तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल र श्रीलङ्का टी-२० भेटमा जहिले पनि वर्षा बाधक
निरन्तर वर्षाका कारण नेपाल र श्रीलङ्का बीचको क्वार्टर फाइनल खेल अवरुद्ध भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली २० औँ एसियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ।
नागोयाको कोरोगी एथलेटिक पार्कमा १ बल पनि फाल्न नसक्ने अवस्था बनेपछि नियम अनुसार नेपालभन्दा वरीयतामा माथि भएका कारण श्रीलङ्का प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।
टी-२० वरीयतामा नेपाल १४ औँ स्थानमा छ भने श्रीलङ्का नवौँ स्थानमा छ।
नागोयामा मौसम बिग्रिँदा यसअघि भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङ बीचको खेल पनि वर्षाकै कारण रद्द हुन पुगेको थियो।
वर्षा र नेपाल श्रीलङ्का सम्बन्ध
नेपाल र श्रीलङ्काबीच अहिलेसम्म आधिकारिक टी २० क्रिकेटमा भेट भएको छैन।
रोचक कुरा के छ भने यी दुई टोली बीच भेटको अवसर जुर्दा हरेक पटक वर्षा बाधक बनिरहेको छ।
सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी २० विश्वकपमा नेपाल र श्रीलङ्का एउटै समूहमा परेका थिए।
जुन ११ मा भएको उक्त खेल हेर्न फ्लोरिडाको लाउडरहिलस्थित सेन्ट्रल ब्रो वार्ड रिजनल पार्क रङ्गशाला विभिन्न स्थानबाट आएका नेपाली समर्थकबाट भरिभराउ थियो।
तर वर्षाका कारण टस समेत हुन सकेन। रेनकोट र छाता ओढेर उपस्थित नेपाली समर्थकहरूले रङ्गशालामा लगातार नेपाली गीत गाइरहेका थिए। तर खेल रद्द भयो।
नेपाली खेलाडीहरूले समर्थकहरूलाई धन्यवाद दिन रङ्गशालामा एक चक्कर लगाए।
उक्त खेलबाट नेपालले १ अङ्क पाएको थियो जुन विश्वकपमा नेपालले पाएको एक मात्र अङ्क बन्यो।
दक्षिण अफ्रिकासँग १ रनले हारेको उक्त विश्वकपमा निकै फर्ममा रहेको नेपाली टोलीलाई श्रीलङ्कालाई हराएर पूर्ण अङ्क पाउने अवसर थियो। त्यो अवसर नेपालले पाएन।
तर उक्त खेल रद्द हुँदा श्रीलङ्का प्रतियोगिताबाटै बाहिरिन पुग्यो किनभने लीगको २ खेल हारिसकेकोले सुपर ८ मा पुग्न श्रीलङ्कालाई नेपाल सँगको खेल जित्नु अनिवार्य स्थिति थियो।
एसियाडको हार
यसअघि सन् २०१० मा चीनको ग्वाङझाउमा भएको एसियाली खेलकुदमा नेपाल र श्रीलङ्काबीच पहिलो भेट क्वार्टर फाइनलमा नै भएको थियो। तर त्यो खेललाई टी २० आई मान्यता थिएन।
त्यसैले मङ्गलवार(आज) को खेललाई १६ वर्षपछिको पुनरावृत्ति भनिएको थियो। यो खेल यति रोचक बन्यो की नेपाल जितको नजिक नजिक पुगेर हारेको थियो।
नेपालले पहिले ब्याटिङ गरेर मात्र ७२ रन बनायो।
ज्ञानेन्द्र मल्लले ३० र पारस खड्काले १८ रनको योगदान दिए। तर सानो स्कोर पछ्याउन पनि श्रीलङ्कालाई भने हम्मे हम्मे भयो।
एक समय श्रीलङ्काले ४२ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो। हारको संघारमा पुगेको टोलीलाई तल्लो क्रमका खेलाडीले राम्रो खेलेपछि टोली बल्ल तल्ल जोगियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।