ब्याङ्ककमा बाढीका कारण सडक जलमग्न, आपत्काल घोषणा

थाइल्यान्डमा जलमग्न सडकमा स्कूटर डोर्‍याइरहेका दुई पुरुष।
तस्बिरको क्याप्शन, थाईल्यान्डको राजधानीका नगरका बाँधहरू भत्किएका छन्, जसले गर्दा सडक डुबानमा परेको छ
    • Author, सीन सेडन
  • Published
  • पढ्ने समय: २ मिनेट

ब्याङ्कमा ४८ घण्टाको भारी वर्षाले सडकलाई जलमग्न बनाएपछि थाईल्यान्डको राजधानी शहरमा आपत्काल घोषणा गरिएको छ।

मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ भने शहरमा पर्ने नहरहरूनजिकै बसिरहेका मानिसहरूलाई आफ्ना सामानहरू घरको माथिल्लो तल्लामा सार्न भनिएको छ।

वर्षको यो समयमा थाईल्यान्डमा मेघ गर्जन सामान्य हो। तर हालैका दिनको चरम मौसमले ब्याङ्ककको ढल निकासले सडकलाई अस्तव्यस्त पारिदिएको छ।

सामान्य अवस्थामा समेत ब्याङ्ककमा साँघुरो सडकका कारण सवारीसाधन अस्तव्यस्त हुने गर्छ।

पानी आइतवार पनि परिरहने पूर्वानुमान छ, जसले थप नहरहरूका बाँध भत्काउन सक्ने चिन्ता व्यक्त भइरहेका छन्।

५० जिल्लालाई सङ्कटग्रस्त क्षेत्र

बाढी प्रभावित साँघुरा गल्लीमा छाता ओढेर हिँडिरहेका मानिसहरूको समूह

मध्य ब्याङ्ककमा बस्ने एक ६७ वर्षीया वृद्धाले एएफपी समाचार संस्थासँग भनिन्, "पानी परेकोपर्यै छ। त्यही भएर बाहिर निस्कन गाह्रो छ। मेरो कम्मरसम्म पानी छ।"

उनले शहरमा डुबानको तह सन् २०११ भन्दा खराब रहेको बताइन्। त्यस बेला देशभरि आएको बाढीको असर ब्याङ्ककमा पनि देखिएको थियो।

तीन महिनासम्मको खराब मौसमी गतिविधिले त्यस बेला थाइल्यान्डभरि सयौँको ज्यान लिएको थियो। अहिलेसम्म पछिल्लो बाढीबाट मानवीय क्षतिको कुनै पनि विवरण आएको छैन।

थाईल्यान्डको मौसमसम्बन्धी निकायले थप भारी वर्षाको चेतावनी दिएको छ। यद्यपि पछिल्ला केही दिनयता लगातार वर्षा गराइरहेको न्यूनचापीय प्रणाली भने देशको मध्य भागतर्फ सर्ने अपेक्षा गरिएको छ।

ब्याङ्कका सबै ५० जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ। ब्याङ्कका गभर्नर चाडचार्ट सीटीपानले शहरको पूर्वी भाग नराम्रोसँग प्रभावित भएको बताए।

उनले भने, "पानी परिरहेको छ र हामीले सक्ने गरिरहेका छौँ। हामीले पानीलाई तानेर बाहिर फ्याल्ने प्रयास गरिरहेका छौँ तर नहर पानीले भरिसकिएको छ। नहर नजिकै बस्नेहरू जोखिममा छन्। सबै नहरहरू जलमग्न छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।