अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्षमा अस्त्र तैनाथ गरिएको पुष्टि

Published
पढ्ने समय: ३ मिनेट

अमेरिकाले पृथ्वीको कक्षमा आफूले 'अन्तरिक्ष अस्त्र' पठाएको गरेको पुष्टि गरेको छ। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलो पटक स्वीकार गरेको हो।

अमेरिकी एअर फोर्सका वरिष्ठ अधिकारी ट्रूई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्।

'एअर, स्पेस एन्ड साइबर कन्फरेन्स'मा सोमवार सम्बोधन गर्दै मिङ्कले अमेरिका "बढ्दै गएका खतराहरू"सँग जुध्न तयार रहेको बताए। तर उनले उक्त अस्त्रको क्षमता वा त्यसलाई कहिले कक्षमा राखिएको थियो भन्नेबारे विस्तृत जानकारी दिएनन्।

चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने आफ्नो योजना भएको बताएका थिए।

ट्रम्प प्रशासनले क्षेप्यास्त्र र आकाशमार्गबाट हुन सक्ने अन्य खतराहरूबाट अमेरिकाको रक्षा गर्न प्रस्तावित "गोल्डन डोम" प्रतिरक्षा प्रणालीका लागि अन्तरिक्षमा आधारित क्षमता र 'इन्टरसेप्टर' क्षेप्यास्त्रहरू महत्त्वपूर्ण रहेको बताउँदै आएको छ।

यूएस स्पेस फोर्सले के गर्छ

सन् १९६७ को सन्धिले पृथ्वीको कक्षमा आमविनाशका हतियारहरू राख्न प्रतिबन्ध लगाएको थियो।

त्यसयता अमेरिका, रुस र चीनसहितका प्रमुख शक्तिहरूले उक्त सन्धिको दायराभित्र नपर्ने क्षमता पत्ता लगाउन खोज्दै आएका छन्। त्यसमा सैन्य सञ्चार, निगरानी र न्याभिगेशनका लागि महत्त्वपूर्ण मानिने प्रतिद्वन्द्वी पक्षका स्याटलाइटहरूलाई निसाना बनाउनु पनि पर्छ।

गत वर्ष राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा कार्यकारी आदेश जारी गर्दै 'यूएस स्पेस फोर्स'को भूमिका सम्पत्तिको रक्षा गर्न मात्र नभई आक्रमण गर्ने फौजका रूपमा पनि रहने कुरामा जोड दिएका थिए।

सञ्चार र निगरानीका लागि प्रयोग हुने सयौँ स्याटलाइटसहित अन्तरिक्षमा रहेका अमेरिकी सम्पत्तिको रक्षा गर्ने उद्देश्यले सन् २०१९ मा यूएस स्पेस फोर्स स्थापित भएको हो। अमेरिकी सेनाको इतिहासमा उक्त फौज ७० वर्षभन्दा बढी समयपछि स्थापित सबैभन्दा नयाँ अङ्ग हो।

यूएस स्पेस फोर्सका एक प्रवक्ताले भने, "अन्तरिक्ष नियन्त्रणमा अन्तरिक्षमा प्रतिस्पर्धा गर्न र नियन्त्रण कायम राख्न आवश्यक कार्यक्षेत्रहरू पर्छन्। त्यसअन्तर्गत आवश्यक परेमा अवरोध, ह्रास वा विनाशका माध्यमबाट शत्रुको क्षमतालाई असर पार्न काइनेटिक (भौतिक) र नन-काइनेटिक (अभौतिक) साधनहरूको प्रयोग गरिन्छ।"

"यी क्षमताहरूलाई 'कम्ब्याटन्ट कमान्ड'को निर्देशनमा आक्रामक र रक्षात्मक दुवै उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ।"

रुस र चीनसँग डर किन

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता कम्तीमा एक दर्जन युरोपेली स्याटलाइटहरूको सञ्चारलाई दुइटा रुसी स्याटलाइटले निगरानी गरेको वा नियन्त्रणमा लिएको कुरा गत फेब्रुअरीमा सार्वजनिक भएको थियो।

त्यस्ता निगरानी वा नियन्त्रणका कारण रुसी गुप्तचर निकायहरूले ती स्याटलाइटले पठाउने संवेदनशील तथ्याङ्कहरू हात पारेका हुन सक्छन्। अर्को पक्षका स्याटलाइटहरू नियन्त्रणमा लिन पनि सम्भव हुन सक्ने ठानिन्छ।

त्यस्ता अन्य स्याटलाइटहरूमाथि आक्रमण गर्न सक्ने क्षमता भएको ठानिएको एउटा स्याटलाइट रुसले प्रक्षेपण गरेको सन् २०२४ मा अमेरिकाले दाबी गरेको थियो। यद्यपि रुसले त्यस विषयमा सार्वजनिक टिप्पणी गरेन।

यूएस स्पेस फोर्सका अनुसार चीनले "सैन्य आधुनिकीकरण रणनीतिको अङ्गका रूपमा अन्तरिक्ष क्षमता र प्रतिकार गर्ने क्षमता विकास र सञ्चालन गर्छ" भने रूसले "अन्तरिक्षलाई युद्धभूमिको रूपमा हेर्छ अनि अन्तरिक्षमा सर्वोच्चता हासिल गर्नु भविष्यका द्वन्द्वमा निर्णायक कारक हुने ठान्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।