प्रधानमन्त्री बालेनको भारत भ्रमण कुन अर्थमा उपलब्धिमूलक, कुन अर्थमा उपलब्धिविहीन?

बालेन र मोदी
Published
पढ्ने समय: ४ मिनेट

सरकारले प्रधानमन्त्रीको भारत भ्रमणलाई सफल भनी व्याख्या गरिरहेका बेला विज्ञ तथा विपक्षी दलका नेताहरूले थाँती रहिआएका विषयमा उपलब्धि हुन नसकेको प्रतिक्रिया दिएका छन्।

बीबीसीसँग कुरा गर्दै उनीहरूले भ्रमणबाट एकाध विषयमा उपलब्धि भए पनि सीमा विवाद, सन् १९५० को मैत्री सन्धिजस्ता पेचिला विषयमा कुनै प्रगति हुन नसकेको उल्लेख गरेका हुन्।

सरकारले हवाई मार्ग, रेल पारवहन र थप भारतीय बन्दगाहमा नेपालको पहुँचबारे महत्त्वपूर्ण सहमति भएको बताएको छ।

भैरहवाको हकमा दुईतर्फी हवाई मार्ग, अयोध्या-जनकपुर रेल सेवा तथा दीनदयाल बन्दरगाह र पारादीप बन्दरगाहमा व्यापारका लागि नेपालले पहुँच पाउने विषयमा भारतसँग भएको सहमतिलाई सरकारले 'ब्रेकथ्रू' भनिरहेको छ।

कुन अर्थमा उपलब्धिमूलक?

बालेन र मोदी

नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासलाई मजबुत बनाउन भन्दै २ खर्ब ४० अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

त्यो रकममा आर्थिक सहायताका साथै सहुलियतपूर्ण पनि ऋण रहेको अधिकारीहरूले स्पष्ट पारेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी दलहरू नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीका नेता एवं प्रबुद्ध समूह (ईपीजी) का एक सदस्यले उक्त सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।

"निरन्तर भइरहने सहयोगका जुन क्षेत्रहरू छन्, त्यसमा उपलब्धि भएका छन्। भोटेकोशी-त्रिशूली बाढीपछि पुनर्निर्माणको क्षेत्रमा भएको घोषणा सराहनीय छ," ईपीजीका एक सदस्य तथा भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले बीबीसी न्यूज नेपालीसँग भने।

"सिङ्गो सम्बन्धलाई हेर्ने हो भने आधामा उपलब्धि भयो, आधामा चाहिँ भएन" उनले अगाडि थपे।

नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि विनाशकारी बाढीले निम्त्याएको क्षतिको हकमा नेपालले पाउने सहयोगलाई एउटा उपलब्धि ठान्छन्।

"बाढीपछि पुनर्निर्माणका लागि गरिएको आर्थिक सहायता र नेपालमा भारतले आईआईटी कलेज खोल्ने सहमतिबाहेक अरू विगतका सहमतिका निरन्तरता नै हुन्," बीबीसी न्यूज नेपालीसँग उनले भने।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म आङ्देम्बे र नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले भोटेकोशी-त्रिशूली बाढीको सन्दर्भमा पाइने सहयोग सकारात्मक भएको प्रतिक्रिया दिए।

कुन अर्थमा उपलब्धिविहीन?

मोदी र बालेन

सीमा विवादसम्बन्धी सुल्टाउन बाँकी रहेका विषयलाई सम्बोधन गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई दुई नेताले निर्देशन दिएको संयुक्त वक्तव्यमा लेखिएको छ।

"दुवै नेताले सीमा स्तम्भहरूको मर्मतसम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो। उहाँहरूले समाधान हुन बाँकी सीमा विवादका विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिनुभयो," संयुक्त वक्तव्यमा लेखिएको छ।

तर विपक्षी दलका नेता र ईपीजी सदस्यले सो विषयमा कुनै प्रगति भएको नदेखिएको बताएका छन्।

आफ्नो राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले उठाउनैपर्ने कतिपय महत्त्वपूर्ण विषयहरू नउठाएको उनीहरूको तर्क छ।

"जसरी ढोल पिटेर उहाँ जानुभयो, त्यस्तो केही पनि भएको देखिएन। जस्तोसुकै कुरा गरे पनि खास गरी सीमाको विषयमा कुनै कुरा उठाएर आउनुभएन," कांग्रेस नेता आङ्देम्बेले भने।

प्रधानमन्त्रीको भारत भ्रमण समग्रमा औसत रहेको आफूले पाएको एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले बताए।

"सीमा विवादको कुरा होओस्, सन् १९५० को सन्धिको कुरा होओस्, वाणिज्य सन्धिमा रहेका कतिपय प्रावधानका कारण नेपालले ठूलो घाटा बेहोर्नुपरेको कुरा होओस्। यी विषयहरू नउठ्नु यो भ्रमणको सबैभन्दा ठूलो कमजोरी हो भनी मलाई लाग्छ," उनले अगाडि थपे।

विवादित विषयहरू उठाउँदा सहयोग प्रभावित हुने सोचबाट माथि उठ्नुपर्ने पूर्वराजदूत आचार्यको तर्क छ।

"हामीले न कालापानी उठायौँ, न व्यापार घाटाबारे उठायौँ। न ईपीजी उठायौँ, न त सार्क उठायौँ। यी कुराहरू पनि उठाउनुपर्ने थियो," उनले भने।

आचार्यका अनुसार नेपालको तर्फबाट ईपीजी प्रतिवेदनको विषयलाई उठाइएको भए भारतीय विदेश सचिव विक्रम मिसरीले त्यसले खारेज गरिएको आशयको कुरा गर्ने थिएनन्।

दुई देशका प्रबुद्ध व्यक्तिहरूले दुई वर्ष लगाएर तयार पारेको प्रतिवेदनलाई अङ्गीकार नगर्नु दुःखद भएको उनको टिप्पणी छ।

महत्त्वपूर्ण विषयहरू नै प्राथमिकतामा नपरेको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाको ठम्याइ छ।

"थाँती रहेका सीमा विवादका विषय र थप हवाई मार्गका विषय निष्कर्षमा पुगेनन्। केही आर्थिक सहयोगदेखि सामान्य खालका केही सहमतिबाहेक नेपाललाई दीर्घकालीन प्रभाव पार्ने खालको उपलब्धिमूलक भएन," उनले भने।

कांग्रेस नेता आङ्देम्बेले भैरहवाको हकमा हवाई मार्गबारे सहमति भएको भनिए पनि टुङ्गोमा पुग्नै बाँकी रहेको तर्क गरे।

"भैरहवाको पनि टुङ्गोमा पुगेको विषय त होइन। त्यो पनि छलफल भएर टुङ्गो लाग्ने कुरा छ," उनले भने।

संयुक्त वक्तव्यमा लेखिएअनुसार दुई देशका उड्डयनसम्बन्धी अधिकारीहरूले दुईतर्फी हवाई मार्गको विषयबारे टुङ्गो लगाउने छन्।

अर्कोतर्फ भारत भ्रमण सकेर नेपाल फर्केपछि आयोजित एक पत्रकार सम्मेलनमा सोमवार परराष्ट्रमन्त्री शिशिर खनालले ईपीजीको प्रतिवदेनलाई पूर्णत: नकारिएको भन्ने चर्चालाई स्वीकार गरेको देखिएन।

"नेपाल-भारत सम्बन्धलाई नयाँ आयामबाट हामी व्याख्या गर्न चाहन्छौँ र त्यसका लागि आवश्यक पर्ने नयाँ सन्धिहरू गर्न पनि हामी तयार छौँ भनेर दुई देशले भनेका छन्," मन्त्री खनालले भने।

"त्यो भनेको नेपाल-भारतबीच भएको सन् १९५० को सन्धिलगायतका विभिन्न खाले सन्धि, सम्झौताको पुनरवलोकन गर्न तयार छ भनेर स्पष्ट रूपमा बोलिसकेपछि ईपीजीभित्र भएका विषयवस्तुहरूलाई पनि सम्बोधन गर्ने गरी संयुक्त दूरदृष्टि दस्तावेजमा समाहित छ," उनले अगाडि थपे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।