युक्रेनलाई ५०० वटा प्याट्रिअट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति

तस्बिर स्रोत, Reuters
- Author, यारोस्लाभ लुकिभ
- Published
- पढ्ने समय: ३ मिनेट
रुसको बढ्दो हवाई आक्रमणबाट युक्रेनको रक्षा गर्न अत्यावश्यक ठानिएका ५०० वटा प्याट्रिअट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाले स्वीकृति दिएको छ।
तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ती क्षेप्यास्त्र युक्रेन आइपुग्न 'केही वर्ष' लाग्न सक्ने बताएका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्रको मूल्य २ अर्ब १० करोड डलर पर्नेछ।
त्यसको सम्पूर्ण खर्च युक्रेनको सहयोगी रहँदै आएका युरोपेली राष्ट्र र क्यानडाले बेहोर्ने पनि उक्त मन्त्रालयले जनाएको छ।
जेलेन्स्कीले अमेरिकालाई प्याट्रियट क्षेप्यास्त्र यथाशीघ्र उपलब्ध गराउन शुक्रवार पुनः आग्रह गरेका थिए। उनका अनुसार रुसका घातक बलिस्टिक क्षेप्यास्त्रलाई आकाशमै निस्तेज पार्ने एकमात्र हतियार प्याट्रिअट प्रणाली हो।
यो पछिल्लो निर्णय यसै महिनाको सुरुमा जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच भएको विवादपछि आएको हो।
रुसबाट डिजेल आपूर्ति सुनिश्चित गर्ने सम्झौताअन्तर्गत अमेरिकाले रुसमाथिका प्रतिबन्धहरू खुकुलो पारेपछि दुई नेताबीच मतभेद चुलिएको थियो।
ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने सम्झौताका लागि युक्रेनमा नयाँ नेतृत्व आउनुपर्ने समय भएको बताएका थिए।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेको थियो। त्यसअघि नै उसले क्राइमिया र पूर्वी युक्रेनको डोनबास क्षेत्रका केही भूभाग कब्जा गरिसकेको थियो।
गत अक्टोबर २० मा जेलेन्स्कीले ओस्लोमा अमेरिकी प्रतिनिधिमण्डलसँग वार्ता गरेपछि दुई पक्षबीचको तनाव केही मत्थर भएको थियो।
शुक्रवार जारी वक्तव्यमा अमेरिकी विदेश मन्त्रालयले भनेको छ: "यो प्रस्तावित बिक्रीले युरोपको राजनीतिक र आर्थिक स्थिरताका लागि महत्त्वपूर्ण भूमिका खेल्ने साझेदार राष्ट्रको सुरक्षा सुदृढ गर्दै अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षा उद्देश्य हासिल गर्न सहयोग पुर्याउनेछ।"
मन्त्रालयका अनुसार युक्रेनले यो खरिदको भुक्तानी 'जम्पस्टार्ट' कार्यक्रमअन्तर्गत क्यानडा, जर्मनी र नर्वेबाट प्राप्त सहायता रकम तथा युरोपेली सङ्घले युक्रेनलाई दिएको ऋण सहायतामार्फत गर्नेछ।
वक्तव्यमा अमेरिकी कम्पनी लकहिड मार्टिन मुख्य ठेकेदार रहने उल्लेख गर्दै भनिएको छ, "यस बिक्रीमा अमेरिकी सरकारको कुनै पनि रकम संलग्न हुने छैन।"
जेलेन्स्कीले यसै साताको सुरुमा युक्रेनमा क्षेप्यास्त्रको मौज्दात अत्यन्तै कम भइरहेका बेला अत्यावश्यक क्षेप्यास्त्र आपूर्तिका लागि अमेरिकी स्वीकृति पाउन झन्डै एक महिना कुर्नुपरेको बताएका थिए।
शुक्रवार अबेर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले अमेरिकी घोषणाको स्वागत गरेका छन्। सँगसँगै उनले युक्रेनलाई प्याट्रिअट क्षेप्यास्त्रको 'तत्काल' खाँचो परेकोमा जोड पनि दिएका छन्।
उनका अनुसार जाडो याम नजिकिँदै गर्दा रुसले युक्रेनका महत्त्वपूर्ण ऊर्जा पूर्वाधारमाथिको आक्रमण तीव्र बनाइरहेको छ। पछिल्लो दुई सातामा मात्रै युक्रेनको विद्युत् प्रसारण प्रणालीका 'महत्त्वपूर्ण संरचनाहरू' माथि रुसले '३० भन्दा बढी आक्रमण' गरेको उनले जानकारी दिए।
इरानविरुद्धको युद्धमा अमेरिकाले पनि यी क्षेप्यास्त्र प्रयोग गरिरहेकाले विश्व बजारमा यसको अभाव रहेको बताइन्छ।
प्याट्रिअट क्षेप्यास्त्र उत्पादनको समय तालिका कस्तो हुनेछ भन्ने अझै स्पष्ट छैन। यद्यपि, यो निर्णयमा मौज्दातमा रहेका क्षेप्यास्त्र नभई नयाँ उत्पादन गरिने क्षेप्यास्त्र समावेश रहेको बुझिएको छ। त्यसैले युक्रेनले यी क्षेप्यास्त्र तत्काल प्राप्त गर्ने सम्भावना कम देखिन्छ।
प्याट्रिअट क्षेप्यास्त्र उत्पादन गर्न लामो समय लाग्छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार अमेरिकाले प्रतिवर्ष करिब ६०० वटा मात्रै यस्ता क्षेप्यास्त्र उत्पादन गर्छ।
जुलाईमा युक्रेनलाई प्याट्रिअट क्षेप्यास्त्र उत्पादन गर्ने अधिकार दिने प्रस्ताव गरेको तीन सातापछि ट्रम्पले वासिङ्टनले त्यसका लागि 'सहमति नदिएको' बताएका थिए।
भिक्टोरिया बोनको अतिरिक्त रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















