ब्रजिलको राष्ट्रपतिमा लुलाको पुनरागमन, दक्षिणपन्थी शक्तिलाई धक्का

तस्बिर स्रोत, EPA/Shutterstock
ब्रजिलका वामपन्थी नेता लुइज इन्सियो लुला दा सिल्भाले शानदार पुनरागमन गर्दै राष्ट्रपतीय चुनावमा जित हासिल गरेका छन्।
यो जितसँगै ८० वर्षीय लुला चौथो पटक राष्ट्रपति बन्ने भएका छन्।
उनले राष्ट्रपतीय चुनावको दोस्रो चरणमा दक्षिणपन्थी प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन्।
आइतवार भएको मतदानको लगभग सम्पूर्ण मतगणना सम्पन्न हुँदा ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो लोकतान्त्रिक राष्ट्र ब्रजिलमा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरे। जेलमा रहेका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले भने ४८.२४ प्रतिशत मत पाए।
लुलाको जित कैयौँ चुनावी सर्वेक्षणका अनुमानविपरीत आएको हो। अधिकांश सर्वेक्षणले फ्लाभियो बोल्सोनारोलाई झिनो अग्रता दिएका थिए। यसै महिनाको सुरुमा भएको पहिलो चरणको मतदानमा पनि ४५ वर्षीय सिनेटर फ्लाभियोले लुलालाई झन्डै दुई प्रतिशत विन्दुले पछि पारेका थिए।
लुला यसअघि सन् २००३ देखि २०१० सम्म ब्रजिलको राष्ट्रपति रहिसकेका छन्। त्यसपछि चार वर्षअघि उनी तेस्रो पटक राष्ट्रपति निर्वाचित भएका थिए।
यद्यपि, आइतवारको मतदान प्रक्रिया भने विवादमुक्त रहेन। मतदान केन्द्रहरू बन्द हुने निर्धारित समय नजिकिँदै गर्दा सर्वोच्च अदालतका एक न्यायाधीशले मतदानको समय दुई घण्टा थप्ने आदेश दिएका थिए।
लुलाको गठबन्धनले विभिन्न राज्यमा सार्वजनिक यातायातमा समस्या देखिएको भन्दै गुनासो गरेपछि यस्तो निर्णय गरिएको थियो। ब्रजिलका धेरै मतदाता मतदान केन्द्रसम्म पुग्न सार्वजनिक यातायातमा निर्भर रहने भएकाले यातायातको समस्याले मतदानमा असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको थियो।
अमेरिकालाई पनि धक्का?

तस्बिर स्रोत, Getty Images
ल्याटिन अमेरिकामा दक्षिणपन्थी दलहरूको चुनावी सफलताको क्रमलाई चुनौती दिँदै लुला पुनः निर्वाचित भएपछि यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने अमेरिकी महत्वाकाङ्क्षालाई धक्का लागेको विश्लेषण गरिएको छ।
धातु उद्योगका पूर्व कामदार लुला सन् १९८९ मा पहिलो पटक राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गरेदेखि नै ब्रजिलका प्रमुख वामपन्थी नेतामध्ये एक रहँदै आएका छन्।
उनको नयाँ कार्यकाल आउँदो ज्यानुअरी ५ देखि सुरु हुने छ। देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा अनेकौँ चुनौतीबीच उनले कार्यभार सम्हाल्नेछन्। तीमध्ये अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको असन्तुष्टि पनि एउटा प्रमुख चुनौतीका रूपमा देखिएको छ।
ट्रम्पले लुलाका प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई सोझै समर्थन गरेका थिएनन्। तर उनले कोलम्बिया र होन्डुरसमा राष्ट्रपतीय चुनाव जितेका दक्षिणपन्थी उम्मेदवारहरूलाई समर्थन गरेका थिए। यस्तो अवस्थामा, २१ करोड ३० लाख जनसङ्ख्या भएको ब्रजिलमा 'कन्जरभेटिभ' नेता सत्तामा पुगेको हेर्न अमेरिकी प्रशासनले रुचाउने ठानिएको थियो।
ह्वाइट हाउसले ल्याटिन अमेरिकालाई अमेरिकी प्रभाव क्षेत्रका रूपमा हेर्दै आएको छ। ट्रम्प प्रशासन यस क्षेत्रमा रक्षा, सुरक्षा र व्यापारलगायतका विषयमा अमेरिकी नीतिलाई समर्थन गर्ने नेताहरू सत्तामा देख्न चाहन्छ।
लुलाका प्रतिबद्धता

तस्बिर स्रोत, Getty Images
ब्रजिल तेलको विशाल भण्डार भएको देश हो जहाँ 'रेअर अर्थ मिनरल्स'को विश्वकै दोस्रो ठूलो भण्डारसमेत रहेको छ। दक्षिण अमेरिकाका ठूला देशमध्ये ब्रजिलमा मात्रै दक्षिणपन्थी नेता सत्तामा छैनन्। लुलालाई चीनप्रति मैत्रीपूर्ण दृष्टिकोण राख्ने नेताका रूपमा पनि हेरिन्छ।
फ्लाभियो बोल्सोनारोले ब्रजिललाई अमेरिकासँग अझ निकट बनाउने वाचा गरेका थिए। यसको विपरीत, लुलाले अमेरिकालाई ब्रजिलको चुनावमा हस्तक्षेप नगर्न चेतावनी दिएका थिए। उनले स्पष्ट शब्दमा भनेका थिए, "ब्रजिल कहिल्यै कसैको पिछलग्गु बन्ने छैन।"
लुलाको जितले ह्वाइट हाउसलाई निराश बनाउन सक्ने भए पनि वातावरण संरक्षणका क्षेत्रमा कार्यरत अभियानकर्मीहरूले भने यसको स्वागत गरेका छन्। फ्लाभियो बोल्सोनारो विजयी भएको भए ब्रजिलको प्रभावशाली कृषि व्यवसाय र खानी क्षेत्रको दबदबा अझ बढ्न सक्ने उनीहरूको चिन्ता थियो।
उनीहरूले जाइर बोल्सोनारो राष्ट्रपति रहेका बेला एमजन क्षेत्रमा वन विनाश र डढेलोका घटना अभूतपूर्व स्थानमा पुगेको उदाहरण दिएका थिए। उनीहरूका अनुसार, फ्लाभियो सत्तामा पुगेको भए वातावरण संरक्षणसम्बन्धी नियमहरू थप खुकुलो पारिन सक्थे।
चुनावअघि लुलाले यस प्रतिस्पर्धालाई "ब्रजिलका लागि निर्णायक मोड" को संज्ञा दिएका थिए। चुनावअघि ह्वाट्सएपमार्फत् प्रत्यक्ष प्रसारणका क्रममा उनले ब्रजिल अब पहिलेको जस्तो नरहने बताएका थिए।
उनले सबै नागरिकले समान अवसर पाउने, जनताको आवश्यकताअनुसार नीति निर्माण गरिने र न्यायपूर्ण देश निर्माणका लागि आफ्नो सङ्घर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
तर संसद्मा व्यापक विरोधको सामना गरिरहेका लुलाका लागि यी लक्ष्य हासिल गर्न अघिल्ला तीन कार्यकालको तुलनामा निकै कठिन हुन सक्ने ठानिएको छ।
आफ्नो चौथो कार्यकालको अन्त्यसम्ममा उनी ८५ वर्षका हुने छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
























