'जलवायु न्यायको कुरा नारामा सीमित हुनु हुन्न': राष्ट्रसङ्घीय महासभामा वालेन्द्र शाहले अरू के भने

तस्बिर स्रोत, Reuters
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले संयुक्त राष्ट्रसङ्घीय महासभामा भोटेकोशी-त्रिशूली बाढीले पुर्याएको क्षतिदेखि हरितगृह ग्यास उत्सर्जन, जलवायु न्यायसम्मका विषय उठाएका छन्।
राष्ट्रसङ्घको न्यूयोर्कस्थित मुख्यालयमा आयोजित महासभामा स्थानीय समयानुसार बिहीवार सम्बोधन गर्दै उनले भोटेकोशी-त्रिशूलीको विपत्ति स्थानीय त्रासदी मात्र नभई पूरै विश्वका लागि एउटा चेतावनी भएको बताए।
"अनि आज म यहाँहरूलाई सोध्न चाहन्छु - के हामीले त्यो चेतावनीलाई साँच्चिकै सुनेका छौँ त?" प्रधानमन्त्रीले भने।
झन्डै तीन वर्षअघि जलवायु सङ्कटबारे राष्ट्रसङ्घका महासचिवले नेपालबाट खबरदारी गरेको भए पनि विश्वका राजनीतिक नेताहरूले त्यसलाई गम्भीर रूपमा नलिएको शाहले गुनासो गरे।
गत महिना नेपालले त्यसको परिणाम भोगेको विश्वलाई स्मरण गराउँदै उनले हालैको विनाशकारी बाढीपछि अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगका निम्ति प्रधानमन्त्रीले आभार प्रकट गरे।
हरितगृह ग्यास उत्सर्जन
बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिको चर्चा गर्दै प्रधानमन्त्री शाहले भौतिक पुनर्निर्माणका लागि नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत रकम आवश्यक पर्ने प्रारम्भिक मूल्याङ्कन रहेको बताए।
सन् २०१५ मा गोरखा भूकम्पछिको पुनर्निर्माण कार्यमा जस्तै सहयोग र ऐक्यबद्धताको अपेक्षा राखेको प्रधानमन्त्रीले बताए।
शाहले हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अति कम भए पनि जलवायु परिवर्तनको परिणाम नेपालले धेरै भोग्नुपरेको उल्लेख गरे।
"विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा ०.१ प्रतिशतभन्दा पनि कम छ। यो सङ्कट हामीले सिर्जना गरेका होइनौँ, तर हामीले त्यसको चर्को मूल्य चुकाइरहेका छौँ," उनले भने।
नेपालका हिमनदीहरू खुम्चिँदै गएका, पहाडका भित्ताहरू कमजोर बन्दै गएका र नदीहरूको बहाव अनिश्चित बन्दै गएको शाहले बताए।
नेपालका लागि जलवायु विपद् मानवीय समस्या मात्र नभई विकासको सन्दर्भमा सङ्कट पनि भएको उनले बताए।
उत्तरदायित्व र प्रतिबद्धता

तस्बिर स्रोत, Reuters
आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले कुनै देश अथवा महादेशमाथि आरोप लगाउन नआएको जिकिर गरे।
"जलवायु परिवर्तनलाई अर्को भूराजनीतिक रणभूमि बनाउन हामी यहाँ उपस्थित भएका होइनौँ," उनले भने।
"सबैले साझा उत्तरदायित्व र ऐक्यबद्धताबारे आफ्ना प्रतिबद्धताहरू दोहोर्याऊन् भन्नलाई हामी यहाँ आएका हौँ," प्रधानमन्त्री शाहले अगाडि थपे।
'जलवायु न्याय'को कुरा संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा एउटा सुन्दर नारामा सीमित हुन नहुनेमा उनले जोड दिए।
"हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माण गर्न लगाउनुभन्दा भविष्य बनाउन दिनुपर्छ," प्रधानमन्त्री शाहले भने।
संयन्त्र बनाउन प्रस्ताव
प्रधानमन्त्रीले हिन्दूकुश हिमालहरूले नेपालभन्दा धेरै टाढासम्मका करोडौँ मानिसहरूको जीविकोपार्जनको आधार दिएको उल्लेख गरे।
जलवायु परिवर्तनले निम्त्याइरहेको सङ्कटबीच शाहले नेपाल, भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाउन प्रस्ताव गरे।
"त्यो संयन्त्रमार्फत् हामी भूउपग्रहका तथ्याङ्क र प्राविधिक ज्ञान आदानप्रदान गरौँ। जोखिमयुक्त हिमतालहरूको संयुक्त निगरानी गरौँ," उनले भने।
हिमाललाई खण्डित सूचनाहरूको सिमाना बन्न नदिई अन्तर्राष्ट्रिय सहकार्यको एउटा नमुना प्रयोगशाला बनाउनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए।
अति कम विकसित देश भएर पनि नेपालले विश्वलाई आफ्नो "पारिस्थितिक अंश"भन्दा बढी योगदान पुर्याइरहेको उनले उल्लेख गरे।
पर्याप्त सहायता आवश्यक
जलवायु परिवर्तनले निम्तिने विपद्बाट कुनै विपन्न देशका पूर्वाधारहरू ध्वस्त हुँदा अर्को ठूलो ऋण अथवा सानातिना सहयोगले मात्र नपुग्ने उनले तर्क गरे।
"हामी विश्वबाट अनुदानमा आधारित पर्याप्त सहयोग चाहन्छौँ। लस एन्ड ड्यामेज फन्ड, ग्लोबल इन्भार्मन्ट फ्यासिलिटी र अन्य सम्बन्धित वित्तीय संयन्त्रहरू अझै अपर्याप्त छन्," प्रधानमन्त्रीले अगाडि थपे।
पीडित देशहरूले सहयोग पाउनका लागि आफू सङ्कटमा परेको प्रमाण जुटाउन वर्षौँसम्म लाग्नुपर्ने गरी जलवायु वित्तलाई झन्झटिलो प्रशासनिक प्रक्रिया बनाउन नहुनेमा उनले जोड दिए।
"जब कसैको घरमा आगलागी भइरहेको हुन्छ, तब हामी पीडित परिवारलाई ५० वटा फारम भर्न लगाउँदैनौँ। हामी सीधै आवश्यक कदम चाल्नतर्फ लाग्छौँ। जलवायु न्यायको वास्तविक अर्थ त्यही हुनुपर्छ," प्रधानमन्त्री शाहले भने।
असोज १० गते स्वदेश फर्किने
शाह राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन जाँदा बुधवार काठमाण्डूबाट प्रस्थान गरेका थिए।
काठमाण्डू छोड्नुअघि उनको सिफारिसमा राष्ट्रपतिले अर्थमन्त्री स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका थिए।
शाह असोज १० गते स्वदेश फिर्ता हुने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।
उनीसँगै उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार व्यञ्जनकार पनि न्यूयोर्क गएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।


















