'अहिलेको मौसमी प्रणालीको प्रभाव आइतवारसम्मै रहने, सोमवारबाट सुधार'

तस्बिर स्रोत, RSS
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
अहिले देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सो निकायका अनुसार अहिले कोशी, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भूभागमा 'भारी वर्षा' भइरहेको छ।
"अहिले बनेको मौसमी प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा छ र नेपालभरि त्यसको प्रभाव रहेको छ," महाशाखास्थित मौसमविद् रोजन लामिछानेले बीबीसी भने। "नेपालको पश्चिमी क्षेत्रमा आइतवारसम्मै यसको प्रभाव रहन सक्ने देखिन्छ।"
विगत २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा धेरै १८७ मिलिमिटर पानी परेको जल तथा मौसस विभागको तथ्याङ्कले देखाउँछ।
मौसमविद् विनोद पोखरेलका अनुसार भारी वर्षाको सम्भावना अब बाग्मतीका केही जिल्लाबाट सुदूरपश्चिमतर्फ सरेको छ। काठमाण्डूमा शुक्रवार अपराह्णदेखि 'अति भारी वर्षा'को सम्भावना न्यून रहेको उनले बताएका छन्।
नदीहरूको अवस्था

तस्बिर स्रोत, RSS
अहिले भक्तपुरको जगातीमा हनुमन्ते खोला, नुवाकोटको धुन्चेमा त्रिशूली नदी र काभ्रेपलान्चोकको पनौतीमा रोसी खोलाको जलसतह सतर्कताको तहमा पुगेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ।
सो निकायका अनुसार शुक्रवार बिहानको मापनअनुसार धेरैजसो प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल थियो।
प्रमुख नदीहरूमा शुक्रवारदेखि आइतवारसम्म जलसतहमा सामान्य घटबढ हुने पूर्वानुमान गरिएको छ।
शुक्रवार सुनसरी, मोरङ, धनकुटा र आसपासका जिल्ला भई बग्ने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखास्थित मौसमविद् लामिछानेका अनुसार सोमवारदेखि मौसममा क्रमिक रूपमा सुधार आउने पूर्वानुमान रहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले नदीहरूमा जलसतह बढिरहेको पृष्ठभूमिमा आइतवारसम्मै सतर्कता अपनाउन अनुरोध गरिएको बताएकी छन्।
"यसअघि आइतवारसम्म यो प्रणाली कमजोर भइसक्ला भन्ने पूर्वानुमान रहेकोमा अब त्यो दिनसम्मै प्रभाव देखिने पूर्वानुमान भएकाले हामीले आइतवारसम्मै सतर्कता अपनाउन भनेका हौँ," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।
राजमार्गहरू अवरुद्ध

तस्बिर स्रोत, Nepal Photo Library
दुई दिनदेखि जारी झरीले पहिरो निम्त्याउँदा मुलुकका धेरैजसो राजमार्गहरू अवरुद्ध बनेको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाले जनाएको छ।
शाखास्थित उपसचिव फणीन्द्र पौडेलका अनुसार काठमाण्डूका लागि लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग समेत पहिरोका कारण अवरुद्ध भएको छ।
तीबाहेक हाल अवरुद्ध बनेका राजमार्गमा बीपी राजमार्ग, कान्ति लोकपथ, कालुपाण्डे राजमाार्ग पनि छन्।
सम्भावित जोखिमलाई ध्यानमा राखी कतिपय स्थानीय प्रशासनहरूले छुट्टाछुट्टै सूचना निकाल्दै रातिको समयमा यातायात सञ्चालन गर्न रोक लगाएका छन्।
प्रतिकूल मौसमबीच 'लो भिजिबिलिटी'का कारण कतिपय आन्तरिक हवाई उडानहरू पनि रद्द गरिएका सेवाप्रदायकहरूले बताएका छन्।
अर्कोतर्फ आवश्यकतानुसार विद्यालयहरू बन्द गराउन सकिने शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनपछि सबैजसो विद्यालयहरूले शुक्रवार बिदा दिएका छन्।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले असोज ११ गतेसम्म परीक्षाहरू पनि स्थगित गर्न निर्देशन दिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















