विपद्को जोखिमबीच रसुवा-नुवाकोट क्षेत्रले कसरी श्रमिकलाई तान्दै आएको थियो, अब के होला

हेलिकोप्टरबाट लिइएको केरुङ नाकाको तस्बीर।
    • Author, फणिन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ६ मिनेट

रसुवाको स्याफ्रूबेँशीमा सडक मजदुरका रूपमा पाँच वर्षदेखि काम गरिरहेका जाजरकोटका हिर्दबहादुर पुनले 'ठूलो कालबाट जोगिएको' महसुस गरिरहेका छन्।

गत भदौ १० गते विनाशकारी बाढी आउनु केही क्षणअघि मात्रै उनी पाँच जना साथीहरूसहित मोबाइल चार्ज गर्न आफ्नो क्याम्पतर्फ उनी गएका थिए।

बीबीसीसँग उनले भने,"क्याम्पबाहिर मात्रै के पुगेका थियौँ, बम पड्केको जस्तो ठूलो गड्याङ्डगुडुङको आवाज आयो। यताउति केही नसोची सीधै उकालो चढियो। क्याम्प एकै पटक सोरसार पारेर लग्यो।"

आफू काम गर्ने ठाउँ वरपर झन्डै ७५ जना कामदार रहेको बताएका उनले अगाडि थपे, "२० पाइला जति माथि नगएर हामी १४-१५ पाइला मात्रै उक्लेको भए बाढीले हामीलाई पनि बगाउने थियो। हामी छ जनाबाहेक कोही पनि बाँचेनन्।"

उक्त विनाशकारी बाढीले जलस्रोत, पर्यटन, सडक सञ्जालसहित विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। त्यहाँ बाढी प्रभावितहरूले आफन्त र आवासबाहेक रोजगारी र जीविकोपार्जनका अवसरहरू समेत गुमाएका छन्।

रोजगारीको एउटा ठूलो हब

नेपाल-चीन सीमा व्यापार, पर्यटन, जलविद्युत् परियोजना, सडक सञ्जालको निर्माणसहितका कारणले उक्त क्षेत्रलाई एउटा प्रमुख रोजगारीको हबका रूपमा लिइँदै आइएको थियो।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरी कार्कीले दशौँ हजार मानिसहरू उक्त नाकामा हुने रोजगारीमा लागि निर्भर रहेको बीबीसीलाई बताए।

उनी भन्छन्, "एउटा काम गराउने मानिसको ८/१० जना कामदार हुन्छ। रोजगारीकै कुरा गर्दा ५/७ हजार मानिसहरूले प्रत्यक्ष रूपमा काम गरिरहेका थिए।"

रसुवाको केरुङस्थित नाकाबाट एउटा रातो ट्रकमा सामानहरू

सो विपद्‌बाट सबैभन्दा बढी जनधनको क्षति भएको रसुवा र नुवाकोट जिल्लामा १२ वटा जलविद्युत्‌ परियोजना र एउटा सौर्य ऊर्जा परियोजनामा क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

तीमध्ये कैयौँ परियोजना सञ्चालनमा थिए भने कैयौँ निर्माणाधीन अवस्थामा थिए, जसमा विदेशी र नेपाल अनि भारतका श्रमिकहरू समेत कार्यरत थिए।

जलविद्युत्‌ क्षेत्रका कैयौँ श्रमिकहरू आयोजनाका टनेल र पावर हाउसहरूमा फसेको हुनसक्ने भन्दै अधिकारीहरूले खोजी कार्यलाई उक्त विपत्तिको हप्तौँपछि पनि निरन्तरता दिएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का पूर्वअध्यक्ष गणेश कार्कीभन्छन्, "त्यहाँ अति दक्ष नेपाली र विदेशी मानिसहरूले काम गरिरहेका थिए। अहिलेसम्म हेर्दा त्यो जनशक्ति गुमाउनुपर्‍यो कि जस्तो देखिन्छ। त्यो हाम्रो लागि ठूलो क्षति हो। त्यसको भरपाई हुन सक्दैन।"

विपद्ले पछ्याइरहने स्थान

जलविद्युत्‌ आयोजनाको सुरुङमा उद्धार कार्यमा खटिएका एक जना सैनिक।

रसुवागढी र आसपासका क्षेत्रका लागि ठूलो प्राकृतिक विपद् नौलो होइन। पोहोर साल हिमताल विस्फोटपछि नेपाल-चीन सीमामा अवस्थित लेन्दे खोलामा आएको बाढीमा १८ जनाको ज्यान गएको थियो भने ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो।

त्यसअघि सन् २०१५ मा नेपालमा गएको शक्तिशाली भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक थियो, जसले नेपाल-चीन व्यापारको मूल केन्द्र रहेको कोदारी नाका र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।

उक्त भूकम्पमा उत्तरका कैयौँ जिल्ला र राजधानी काठमाण्डू आसपासका क्षेत्रमा गरेर नौ हजार जनाभन्दा बढी मारिएका थिए।

सन् २०१५ को भूकम्पपछि नेपाल-चीन व्यापार बिस्तारै रसुवागढीतर्फ केन्द्रित भएको थियो। नेपाललाई तिब्बतसँग जोड्ने उक्त प्रमुख व्यापारिक नाकाहुँदै दैनिक सयौँको सङ्ख्यामा मालवाहक कन्टेनरहरू ओहोरदोहर गर्थे, जसमध्ये करिब २०० मालवाहक कन्टेनर बगाएको व्यवसायीहरूले बताएका थिए।

श्रमविज्ञ मिना पौडेलले सजिलो र नजिकका श्रमबजार सङ्कुचित भएकाले रोजगारीको अवसर उपलब्ध भएका रसुवा र आसपासका स्थानलाई मानिसहरूलाई विकल्पका रूपमा सहजै स्वीकार गरेको बताइन्।

उनी भन्छिन्, "नेपालमा राजनीतिलाई व्यवस्थित गर्ने नाममा श्रम बजारलाई वास्ता भएन। त्यसले गर्दा नजिककै श्रम बजार साँघुरो भइसकेपछि मानिसले जहाँ पाउँछ त्यहाँ खोज्ने हो। चाहे त्यो (रोजगारी) सजिलो होस् कि अप्ठेरो होस्। त्यो करिडोरमा ठूलाठूला राष्ट्रिय महत्त्वका जलविद्युत्‌ आयोजनाहरू थिए, जसले देशैभरका मानिसलाई रोजगारी दिएको देखियो।"

त्यसबाहेक नेपाल-चीन आयातनिर्यात अनि देशको राजधानी नजिकैको कृषि उत्पादन हुने क्षेत्र भएका कारण पनि त्यहाँको श्रम बजार मजबुत बनेको उनले सुनाइन्।

उनले थपिन्, "तर त्यो तङ्ग्रिएर फेरि एक महिनाअघिको जस्तो श्रम बजार हुने सम्भावना म अर्को केही दशक देख्दिनँ। ती आफन्त गुमाएका, श्रमिक गुमाएकाहरूको आत्मविश्वास बढ्न एकदम गाह्रो छ। तपाईँ हामीले अब यस्ता ठाउँ भएका जलविद्युत्‌ परियोजनामा गएर काम गर भनेर आफ्ना आफन्तहरूलाई भन्न सक्छौँ कि सक्दैनौँ? त्यस क्षेत्रबाहेक अन्यत्रका श्रमिकहरू आउँछन् भन्नेमा मलाई शङ्का छ।"

श्रमबजार पुरानै अवस्थामा फर्कनसक्छ?

स्वतन्त्र ऊर्जा उत्पादक (इप्पान)का पूर्वअध्यक्ष गणेश कार्की पछिल्लो विपद् 'सामान्य बाढी' नभएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता विपत्तिको सामना गर्नुपरेको खण्डमा अझ धेरै जोखिम हुने बताउँछन्।

उनले भने, "यो हजारौँ वर्षमा एकचोटि हुने खालको हो। तर नयाँ परियोजनाहरू निर्माण गर्दा सुरक्षाको कुराहरू हामीले पनि सोच्नुपर्ने भयो। निश्चित 'रेड जोन' यो हो है भनेर हामीले तोक्नुपर्छ कि? बाढीका कारण भएको आर्थिक क्षति पुन: फिर्ता पाउनसकिन्छ, तर जुन स्तरको प्राविधिक जनशक्ति हामीले गुमायौँ, त्यसले धेरै पछाडि धकेल्यो।"

भीषण बाढीका कारण रसुवासँग जोड्ने राजमार्गमा नै ठूलो क्षति पुगेको छ

तर व्यवसायीहरूले 'पहाडै फोडेर' आउने ठूलो स्तरको दैवी प्रकोपको कल्पना गर्न नसकिने भन्दै सरकारले नेपाल-चीन व्यापार नाका पुनर्स्थापित गर्न पहल गर्नुपर्ने बताइरहेका छन्।

नेपाल चीन सीमा पार वाणिज्य सङ्घका अध्यक्ष रामहरी कार्की राज्यले नेपाल चीन सीमा नाकामा यातायात आवागमन सहज बनाइदिए श्रम र व्यवसाय पुरानै अवस्थामा फर्कने बताउँछन्।

उनले भने, "हाम्रो र उनीहरूको (चीनको) भूगोल एउटै खालको हो। उनीहरूले बाह्रै महिना चल्न सक्ने नाकाहरू बनाउनसक्ने तर हामीले २०औँ वर्षसम्म एउटा बाटो जस्ताको तस्तै राख्ने स्तरोन्नति नगर्ने भएपछि बिग्रिएको हो। अहिले पनि हामीले सक्ने भए आफैँले नत्रभने चीनको सहयोग लिएर बाटो बनाउनुपर्छ। विकल्पमा दोलखाको लामा बगर हुनसक्छ भन्ने कुरा आएको छ। त्यहाँ ३ किलोमिटर सडक निर्माण सम्पन्न गरेर अर्को नाका पनि थप्न सकिन्छ।"

भन्सार विभागको एउटा तथ्याङ्कले अघिल्लो आर्थिक वर्षमा रसुवा नाका हुँदै ४५ अर्ब रुपैयाँभन्दा बढीको सामान नेपाल भित्रिएको देखाएको थियो।

दुर्गम भूभाग र विपद्को जोखिमले नेपाल र चीनबीचका व्यापारिक मार्गलाई थप संवेदनशील बनाएको छ

बाढीका कारण उक्त अघिल्लो वर्ष ६ महिना जति ठप्प रहेको उक्त नाकालाई यस वर्ष बाढी आउनुअघि नै ७ अर्ब रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको भन्सार विभागले जनाएको छ।

चीनले पनि दुई देशीय व्यापारका लागि महत्त्व दिएको रसुवासहित बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सरकारलाई ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने अधिकारीहरूले बताएका छन्। तर त्यसमध्ये कति स्रोतको जोहो हुन्छ भन्ने अझै प्रस्ट छैन।

जाजरकोटका हिर्दबहादुर पुन अब फेरि रसुवामा रोजगारीका लागि नफर्कने मनस्थितिमा छन्। उनले भने, " यदि मोबाइल चार्ज गर्न गइदिन्थ्यो भने बाँचिदैन्थ्यो। अब गाउँघरतिर केही गरेर जीविका चलाउनुपर्ला। "

"तर ठूलो कालबाट जोगिएर आएको हुनाले आगामी दिनमा के गर्ने भन्ने केही पनि सोच्न सकिएको छैन । दिमागले पनि राम्रोसँग काम गरेको लाग्दैन।"

"खाली हात गाउँ फर्किएको छु, अब के गरेर गुजारा चलाउने अझै थाहा छैन्," उनले थपे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।