बुधवारदेखि फेरि 'देशका धेरैजसो ठाउँमा वर्षा गराउने' भनिएको मौसमी प्रणाली के हो?

तस्बिर स्रोत, DHM, Nepal
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
आउँदो बुधवारदेखि चार दिनसम्म नेपालमा धेरैतिर वर्षा गराउने प्रणाली बङ्गालको खाडीमा विकसित भइरहेको भन्दै मौसम अधिकारीहरूले सचेत गराएका छन्।
चक्रवातको रूप लिँदै उक्त प्रणाली बुधवार बिहानै भारतका पूर्वी तटीय राज्यहरूमा बज्रने भारतीय मौसम निकायहरूले जनाएका छन्। नेपालमा भने बिहीवारदेखि अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।
"नेपालमा बुधवार पूर्वी भेगमा हल्का पानी पर्न थाल्ने र मध्य भेगसम्मै बदली हुने क्रम सुरु हुनेछ। बिहीवारदेखि शनिवारसम्म भने वर्षाको धेरै सम्भावना छ," जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरि दाहालले बीबीसीसँग भने।
"कर्णाली र सुदूरपश्चिम प्रदेशतिर आंशिकजस्तो प्रभाव पर्ने देखिन्छ। बढी प्रभाव भने त्यसपूर्वका भेगमा पर्ने देखिन्छ।"
मौसमविद्हरूले हालसम्मको मूल्याङ्कनमा केही ठाउँमा भारीदेखि अति भारी सम्मको वर्षा र हिमालमा उच्च हिमपात हुने देखिएको बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह-प्राध्यापक मौसमविद् विनोद पोखरेलले आउन लागेको यस प्रणालीलाई सन् २०१४ को 'हुदहुद' आँधीजस्तो 'ठूलो' भनेर व्याख्या गर्छन्।
मनसुन सकिएपछि आएको उक्त प्रणालीले नेपालका मुस्ताङ र मनाङमा ठूलो हिमपात गराउँदा त्यसबेला कैयौँ पर्यटकहरूको मृत्यु भएको थियो।
"यसपटकको प्रणालीले समेट्ने दायरा अझ फराकिलो छ। त्यसले बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भागमा र कोशी प्रदेशका पहाडी भागमा लगातार वर्षा एवं हिमपात गराउने देखिन्छ," पोखरेलले बीबीसीसँग भने।
यस वर्ष विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ)ले अगस्टदेखि अक्टोबरसम्म 'एल निन्यो' भनिने मौसम प्रणाली अझ बलियो बन्ने र त्यसले उच्च तापक्रमका साथै वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउने भनेर प्रक्षेपण गरेको पृष्ठभूमिमा मनसुन बाहिरिए लगत्तै नयाँ प्रणाली देखा पर्न लागेको हो।
सचेत हुन आग्रह

तस्बिर स्रोत, RSS
बङ्गालको खाडीमा बनिरहेको न्यूनचापीय प्रणाली बलियो हुँदै चक्रवातमा परिणत भएसँगै नेपालमा पनि वर्षा हुने पूर्वानुमान गरिएको हो।
मौसम विभागले सुरुवाती प्रभाव कोशी, बागमती र गण्डकी प्रदेशमा भए तापनि बिहीवार राती र शुक्रवार उच्च प्रभाव नेपालभर धेरैतिर देखिने जनाएको छ। कर्णाली, सुदूरपश्चिम एवं लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा असर कम पर्ने बताइएको छ।
"यद्यपि त्यहाँ समेत केही ठाउँमा खण्डित वर्षाको सम्भावना छ," मौसमविद् हरि दाहालले भने। "प्रभाव पर्ने भनिएका धेरै ठाउँमा मध्यम वर्षाको सम्भवना छ। त्यहाँ चट्याङहरू समेत पर्ने सम्भवना रहन्छ।"
राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानहरूलाई मङ्गलवारभित्रै धानबाली भित्र्याउन आग्रह गर्दै सूचना जारी गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार, शुक्रवार र शनिवारका धान काट्ने योजना बदल्नु पर्ने सम्भावना बलियो बन्दै गएको जनाएको छ।
सरकारले उक्त अवधिमा यात्रा गर्ने योजना बनाएकाहरूलाई मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सूचित गरेको छ।
मौसमविद् विनोद पोखरेलले यतिखेर विकसित भइरहेको प्रणालीसँग दक्षिण भारतमा अझै कायम रहेको 'नर्थइस्ट मनसुन' र पश्चिमी वायु प्रणाली पनि मिल्ने बताउँछन्।
"नयाँ प्रणाली नेपाल आइपुग्दा पश्चिमी न्यूनचापीय प्रणालीसँगको मिश्रणले अझ भारी वर्षा गराउने सम्भावना देखिन्छ," उनले भने। "त्यसमाथि नेपालको पहाडी भूभागले थप पानी पार्न अझ बल पुर्याउँछ।"
उनले पूर्वानुमानहरू दिनहरू नजिकिँदै जाँदा अझ प्रस्ट हुने भए तापनि पछिल्ला करिब डेढ साता देखिका मूल्याङ्कन हेर्दा वर्षाको सम्भावना बलियो बन्दै गइरहेको बताउँछन्।
'निरन्तर निगरानी'

तस्बिर स्रोत, EPA
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले आफूहरूले मौसम विभागसँग मिलेर हाल विकसित प्रणालीलाई "निरन्तर निगरानी" गरिरहेको बीबीसीलाई बताए।
"अहिलेलाई हामीले कात्तिक ११ देखि १५ गतेसम्म हिमाली भेगमा पदयात्रा तथा पर्वतारोहण नगर्न र त्यसबीचमा कतै भए पहिल्यै सुरक्षित स्थानमा आउन भनेका छौँ," उनले भने।
"मङ्गलवारसम्म अझ प्रस्ट चित्र थाहा हुनेछ। जसअनुसार बर्षाको जोखिम देखिने ठाउँमा आवश्यक पर्ने सबैखाले सबै सावधानीका उपाय अपनाउनेछौँ।"
उनले चक्रवातको प्रभाव मूल्याङ्कनका आधारमा यसअघि गरिएजस्ता अस्थायी रूपमा सवारी आवागमन रोक्नेजस्ता उपाय समेत अपनाउन सकिने बताउँछन्।
"अहिलेकै पूर्वानुमानमा पनि बिहीवारबाट खास प्रभाव नेपालमा देखिने भनिएको छ। जस अनुसार नै पनि मङ्गलवार तीन दिने पूर्वानुमान जारी भएपछि पनि हामीहरूसँग आवश्यक निर्णयहरू लिने समय हुनेछ," प्रवक्ता केसीले भने।
शनिवारबाट भने त्यसको प्रभाव कम हुन थाल्ने मौसम अधिकारीहरूले बताएका छन्।
'सूपर एल निन्यो'
कैयौँ देशका मौसम निकायहरूले गरेको प्रक्षेपणअनुसार यो वर्षको एल निन्यो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने बताइएपछि त्यसलाई 'सूपर एल निन्यो' पनि भनियो।
जससँगै संयुक्त राष्ट्र सङ्घको निकाय डब्ल्यूएमओले एउटा विज्ञप्ति जारी गर्दै अगस्टदेखि अक्टोबर महिनामा यो प्रणाली सशक्त हुने चेतावनी दिएको थियो।
प्रशान्त महासागरको मध्य क्षेत्रमा पानीको तापक्रम केही तात्तिँदा त्यसले एल निन्यो भन्ने अवस्था सिर्जना हुने गर्छ।
एल निन्यो प्रणालीका कारण यो वर्ष मनसुनमा औसतभन्दा कम वर्षा हुने आकलन भए पनि प्रारम्भिक विश्लेषणहरूमा करिब औसतसरह नै वर्षा भएको जल तथा मौसम विज्ञान विभागको पछिल्ला विवरणहरूले देखाएका छन्।
यो वर्ष मनसुन सुरु हुनुभन्दा अगाडि नै एल निन्योका कारण गर्मी बढ्ने तथा कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















