एल निन्योका बाबजुद मनसुनमा औसतसरह नै वर्षा, अब हिउँदमा कति पानी पर्ला?

मनाङ जाने बाटोको अक्टोपस झरना
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

प्रशान्त महासागरमा विकसित भएको एल निन्यो प्रणालीका कारण यो वर्ष मनसुनमा औसतभन्दा कम वर्षा हुने आकलन भए पनि प्रारम्भिक विश्लेषणहरूमा करिब औसतसरह नै वर्षा भएको जल तथा मौसम विज्ञान विभागको पछिल्ला विवरणहरूले देखाएका छन्।

यो वर्ष मनसुन सुरु हुनुभन्दा अगाडि नै एल निन्योका कारण गर्मी बढ्ने तथा कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरिएको थियो।

जुन १९ देखि सेप्टेम्बर ३० सम्म आइपुग्दा नेपालभरि औसत १,३२६ मिलिमिटर पानी परिसकेको छ। नेपालमा मनसुनभरिमा औसत १,५०० मिलिमिटर पानी पर्छ। मनसुनको अवधिमा यस परिमाणको ९० देखि ११० प्रतिशत वर्षालाई औसत मान्ने गरिएको छ।

प्रारम्भिक विश्लेषणमा अक्टोबर पहिलो सातासम्म करिब ९५ प्रतिशत वर्षा भएको देखिएको विभागका मौसमविद्‌ अशोक बखरेलले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।

यो वर्ष छ दिन ढिलो गरेर जुन १९ मा मनसुन भित्रियो। नेपालको मध्य र पूर्वी भागबाट मनसुन अझै बाहिरिन बाँकी रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

कहाँ कम र कहाँ बढी वर्षा भयो?

सूर्यास्त

मौसमविद् रोजन लामिछानेका अनुसार मधेश प्रदेशमा यो वर्ष औसतभन्दा कम वर्षा भए पनि केही ठाउँहरूमा औसतभन्दा बढी पनि वर्षा भएको छ।

"प्रारम्भिक विवरणमा मधेश प्रदेशमा कम र गण्डकी प्रदेश अनि [बागमती प्रदेशका] काठमाण्डू, सिन्धुपाल्चोकआसपासका क्षेत्रमा अलि बढी वर्षा भएजस्तो पनि देखिन्छ। तर पूर्ण विवरण आइसकेको छैन," लामिछानेले भने।

सेप्टेम्बर अन्तिमसम्मको विभागको विवरणअनुसार धनगढी, वीरेन्द्रनगर, लुम्ले, नेपालगञ्ज विमानस्थल, जनकपुर, विराटनगर, धनकुटा र धरानका वर्षामापक स्टेशनहरूमा औसतभन्दा कम वर्षा भएको देखिएको छ।

जुम्ला, जोमसोम, काठमाण्डू विमानस्थल सहितका मापन केन्द्रहरूमा औसतभन्दा बढी वर्षा भएको विभागको मनसुनी वर्षा निगरानी तथ्याङ्कमा उल्लेख छ।

असोज १७ गतेबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागसहित गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानहरूबाट मनसुन बाहिरिएको विभागले जनाएको छ। बाँकी भूभागबाट मनसुन बाहिरिन बाँकी रहेको विभागले जनाएको छ।

यसबीचमा पुनः पश्चिमी वायु र स्थानीय प्रणालीले नेपालका कैयौँ स्थानमा वर्षा गराइरहेको छ।

"पानी परेर भेल आउने सम्भावना छ। [यद्यपि] मनसुन कमजोर भइसक्यो। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव केही दिनलाई देखिन्छ। त्यसपछि तत्काललाई अर्को प्रणाली देखिएको छैन," जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल भन्छिन्।

"अझै केही दिन एकछिन ह्वार्र पानी पर्ने अनि फेरि घाम लाग्ने सम्भावना चाहिँ हुन्छ।"

यो वर्ष दशैँको समयमा मौसम कस्तो रहन्छ भन्ने धेरै चासो भए पनि त्यसको पूर्वानुमान अहिले नै गर्न पर्याप्त तथ्याङ्क जुटिनसकेको विभागका अधिकारीहरू बताउँछन्।

यो मनसुनमा किन औसत वर्षा भयो?

वर्षाले डुबानमा परेको सडक

यो वर्ष मनसुनमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान भए पनि एल निन्योको ठूलो प्रभाव नेपालसम्म नआएका कारण औसतसरह नै वर्षा भएको त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल बताउँछन्।

"अलिकति कम हुने भन्ने पूर्वानुमान वास्तविकतामा देखिएन," सिग्देल भन्छन्। "हाम्रोमा एल निन्योको प्रभाव चाहिँ परिसकेको थिएन भन्न सकिन्छ।"

उनका अनुसार जुलाईमा गरिएको अनुमानमा अगस्ट र सेप्टेम्बरसम्म एल निन्योको असर पर्न सक्ने देखिएको थियो। तर दक्षिण एशियासम्म आइपुग्न समय लागेका कारण यसले नेपालमा अगस्टमा देखाउने ठानिएको प्रभाव कम भएको उनी बताउँछन्।

"नोभेम्बरमा आएर यसको प्रभाव उत्कर्षमा पुग्दै छ। त्यसले गर्दा मनसुनमा हाम्रोमा प्रभाव त्यति देखिएन," सिग्देल भन्छन्।

नेपालका पहाडी भूभागहरूमा बन्ने गरेका स्थानीय मौसमी प्रणालीहरूका कारण पनि मनसुनमा वर्षा आकलन गरिएभन्दा बढी नै भएको उनले बताए।

उनका अनुसार भारतमा पनि एल निन्योका कारण निकै कम वर्षा हुने पूर्वानुमान गरिए पनि त्यसभन्दा केही बढी वर्षा भएको देखिएको छ।

विश्व मौसम सङ्गठनले जुनमा एल निन्यो विकसित हुन थालेको बताए पनि सेम्टेम्बरमा मात्रै यो प्रणाली पूर्ण रूपमा सक्रिय भएको घोषणा गरेको थियो। प्रशान्त महासागरको मध्य क्षेत्रमा पानीको तापक्रम केही बढ्दा त्यसले एल निन्यो भन्ने अवस्था सिर्जना हुने गर्छ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता पोखरेलका अनुसार मनसुन अन्त्य हुनुअघिनै नेपालमा पश्चिमी वायुले पनि वर्षा गराएको छ।

"मनसुनको अन्तिममा एउटा न्यूनचापीय प्रणाली आयो। त्यसले पनि वर्षा गरायो," उनी भन्छिन्।

'हिउँदे वर्षा कम हुन सक्छ'

पृष्ठभूमीमा हिमाल र अग्रभागमा होटेलहरू

मौसमविद् सिग्देल नेपालमा एल निन्योका कारण हिउँदे वर्षा कम हुन सक्ने बताउँछन्।

"पोस्टमनसुन र हिउँदे वर्षालाई त्यसले असर पार्ने देखिएको छ किनभने समुद्र सतहमा तीन डिग्री सेल्सिअसको तापक्रम बढिसकेको छ," सिग्देल भन्छन्।

विश्व मौसम सङ्गठनको प्रतिवेदन उद्धृत गर्दै संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले एल निन्यो सन् २०२६को अन्त्यतिर उत्कर्षमा पुग्दा एशिया क्षेत्रले पनि यसको ठूलो प्रभाव सामना गर्नुपर्ने उल्लेख गरेको छ।

यूएनडीपीले यसको असर कृषि र खाद्य सुरक्षामा पर्नसक्ने औँल्याएको छ।

हिउँदे वर्षा कम हुँदा नेपालमा पनि हिउँदे बालीमा असर पर्न सक्ने सहप्राध्यापक सिग्देल बताउँछन्।

"अब पोस्टमनसुनमा हुने अलिअलि पानी पनि कम हुँदा त्यसले हिउँदे र नगदे बाली तथा जलस्रोतमा त्यसको असर देखिन थाल्छ। यसको असर हिउँदभरि नै देखिने आकलन गर्न सकिन्छ," सिग्देल भन्छन्।

नेपालमा हिउँदमा ६६ मिलिमिटर पानी पर्नुलाई सरदर वर्षा मान्ने गरिएको छ। तर लगातार तीन वर्षयता नेपालमा हिउँदे वर्षा निरन्तर घटिरहेको छ। गत वर्ष हिउँदमा औसतभन्दा २० प्रतिशत कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागको प्रतिवेदनमा उल्लेख छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।