राष्ट्रिय प्रसारणमा १,४०० मेगावाट बिजुली कम हुँदा लोडशेडिङको जोखिम छ?

त्रिशूली जदविद्युत् आयोजनाको डुबानमा परेको विद्युत् गृह
Published
पढ्ने समय: ४ मिनेट

भदौ १० गतेको बाढीले भोटेकोशी त्रिशूली करिडरमा सञ्चालनमा रहेका आयोजनाहरूमा पुर्‍याएको क्षतिका कारण ४३१ मेगावाट बिजुली राष्ट्रिय प्रसारणबाट टुटेको एक महिनामै मात्रै भएको छ।

शुक्रवारबाट आइतवारसम्म लगातारको वर्षाले थप १,००० मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा आउन नसक्ने अवस्था भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। दुवै बाढीका कारण १,४०० मेगावाट भन्दा धेरै बिजुली आइतवार केन्द्रीय प्रसारणमा आएन।

आइतवारको बाढीले दाना-कुश्मा खण्डको २२०केभी प्रसारण लाइनका दुई वटा टावरमा क्षति पुर्‍याएपछि कालिगण्डकी करिडरमा उत्पादित ३७० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणबाट टुटेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए।

"कालिगण्डकी करिडरमा प्रसारण लाइन र टावरमै क्षति भएको र मर्स्याङ्दी करिडरका पनि आयोजनाहरू बन्द गरिएका कारण अहिले हजार मेगावाट जस्तो बिजुली आउट भएको छ," ढकालले भने।

निजी ऊर्जा उत्पादकहरूको संस्था ईप्पानका अध्यक्ष मोहन डाँगीले कालिगण्डकीको प्रसारण लाइनमा क्षति पुग्दा ७ वटाभन्दा बढी आयोजनाको उत्पादन रोक्नु पर्ने अवस्था आएको छ।

"प्रसारण लाइनका टावरहरू बनेपछि त्यस क्षेत्रका अधिकांश आयोजनाको उत्पादन फेरि राष्ट्रिय प्रसारणमा जोड्न सकिने अवस्थामै छन्," डाँगीले भने।

त्यस बाहेक सुरक्षा जोखिमलाई ध्यान राखेर बन्द गरिएका आयोजनाहरू पनि बाढी कम भएपछि पुन सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार कालिगण्डकी करिडरका टावरहरूको मर्मतका लागि ८-१० दिनसम्म लाग्न सक्ने ठानिएको छ। उक्त प्रसारण लाइनबाट जोडिएका बाहेकका आयोजनाहरूबाट भने बाढी कम भएपछि पुन: विद्युत् उत्पादन गर्न सकिने प्राधिकरणको आकलन छ।

राहुघाटको
तस्बिरको क्याप्शन, राहुघाट आयोजनाले मङ्गलवारबाट मात्रै परीक्षण उत्पादन सुरु गरेको थियो

बाढीले हालैबाट सञ्चालनमा आएको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनामा पनि क्षति पुगेको प्राधिकरणका प्रवक्ता ढकालले जानकारी दिए। प्राधिकरणकै सहायक कम्पनी रहेको राहुघाटको स्वीच यार्डमा क्षति पुगेको विवरण आएका छन्।

यसअघि भदौ १० को बाढीपछि २५ मेगावाटको सोलार आयोजनासहित ४३१ मेगावाट उत्पादन बन्द छ।

बाढीले सञ्चालनमा रहेका रसुवागढी, सालासुङ्गी सञ्जेन, माथिल्लो साञ्जेन, साञ्जेन, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली ३ ए, माथिल्लो मैलुङ, मैलुङ, त्रिशुली र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो।

जसमध्ये साञ्जेन खोलामा बनेका आयोजनाहरूको प्रसारण लाइनमा मात्रै क्षति पुगेका कारण त्यस्ता आयोजनाबाट उत्पादित १५५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

ईप्पानका अध्यक्ष डाँगी पनि आफूहरूले प्रसारण लाइन मर्मतमा प्राधिकरणलाई सघाइरहेको बताउँछन्।

"जतिसक्दो छिटो प्रसारणलाइन पुनर्स्थापनामा गरौँ भनेर काम भइरहेको छ। हामी पनि त्यसमा संलग्न छौँ," डाँगीले भने।

चाडबाडमा लोडशेडिङको जोखिम छ?

डुबानमा परेको सबस्टेशन

आइतवार ठूलो परिमाणको बिजुली राष्ट्रिय प्रसारणमा आउनमा रोकिनु अघिसम्म प्राधिकरण र निजी क्षेत्रका आयोजनाहरूबाट समेत गरी करिब ३९०० मेगावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता थियो।

भोटेकोशी त्रिशूली बाढी अघिसम्म प्राधिकरणसँग करिब ४३०० मेगावाट बिजुलीको जडित क्षमता थियो। तर नेपालमा २,५०० मेगावाटसम्म मात्रै माग रहेका कारण प्राधिकरणले थप १,२०० मेगावाट भारत तथा बाङ्ग्लादेशमा निर्यात गरिरहेको थियो।

निर्यातको कोटा र नेपालमा पनि पर्याप्त माग नहुँदा यो बर्खामा बिजुली खेर जाने अवस्था आएको यसअघि निजी जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूले बीबीसीसँग बताएका थिए। तर भोटेकोशी त्रिशूली बाढीले कम्तीमा १२ वटा आयोजनामा क्षति पुर्‍याएपछि अवस्था फेरियो। यद्यपि भोटेकोशी त्रिशूली बाढी पछिसम्म पनि आफूहरूले भारतमा बिजुली निर्यात गरिरहेको प्राधिकरणका प्रवक्ता ढकालले जानकारी दिए।

त्रिशूली नदीको जलाधार क्षेत्रमा ठूलो क्षति बेहोरेका आयोजनाहरू बन्न समय लाग्ने भए पनि अहिले अस्थायी रूपमा बन्द गरिएका र प्रसारण लाइनमा मात्रै क्षति पुगेका आयोजनाहरूबाट दशैँ अघि नै बिजुली उत्पादन सुरु हुने प्राधिकरणका प्रवक्ता ढकाल बताउँछन्।

"पहिलेजस्तो दशैँ तिहारमा अहिले माग बढ्दैन। बरु घट्छ त्यस कारण चाडबाडका बेला लोडशेडिङ हुने हो कि भन्ने अवस्था अहिलेसम्म छैन। हिजोसम्म त हामीले बिजुली बेचिरहेकै थियौँ नि," ढकालले आइतवार भने।

ईप्पानका अध्यक्ष डाँगी पनि खोलाहरूमा पानीको सतह बढेका कारण तत्कालै समस्या आइहाल्ने ठान्दैनन्।

नेपालमा बर्खामा उत्पादन हुने गरेको बिजुलीको एक तिहाइ मात्रै हिउँद याममा उत्पादन हुने गरेको छ। त्यसबेला नेपालले भारतबाट बिजुली आयात गरेर अपुग बिजुलीको पूर्ति गर्ने गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।