विनाशकारी बाढी आएको १३औँ दिन राष्ट्रिय शोक, हराएकाहरूको खोजी कसरी हुँदै छ

भोटेकोशी र त्रिशूली बाढी नदीमा आएको बाढीपछि फेला परेका तर पहिचान हुन नसकेका ७६ शव गाडिएको पोखराको जौवारीमा सोमवार पोखरा महानगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा मानिसहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बाढीमा परेर मृत्यु भएका तर पहिचान हुन सकेका मानिसका शव माटोमुनि गाडेर 'अस्थायी व्यवस्थापन' गरिएको छ
Published
पढ्ने समय: ५ मिनेट

भोटेकोशी र त्रिशूली नदीमा अकस्मात् आएको विनाशकारी बाढीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा सोमवार राष्ट्रिय शोक मनाइँदै छ।

गत साता मन्त्रिपरिषद्को बैठकले बाढी आएको १३औँ दिनमा पर्ने गरी राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। शोक मनाउँदा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइन्छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० गतेको बाढीमा परेर सोमवारसम्ममा कम्तीमा १,३५५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौँ मानिस अझै सम्पर्कविहीन छन्।

राष्ट्रपति रामचन्द्र पौडेल सोमवार बिहान बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न नुवाकोट पुगेका छन्। उनले खोज तथा उद्धार, राहत वितरण र होल्डिङ सेन्टरका विषयमा जानकारी लिएको बुझिएको छ।

प्रहरीका अनुसार अहिले विभिन्न जिल्लामा स्थापित होल्डिङ सेन्टरहरूमा झन्डै ३,२०० जनाले आश्रय लिएका छन् भने सम्पर्कविहीन मानिसहरूको खोजीकार्य जारी छ।

कहाँकहाँ हुँदै छ खोजी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आधा झुकाइएको राष्ट्रिय झण्डा

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, राष्ट्रिय शोक मनाउँदा सरकारी कार्यालयहरू र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइन्छ

सुरक्षा निकायहरूले बाढीबाट प्रभावित विभिन्न स्थानमा खोजीकार्य जारी रहेको बताएका छन्।

नेपाली सेनाका अनुसार नुवाकोटको देवीघाटस्थित तादी नदीमा 'बेलीब्रिज' पुल निर्माणको कार्य हुँदै छ। बाढीका कारण दर्जनौँ पुल र ठाउँठाउँमा सडकहरू बगेका छन्।

जलविद्युत् आयोजनाका सुरुङमा शनिवार दुई जना र आइतवार एक जना अनि बेत्रावतीमा बाढीले बगाएको घरको भग्नावशेषमा एक जना जीवितै फेला परेपछि उद्धारकर्मीहरूले जीवितै मानिस फेला पर्न सक्ने ठानेर आफ्नो खोजी अभियान केन्द्रित गरेका छन्।

सुरुङमा मानिसहरू फसेको हुन सक्ने स्थानमा खोजी र उद्धारको प्रयासको नेतृत्व नेपाली सेनाले गरेको छ। केही स्थानमा विदेशी विज्ञहरूको टोली पनि सहभागी भएका छन्।

सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार रसुवाको टिमुरेदेखि नवलपरासी पश्चिमस्थित नेपाल-भारत सीमानजिकै नारायणी नदीसम्ममा स्थलगत खोजीकार्य पनि जारी छ।

सेनाको नेतृत्वमा विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र भूमिगत पावरहाउसहरूमा ध्यान केन्द्रित गरी खोजीकार्य जारी रहेको सेनाका प्रवक्ता राजाराम बस्नेतले बीबीसी न्यूज नेपालीलाई बताए।

जलविद्युत् आयोजनाको सुरुङ भएका मानिसको खोजीका क्रममा सुरुङभित्र छिर्ने बाटो बनाउन खोज्दै नेपाली सेना र अन्य प्राविधिकहरू

तस्बिर स्रोत, Nepal Army

सेनाले आइतवार रसुवागढी जलविद्युत् आयोजनाको पावरहाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरेको जनाएको छ।

सेनाले आइतवार राति दिएको विवरणअनुसार त्रिशूली ३एको पावरहाउस तथा सुरुङमा आवश्यक उपकरणसहित निरन्तर खोजी भइरहेको छ भने त्रिशूली ३बी अडिट २ टनलमा एक्स्कभेटर जान सक्ने गरी बाटो सफा गरिँदै छ।

चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीसँगको सहकार्यमा लेदो फालिएको र खोजीकार्य जारी रहेको सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली १ को आयोजनास्थलमा विदेशी सहितको टोलीले थर्मल क्यामरा प्रयोग गरेर सुरुङमा थप खोजीकार्य गरिएको छ।

मृतकको सङ्ख्या कति

बाढी आएको १३औँ दिन नुवाकोटको ढुङ्गेमा मृतकहरूको आत्माको शान्तिका लागि पाठ गर्दै बौद्ध धर्मगुरूहरू

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, हराइरहेका केही मानिसका आफन्तले पारिवारिक र धार्मिक परम्परानुसार अन्तिम संस्कार र काजकिरिया गर्न थालेका छन्

सोमवार बिहान ११ बजेसम्म १,३५५ जनाका शव वा अङ्गभङ्ग भएका पार्थिव अवशेष फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनले जनाएको छ।

प्रहरीका अनुसार अझै झन्डै ४,००० जना सम्पर्कविहीन छन्। प्राधिकरणले भने उक्त सङ्ख्या झन्डै ५,००० रहेको देखाएको छ।

प्राधिकरणका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्‍चिम २२१ वटा शव फेला परेका हुन्।

नारायणी नदीमा बगेर भारत पुगेका कैयौँ शवहरू नवलपरासी पश्चिम ल्याइएको छ। प्रहरीका अनुसार ती शवलाई नवलपरासी पश्चिमको तथ्याङ्कमा समावेश गरिएको छ।

प्रहरीका अनुसार फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म १,०४४ वटा शवलाई माटोमुनि गाडिएको छ।

शव पहिचानका लागि १,१८१ मृतक र हराइरहेका मानिसमध्ये १,२३८ का निकटका नातेदारको डीएनए नमुना सङ्कलन गरिएको छ। डीएनए संरचनाको तुलना गरेर मृतकको पहिचान गरिने प्रहरीको भनाइ छ।

कति जनाको भयो उद्धार

राष्ट्रपति रामचन्द्र पौडेल बाढीका कारण रसुवा र नुवाकोटको विभिन्न स्थानबाट विस्थापित भएका बासिन्दालाई राखिएको विदुर नगरपालिका–२ बट्टारस्थित कभर्ड हलमा स्थािपित होल्डिङ सेन्टरमा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, राष्ट्रपति रामचन्द्र पौडेल सोमवार नुवाकोटको बट्टारस्थित कभर्ड हलमा स्थापित होल्डिङ सेन्टर पनि गए

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित जिल्लाहरूबाट १३,३९६ जनाको उद्धार गरिएको छ।

नेपाली सेनाका अनुसार हेलिकप्टर प्रयोग गरेर आइतवार साँझसम्म झन्डै ४,००० जनाको उद्धार गरिएको थियो।

प्राधिकरणका अनुसार सोमवार बिहानसम्म गरी नेपाली सेनाले १,१५९ पटक उडान गरिसकेको छ।

प्राधिकरणको तथ्याङ्कअनुसार बाढीका कारण झन्डै ६,६७२ जना घाइते भएका थिए। तीमध्ये ३२३ जनाले उपचार पाएका छन्। तीमध्ये २२८ जना डिस्चार्ज भइसकेका छन्।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी विपद्पछिको खोज, उद्धार तथा राहत वितरणको कार्यमा २१,४०० भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन भएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।