार्थ ढकाल र मोरङका विकास राई युक्रेनमा बन्दी बनेको पुष्टि गर्‍यो।

चितवन, खोटाङ र गोरखा सहितका जिल्लाबाट रुस पुगेर त्यहाँको सेनामा भर्ती भएका नेपालीहरू पनि युक्रेनमा युद्धबन्दी रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये प्रतीकसहित पाँच जना सन् २०२३ बाटै युक्रेनमा युद्धबन्दी छन्।

मलेसियामा ११ वर्ष श्रम गरेपछि प्रतिकका बुवाको मिर्गौला समस्या भएको पहिचान भएको थियो। त्यसपछि तीन वर्षसम्म नेपालमा डाइलाइसिस गरेपछि उनको चार वर्षअघि मृत्यु भएको तीलकुमारीले बताइन्।

भिडिओ देखेपछि राहत

प्रतीक पुन

सन् २०२४को मार्चमा युक्रेनले पाँच जना नेपाली नागरिक सहितका युद्धबन्दीको भिडिओ नै सार्वजनिक गर्दै नेपाल सहितका देशहरूलाई रुसी सेनामा आफ्ना नागरिकको भर्ती रोक्न आग्रह गर्‍यो।

युक्रेनी अधिकारीहरूले कब्जामा लिएका रुसी सेनामा भर्ती भएका विदेशी नागरिकहरूको भिडिओमा प्रतीक पनि देखिए। रुसी सेनामा गएका १२५ जनाभन्दा धेरै नेपाली युवाहरूले ज्यान गुमाइसक्दा छोरा सकुशल रहेको भिडिओ देखेपछि तिलकुमारीलाई केही हदसम्म भए पनि राहत मिल्यो। चिठीमा पनि आफूलाई राम्रै भएको लेखिरहेका छोरालाई नदेख्दासम्म आमाको मन चाहिँ मानेको छैन। प्रतीक सकुशल नेपाल फर्किए ज्यालादारी गरेरै भए पनि ऋण तिर्ने आमा तिलकुमारीको अठोट छ।

"सकेसम्म मान्छे आइदिए बरु झुपडीमा रोडमै बसेर पनि हातखुट्टा भएपछि ज्यान पाल्नु त छ अरू के छ र," उनले भनिन्।

सन् २०२२ को फेब्रुअरीमा पूर्ण स्तरको रुस-युक्रेन युद्ध सुरु भएयता नेपालीहरू पनि रुसी सेनामा भर्ना हुन गएका खबरहरू आएका थिए। परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएर बेपत्ता हुने नेपाली नागरिकको सङ्ख्या १२५ पुगेको जनाएको छ।

युक्रेनले युद्धबन्दी बनाएका नेपाली कति

युद्धबन्दी नेपाली

प्रतीकले हरेक तीन-तीन महिनामा युक्रेनको जेलबाट आमालाई चिठी लेखिरहेका छन्। युक्रेनबाट लेखिएको चिठी दाङको तुलसीपुर उपमहानगरपालिका बिजौरीमा आइपुग्छ। रोल्पाबाट बसाइँ सरेर उनकी आमा विगत केही वर्षदेखि बिजौरीमा ज्याला मजदुरीको काम गरिरहेको बताउँछिन्।

"उसले चिठीमा म मात्रै एक्लो छैन ममी। छ-सात जना छौँ चिन्ता नगर्नू भनेको हुन्छ," आमा तिलकुमारी सुनाउँछिन्।

"भने पनि तनाव लागिहाल्छ एउटा छोरा हो।"

आफ्ना छोराको सकुशल स्वदेश फिर्तीका लागि युक्रेनसँग अपिल गर्न उनी हरेक वर्ष सिंहदरबार धाउँछिन्। त्यहाँ आफूजस्तै युद्धबन्दी भएका अरू परिवार पनि आफूले भेट्टाएको उनले सुनाइन्।

परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म नौ जना नेपाली नागरिकहरू युक्रेनले युद्धबन्दी बनाएको जानकारी दिइएको छ। उनीहरूलाई स्वदेश फर्काइदिन नेपाली अधिकारीहरूले युक्रेनसँग बारम्बार आग्रह गरिरहेका छन्।

युक्रेनमा युद्धबन्दी रहेका आठौँ नेपालीबारे अन्तर्राष्ट्रिय रेडक्रसले सार्वजनिक गरेको विवरणबाट मात्रै थाहा भएको थियो। गत बिहीवार नेपाली कूटनीतिक नियोगले युक्रेनमा युद्धबन्दी अवस्थामा रहेका नेपाली नागरिकहरूको विस्तृत र अद्यावधिक विवरण उपलब्ध गराइदिन युक्रेनी पक्षलाई पत्राचार गरेको अधिकारीहरूले बताएका छन्।

परराष्ट्रमन्त्रीको संवादले पलाएको आशा

प्रतीक पुन

परराष्ट्रमन्त्री शिशिर खनालले गत साता युक्रेनका परराष्ट्रमन्त्री एन्ड्री सिबीहासँग टेलिफोन गरेर युक्रेनले युद्धबन्दी बनाएका नेपाली नागरिकहरूको स्वदेश फिर्तीका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बताएका छन्।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री नेपाली नागरिकको सुरक्षा र स्वदेश फिर्तीबारे दुई समकक्षीबीच कुराकानी भएको बताउँछन्।

"हामीले नागरिकको सुरक्षा र हितका लागि सबै उपाय लगाएका छौँ। हाम्रा कूटनीतिक निकायहरू पनि त्यसमा सक्रिय छन्," क्षेत्रीले भने।

उनका अनुसार नेपाली अधिकारीहरूले युक्रेनसहित रुसका अधिकारीहरूसँग पनि नागरिकको सुरक्षा र हितबारे कुरा गरेका छन्।

शनिवार भिक्ट्री डेको परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध चाँडै अन्त्य हुने बताएपछि नेपाली अधिकारी र युद्धबन्दीका परिवार थप आशावादी बनेका छन्। तर युक्रेनले युद्धबन्दी बनाएका नेपाली नागरिकहरू सिधै नेपाललाई हस्तान्तरण गर्छ वा रुसलाई नै फिर्ता दिन्छ भन्ने स्पष्ट जबाफ दिएको छैन।

नेपालका मन्त्रीको टेलिफोन संवाद भएको कुराले आफूलाई छोरो छिट्टै स्वदेश फर्कने आशा पलाएको तिलकुमारी पुन बताउँछिन्।

"नयाँ सरकारले निकाल्दिन्छ कि भन्ने ठूलो आशा छ। अब प्रमाणित बनाइकन सरकारबाट गएको भए पो एउटा प्रमाणले पनि निस्किने हुन्छ। अब कताबाट कता भइकन गा'छन् बगालहरू," उनले भनिन्।

युक्रेनमा पक्राउ परेका अन्य ७ जना नेपाली फर्काइए

रुस-युक्रेन युद्ध सुरु भएयता युक्रेनमा 'गैरकानुनी रूपमा बसोबास गरिरहेको' आरोपमा पक्राउ परेका नौ जना नेपाली नागरिकहरूलाई स्वदेश फर्काइएको जर्मनीस्थित नेपाली दूतावास र गैर आवासीय नेपाली सङ्घले जनाएका छन्।

"युक्रेनमा गैरकानुनी रूपमा बसेको आरोपमा थुनामा रहेका सात जनालाई हालसम्म तीन चरणमा गरेर स्वदेश फर्काइएको छ। तर उहाँहरू युद्धबन्दी चाहिँ होइन," बर्लिनस्थित कार्यवाहक नेपाली राजदूत सागर प्रसाद फुयाँलले बीबीसी न्यूज नेपालीसँग भने।

फुयाँलका अनुसार मल्दोभा हुँदै युक्रेन पुगेको बताउने उनीहरूसँग कुनै यात्रा कागजात थिएन। गैर आवासीय नेपाली सङ्घ जर्मनीका लोकमणि ढकालले आफूहरूले पनि त्यसमा दूतावासलाई सहयोग गरेको बताए।

हवाई सेवा बन्द रहेको र उनीहरू गैरकानुनी बसाइका कारण पक्राउ परेको आधार देखाउँदै मल्दोभाले फर्कनका लागि भिसा दिन समेत अस्वीकार गरेका कारण लामो कूटनीतिक प्रयासपछि उनीहरूलाई मल्दोभा ल्याएर नेपाल फर्काएको फुयाँलले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।