बाढीपछि शिविरमा रहेका महिला र बालबालिकाको सुरक्षा र सहयोगका लागि सरकारले के गर्दै छ?

तस्बिर स्रोत, SHAKTIMAYA TAMANG
रसुवा र त्रिशूलीमा आएको बाढीका कारण विस्थापित भएकाहरूलाई एउटै हलमा राख्दा त्यसले खासगरी महिला र बालबालिकाको सुरक्षाको विषय उठेपछि ती क्षेत्रमा महिला प्रहरी खटाउन सुरु गरिएको प्रहरीले जनाएको छ।
कुनै पनि विपद्पछि महिला र बालबालिकाहरू बढ्ता जोखिममा पर्न सक्ने कारणले आफूहरूले ती क्षेत्रमा आवश्यकता अनुसार महिला प्रहरीलाई वर्दीमा र सादा पोसाकमा खटाएको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बताए।
"होल्डिङ सेन्टरमा रहेका महिला तथा बालबालिका दुर्व्यवहारमा नपरून्, मनोवैज्ञानिक असर नपरोस् महिलालाई चाहिने सहायताका लागि महिला प्रहरीले सजिलो हुने हुँदा उहाँहरूलाई खटाएको अवस्था छ," प्रहरी प्रवक्ता काफ्लेले भने।
"खासगरी जोखिममा रहेका महिला बालबलिकामाथि कसैले गलत नगरोस् भनेर र सहजीकरण होस् भनेर पठाएका हौँ।"
सबैभन्दा बढी विस्थापित रहेको नुवाकोटमा २९ जना, रुसुवामा १० जना, धादिङमा ७ जना महिला प्रहरी खटाइएको उनले जानकारी दिए।
ती होल्डिङ सेन्टरहरूमा महिनावारीका बेला लगाउने स्यानिटरी प्याड, हाइजीन किट पनि उपलब्ध गराउन थालिएको र त्यसको समन्वय र आवश्यकता बुझ्न पनि बाढी पीडितका लागि महिला प्रहरी सहयोगी हुने उनले बताए।
प्रहरीको तथ्याङ्क अनुसार अहिले प्रभावित जिल्लामा ३,१२६ जना मानिमसहरू होल्डिङ सेन्टरहरूमा रहेका छन्। तीमध्ये करिब ५० प्रतिशत महिला रहेको प्रहरीले जनाएको छ।
शिविरमा रहेका बालबालिकाका लागि महिला प्रहरीहरूलाई सादा पोसाकमा खटाइने प्रहरीले जनाएको छ।
होल्डिङ सेन्टरमा बसेका महिलाहरू सुरक्षा र सरसफाइबारे के भन्छन्?
नुवाकोटको विदुर नगरपालिकामा रहेको एउटा होल्डिङ सेन्टरमा रहेकी छिरिङ मेन्दो तामाङले आफू बसेको होल्डिङ सेन्टरमा खाना, बस्न र सुरक्षाको व्यवस्था भएको बताएकी छन्।
तर ९ महिनाकी छोरीलाई आवश्यक खानाको व्यवस्था नभएकोले समस्या भइरहेको बताएकी छन्।
"ठूलो मानिसलाई दिइएकै खाना बालबालिकालाई दिनुपर्ने बाध्यताले बच्चा रुने दुख दिने गरिरहेको छ। घरमा जस्तो बच्चालाई छुट्टै खुवाउन पाइएको छैन," उनले भनिन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि राहत र उद्धारसँगै विपद्मा सबैभन्दा जोखिममा रहेका बालबालिका तथा अन्य संवेदनशील समूहको सुरक्षा, संरक्षण, सामाजिक सुरक्षा र सुरक्षित पुनर्स्थापनालाई एकीकृत रूपमा अघि बढाइरहेको जनाएको छ।
मन्त्रालयले एउटा सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा उपलब्ध रहेको पनि जनाएको छ।
स्थानीय तहमा उपचार सम्भव नभएमा तत्काल उद्धारका लागि मन्त्रालयको ९८५१२५५२५४ हटलाइन नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिने बताइएको छ।
नुवाकोट विदुर नगरपालिका वडा नम्बर दुईस्थित बटारको कभर्डहलमा महिला र पुरुषलाई बुधवारबाट दुई तर्फ राख्न थालिएपछि केही सहज भएको त्यहाँ रहेका महिलाहरूले बताएका छन्।
"यहाँ हिजोबाट एकातर्फ महिला र बालबालिका अनि अर्कोतर्फ पुरुष राखिएको छ। यहाँ सुरक्षा त ठिक छ। हामीलाई नुहाउन चाहिँ समस्या छ," सजिना तामाङले भनिन्।
सोही हलमा रहेकी लक्ष्मी तामाङले पनि नुहाउन समस्या भएको बताएकी छन्।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा रहेका महिला र बालबालिकाको सुरक्षाका लागि भन्दै गृह मन्त्रालयले ती क्षेत्रमा महिला प्रहरीहरू पठाउन बुधवार परिपत्र गरेको बताइएको छ।
"विस्थापित महिला र बालबालिका रहेको ठाउँमा महिला प्रहरी सादा पोशाक र प्रहरी वर्दीमा खटाउने भनेर परिपत्र भएपछि त्यसै अनुसार थप मद्दत गइरहेको छ," प्रहरी महिला सेलकी प्रहरी निरीक्षक नीता थापाले बीबीसीलाई बताइन्।
केही दिनयता बाढी प्रभावित क्षेत्रमा पुगेकाहरूले होल्डिङ सेन्टरहरूमा महिला पुरुष सबैलाई एउटै हलमा राखिएको र त्यहाँ महिला प्रहरी खटाइए त्यसले महिलाहरूलाई सहायता लिन सहज हुने भन्दै सामाजिक सञ्जालमा आवाजहरू उठाएका थिए।
सामाजिक सञ्जालमा उठाइएका विषय र आफैँले गरेको निरीक्षणका आधारमा महिला प्रहरी पठाइएको प्रहरीले जनाएको हो।
"पहाडी जिल्लाहरूमा महिला प्रहरीको सङ्ख्या एकदमै कम छ। अहिले गृह मन्त्रालयबाट परिपत्र आएपछि थप महिला प्रहरी त्यता पठाइएको हो," प्रहरी निरीक्षक थापाले भनिन्।
"लैङ्गिक हिंसाका घटना धेरै आउने र महिलासँग जोडिएका मुद्दामा अनुसन्धान गर्दा महिला प्रहरी चाहिने, महिला पक्राउ गर्दा, चिकित्सा क्षेत्रमा होस् वा कारागारमा राख्दा होस् महिला प्रहरी अनिवार्य हुनुपर्यो।"
महिला प्रहरी पठाउन परिपत्र भएपछि थप जनशक्ति एक नम्बर गणबाट गइसकेको उनले जानकारी दिइन्।
नेपाल प्रहरीका अनुसार देशभरि अहिले करिब ७५ हजार प्रहरी कार्यरत रहेका छन्। तीमध्ये करिब १० हजार महिला रहेका बताइएको छ।
विगतमा पनि भूकम्प, बाढी पहिरोजस्ता विपद्बाट विस्थापित भएका महिला तथा बालबालिकाहरू जोखिममा पर्ने गरेका विवरणहरू आउने गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















