नेपाल-भारतबीच पुराना सन्धि, सम्झौता 'पुनरवलोकनको बाटो खुल्यो': मन्त्री खनाल

शिशिर खनाल
    • Author, गनी अन्सारी
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

प्रधानमन्त्री वालेन्द्र शाह बालेनको भारत भ्रमणका क्रममा भएका सहमतिसँगै नेपाल-भारतबीच पुराना सन्धि, सम्झौता 'पुनरवलोकनको बाटो खुलेको' परराष्ट्रमन्त्री.शिशिर खनालले बताएका छन्।

नेपाल-भारतबीच भएको सन् १९५० को मैत्रीपूर्ण सन्धिलाई पुनरवलोकन गरिनुपर्ने आवाज वर्षौँदेखि उठ्दै आएको पृष्ठभूमिमा द्विपक्षीय सहमति भएको परराष्ट्रमन्त्री खनालले बताएका हुन्।

"नयाँ विषयमा सहकार्य अगाडि बढाउनका लागि हामीले आवश्यक परेमा हाम्रा पुराना सन्धि, सम्झौता, सहमतिहरूलाई पनि परिमार्जन गर्ने बाटो खुलेको छ," भारत भ्रमणबाट फर्केपछि काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने।

"सन् १९५० को सन्धिलगायत पुराना सन्धिहरूमा पनि हामी यी विषयहरूमा बसेर नेपाल-भारत सम्बन्धलाई नयाँ आयामबाट, नयाँ दृष्टिकोणबाट समयसापेक्ष बनाउन आवश्यक सबै खाले पुराना सन्धिहरूको पनि पुनरवलोकन गर्नका लागि 'स्पेस' हामी खुलाएर आएका छौँ," खनालले अगाडि थपे।

ईपीजी प्रतिवेदन

नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) प्रतिवेदन भारतले हालसम्म नबुझेको भन्दै केही वर्षयता प्रश्न उठ्दै आएको विषयबारे पनि परराष्ट्रमन्त्रीले जिकिर गरे।

"नेपाल-भारत सम्बन्धलाई नयाँ आयामबाट हामी व्याख्या गर्न चाहन्छौँ र त्यसका लागि आवश्यक पर्ने नयाँ सन्धिहरू गर्न पनि हामी तयार छौँ भनेर दुई देशले भनेका छन्," मन्त्री खनालले भने।

"त्यो भनेको नेपाल-भारतबीच भएको सन् १९५० को सन्धिलगायतका विभिन्न खाले सन्धि, सम्झौताको पुनरवलोकन गर्न तयार छ भनेर स्पष्ट रूपमा बोलिसकेपछि ईपीजीभित्र भएका विषयवस्तुहरूलाई पनि सम्बोधन गर्ने गरी संयुक्त दूरदृष्टि दस्तावेजमा समाहित छ," उनले अगाडि थपे।

तीन विषयमा 'ब्रेकथ्रू'

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले खास गरी तीन वटा विषयमा 'ब्रेकथ्रू' अर्थात्‌ उल्लेखनीय उपलब्धि भएको जिकिर गरे।

ती तीन विषयमा उनले हवाईमार्ग, पारवहनका लागि भारतीय बन्दरगाहमा पहुँच र रेल पारवहनको विषय उल्लेख गरे।

"दुई प्रधानमन्त्रीहरूबीच भएको सहमतिमा भैरहवामाथि भएको आकाशको पहुँच मार्ग नेपालले प्रयोग गर्न पाउने भएको छ। एकपक्षीय थियो, नेपालबाट बाहिर जान पाइन्थ्यो। अब चाहिँ नेपाल भित्रिन पनि पाउने गरी सहमति भएको छ," मन्त्री खनालले भने।

सो विषयमा दुई प्रधानमन्त्रीले प्रतिबद्धता जनाइसकेपछि अब त्यो कार्यान्वयनका लागि अगाडि बढाइने उनले उल्लेख गरे।

भैरहवाबाहेक अरू हवाईमार्गबारे कुनै किसिमको सहमति नभएको परराष्ट्रमन्त्री खनालले स्पष्ट पारे।

बालेन र मोदी

त्यसबाहेक नेपालले अतिरिक्त बन्दगाहमा पहुँच पाउने सहमतिलाई ठूलो उपलब्धिको रूपमा मन्त्री खनालले अर्थ्याए।

"तेस्रो मुलुकसँग नेपालको व्यापारका लागि कोलकाता र विशाखापट्टनम बन्दरगाहका अतिरिक्त नेपाललाई थप बन्दरगाहहरू दीनदयाल बन्दरगाह र पारादीप बन्दरगाह प्रयोग गर्न पहुँच पर्ने विषयमा पनि सहमति भएको छ," खनालले भने। "नेपालले दशकौँदेखि उठाउँदै आएको यो विषयमा ठूलो ब्रेकथ्रू भएको छ," उनले अगाडि थपे।

सम्पर्क सञ्जालको दृष्टिकोणले पनि विशेष उपलब्धि भएको मन्त्री खनालले जिकिर गरे। "दुई देशका प्रधानमन्त्रीज्यूहरूले जनकपुर-अयोध्याबीचको यात्रुवाहक रेलको भर्चुअली संयुक्त उद्‌घाटन गर्नुभएको छ," उनले भने।

लामो समयपछि दुई देशले नेपालका प्रधानमन्त्रीको भ्रमणपछि संयुक्त वक्तव्य जारी गर्नुले पनि भ्रमणको महत्त्वलाई दर्शाएको परराष्ट्रमन्त्री खनालले तर्क गरे।

"परराष्ट्र नीतिको महत्त्वपूर्ण पक्षका रूपमा रहेका छिमेक सम्बन्धलाई थप गतिशीलताका माध्यमबाट आर्थिक विकास र समुन्नतिका लागि सौहार्दपूर्ण वातावरण निर्माण गर्ने र छिमेकी मुलुकले हासिल गरेको उल्लेख्य विकास र समुन्नतिको समुचित लाभ लिने दिशामा यो भ्रमण कोशेढुङ्गा साबित भएको छ," उनले भने।

"साथै छिमेकी मित्रराष्ट्रसँग एकअर्काका संवेदनशीलताहरू बुझ्ने तथा आपसी समन्वयमा तिनको उचित समाधान गर्दै द्विपक्षीय हितलाई प्रवर्द्धन गर्न यो भ्रमण पूर्णतः सफल भएको छ। नेपाल र नेपाली नागरिकका लागि यो ऐतिहासिक उपलब्धिका रूपमा रहिरहने छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।