भोटेकोशी त्रिशूली बाढीले बालबालिकामा कस्ता कस्ता असर परेका छन्? सरकारले के गर्दै छ?

तस्बिर स्रोत, Reuters
भोटेकोशी-त्रिशूलीमा आएको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएर अहिले विभिन्न होल्डिङ सेन्टरमा बसेका बालबालिकाहरूलाई सामान्य अवस्थामा फर्काउन उनीहरूको खानपिन, बास र मनोसामाजिक परामर्शमा ध्यान दिइएको अधिकारीहरूले बताएका छन्।
ती प्रभावित क्षेत्रका होल्डिङ सेन्टरहरूमा प्रारम्भिक अध्ययन गर्न पुगेका र उनीहरूलाई सहायता गर्न पुगेका सरकारी तथा गैरसरकारी संस्थाहरूले खासगरी बालबालिका टोलाउने, अन्तर्क्रिया गर्न नखोज्ने देखिएकोले उनीहरूलाई परामर्श गर्न काम गरिएको उनीहरूले बताएका हुन्।
राष्ट्रिय बाल अधिकार परिषद्को प्रारम्भिक अध्ययन अनुसार भदौ १० गतेको भीषण बाढीमा दुवै आमा बुवा गुमाएका बालबालिकाको सङ्ख्या १०२ दुई रहेको छ। तीमध्ये ४९ बालिका र ५३ बालक रहेका छन्।
त्यस्तै प्रभावित क्षेत्रका १५ गाउँपालिकाका करिब ३० होल्डिङ सेन्टरमा आमाबुवासँग बसिरहेका बालबालिकाको सङ्ख्या ६९२ रहेको परिषद्ले जनाएको हो।
ती प्रभावित क्षेत्रमा पुगेका अधिकारीहरूको प्रारम्भिक अध्ययनबाट प्रत्यक्ष रूपमा प्रभावित भएका बालबालिकाहरूको सङ्ख्या १,२३३ रहेको छ जसमा ६३२ बालिका र ६०१ बालक रहेका छन्। तीमध्ये अपाङ्गता भएका बालबालिका २१ जना रहेका छन्।
यसमा गोसाईँकुण्ड गाउँपालिकाको भने तथ्याङ उक्त गाउँपालिका नै बगेका कारण उल्लेख नभएको बताइएको छ।
बालबालिका हेर्ने राष्ट्र सङ्घको निकाय युनिसेफको पछिल्लो अनुमान अनुसार नेपालका ६ वटा जिल्लामा अनुमानित ८४ हजार २७९ मानिसहरू प्रभावित भएका र त्यसमा ३२ हजार २१ जना बालबालिका रहेका छन्।
"२० वटा विद्यालय प्रभावित भएका छन् जसका कारण हजारौँ बालबालिकाको दैनिक जीवनमा अवरोध पुगेको छ," युनिसेफले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ।
"बालबालिका यस सङ्कटको केन्द्रमा छन् र उनीहरूलाई लक्षित गरिएको प्रतिकार्यको पनि केन्द्रमा छन्। आपत्कालीन राहतदेखि दीर्घकालीन पुन:स्थापनासम्म, बालबालिकाको सुरक्षा, स्वास्थ्य र अधिकारको संरक्षण गर्न युनिसेफ निरन्तर प्रतिबद्ध छ।"
सहायता कसरी गरिँदै छ?

तस्बिर स्रोत, Reuters
अहिले पीडित बालबालिकाको दैनिकीलाई सामान्यीकरण गर्नका लागि मनोसामाजिक परामर्शलगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिइएको राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव दुर्गाप्रसाद चालिसेले बताए।
"ती बालबालिकालाई अहिलेका लागि मनोसामाजिक परामर्शको आवश्यकता छ। आफ्नो समुदायबाट अलग रहेको होल्डिङ सेन्टरमा बसेका कारण उहाँहरूलाई मनोरञ्जन दिने खालका सामग्रीहरूको आवश्यकता छ," परिषद्का सदस्य सचिव दुर्गाप्रसाद चालिसेले भने।
"त्यहाँ पुग्ने मानिसहरूले सोध्ने तथा पारिवारिक कुरा खोतल्ने गरेका कारण पनि बालबालिकाहरूले दिक्क मान्ने गरेको फिल्डमा रहेका हाम्रा साथीहरूले बताउनुभएको छ।"
ती बालबालिकाहरूको भिडिओ अनधिकृत रूपमा प्रकाशन नगर्न पनि आफूहरूले निर्देशन दिएको चालिसेले बताए।
स्थानीय रूपमा उनीहरूको बसोबास पनि अहिले त्यति नमिलेको उनले बताए।
त्यस्ता बालबालिकाको उद्धारका लागि व्यक्तिले ल्याउन नपाइने कानुनी व्यवस्था रहेको छ।
"संस्थागत रूपमा बाल कल्याण अधिकारीले सिफारिस गरेर स्थानीय निकायको सिफारिसबाट पठायो भने ललितपुरको ठेँचोमा अस्थायी संरक्षण केन्द्र पनि दुई तीन दिनमा तयार हुन्छ। त्यहाँ अस्थायी रूपमा ल्याएर राखेर, काउन्सलिङ गरेर अनि व्यवस्थित ढङ्गले कहाँ पठाउने वा भाइबहिनीलाई सँगै राख्ने कि त्यसको विस्तृत अध्ययन गर्न अहिले मन्त्रालयले राष्ट्रिय बाल अधिकार परिषद्लाई जिम्मा दिएको छ," उनले भने।
त्यस्तै विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खासगरी मनोवैज्ञानिक असर बालबालिकामा देखिएका कारण त्यसअनुसार परामर्श दिने काम भइरहेको बताइन्।
"होल्डिङ सेन्टरहरू खोला वारि र पारि रहेका कारण आमाबुवाविहीन सबै बालबालिकालाई एउटै होल्डिङ सेन्टरमा राख्न सकिएको छैन। होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई चाहिने सबै कुराहरूको व्यवस्था गरेका छौँ," उपमेयर बोगटीले भनिन्।
"ती बालबालिकाहरूले त्यतिधेरै अन्तर्क्रिया गर्न खोजिरहनुभएको छैन। उहाँहरू मानसिक रूपमा कमजोर हुनुभएको छ।"
उनले खासगरी आमाबुवा भाइ बगाएर बेपत्ताभएका दुई बालिकालाई अलि धेरै नै गाह्रो भएको देखिएको बताइन्।
त्यस्तै बालबालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले पनि प्रभावित क्षेत्रमा पुगेर काम गरिरहेको छ।
आफूहरूले परिषद् तथा अन्य विकास साझेदारहरूसँग मिलेर बालबालिकाका लागि काम गरिरहेको सेभ द चिल्ड्रेनका रत्नराज ओझाले बताए। उनी बाढीलगत्तै नुवाकोटमा रहेको रेस्पोन्स लीडका रूपमा कार्यरत छन्। अहिले सेभ द चिल्ड्रेनले त्यहाँ रसुवा, नुवाकोट र धादिङमा काम गरिरहेको उनले बताए।
५४० बालबालिकाहरू दुवै वा एकजना आमाबुवाबाट अलग अवस्थामा रहेको उनले बताए। त्यस्तै ६३० बालबालिकाहरूको अवस्था थाहा हुन नसकेको आफूहरूको प्रारम्भिक अध्ययनबाट पाइएको उनले बताए।
"बालबालिकालाई एकदमै ठूलो आघात परेको छ र विद्यालय जान नपाएकाले नियमित गतिविधिहरू गर्न पाउनुभएको छैन। होल्डिङ सेन्टरमा माया र हेरचाह गुमाएका कारण ठूलो तनाव परेको देखिन्छ।"
"विस्तारै विद्यालय जान थालेपछि केही किसिमले अहिलेको आघात कम हुन सक्छ। त्यसैको सन्दर्भमा सेभ त चिल्ड्रेनले होल्डिङ सेन्टरहरूमा स्थानीय सरकारसँग मिलेर अस्थायी सिकाइ केन्द्र पनि स्थापना गरेको छ।"
त्यसबाहेक नजिकका नातेदार, आफन्तसँग पुनस्थापना गर्ने काम पनि आफूहरूले गरिरहेको उनले बताए।
यसअघि बागमती प्रदेश सरकारले आमाबुवा गुमाएका बालबालिकाहरूलाई आवासीय सुविधासहित प्लस टू तहसम्म नि:शुल्क शिक्षा दिने निर्णय गरे पनि परिषद्ले पहिला अन्य विकल्पहरू हेरिने जनाएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






















