ट्रम्पले किन इरानसँग 'हतारमा सम्झौता नगर्न' निर्देशन दिए

ट्रम्प

तस्बिर स्रोत, AFP via Getty Images

    • Author, टम बेनेट
    • Role, वासिङ्टन डिसी
  • Published
  • पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले वार्ताकारहरूलाई इरानसँग 'हतारमा सम्झौता नगर्न' निर्देशन दिएको जनाएका छन्।

यसअघि उनले सम्झौता निकै नजिक पुगिसकेको बताएका थिए।

छलफलमा रहेको सम्झौताको प्रस्तावमा ६० दिने युद्धविराम विस्तार, स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता योजना समावेश रहेको बताइएको छ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले वार्ता "रचनात्मक" रूपमा अघि बढिरहेको जनाएका छन्, तर उनका भनाइमा "दुवै पक्षले आफूलाई आवश्यक समय लिनुपर्छ र त्यो सही होस् भन्ने निश्चित गर्नुपर्छ।"

ट्रम्पले सम्झौतामा 'धेरै हदसम्म सहमति भइसकेको' शनिवार बताएका थिए। जसले गर्दा त्यसको घोषणा तत्कालै हुनसक्ने अनुमान गरिएको थियो।

समझदारीले निम्त्याएको विभाजन

विदेशमन्त्री

तस्बिर स्रोत, Reuters

इरानी अधिकारीहरूले पनि सप्ताहान्तमा वार्तामा प्रगति भएको सङ्केत दिएका थिए।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सम्झौतामा पुग्न दुई पक्ष "धेरै नजिक र धेरै टाढा" दुवै अवस्थामा रहेको बताएका थिए।

अमेरिकी सञ्चार माध्यमका अनुसार प्रस्तावित सम्झौता अन्तिम होइन र यसमा केही पेचिला मुद्दाहरूबारे पछि हल खोज्ने गरी छाडिएको छ।

जसमा फ्रिज गरिएको इरानी कोष खुला गर्नुपर्ने र प्रतिबन्धबाट राहत पाउनुपर्ने इरानको माग तथा इरानको परमाणु कार्यक्रम लक्ष्यमा नियन्त्रण गर्ने अमेरिकाको सर्त पर्छन्।

नजिक पुगेको भनिएको सम्झौताले रिपब्लिकनहरूलाई विभाजित गरिदिएको छ, केहीले त्यो मूल रूपमा इरानतर्फ ढल्किएको तर्क सार्वजनिक रूपमै गरेका छन्।

सिनेटर टेड क्रुजले यो "एक विनाशकारी भूल" हुने बताएका छन्। सिनेटको सशस्त्र सेवासम्बन्धी समितिको नेतृत्व गर्ने रोजर विकरले भने ६० दिनको युद्धविरामको अर्थ "अपरेसन एपिक फ्यूरीबाट प्राप्त सबै व्यर्थ हुने छ!"

विश्वलाई आश्वस्त पार्न तयार

तेल

तस्बिर स्रोत, Saqib Majeed / SOPA Images / LightRocket via Getty Images

तर हाउस फरेन अफेअर्स कमिटीका सदस्य माइक ललरले ट्रम्प प्रशासन "यस शासनका अवशेषहरूलाई वार्ता, वास्तविक वार्ताको निम्ति बाध्य पार्न" सफल भएको टिप्पणी गरेका छन्।

अमेरिका र इजरेलले २८ फेब्रुअरीमा इरानमाथि व्यापक आक्रमण गरेपछि मध्यपूर्वभरि द्वन्द्व चर्किएको थियो।

इरानले बदलामा खाडीमा इजरेल र अमेरिकाका सहयोगी देशहरूमा आक्रमण गरेको थियो।

उसले विश्वको लगभग २० प्रतिशत तेल र प्राकृतिक ग्याँस निकासी हुने जलमार्ग स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द गरिदियो।

जसले गर्दा विश्वव्यापी रूपमा तेलको मूल्य बढेको छ।

ट्रुथ सोसलमा आइतवारको पोस्टमा ट्रम्पले इरानले परमाणु हतियार विकास गर्न नसक्ने कुरा 'बुझ्नै पर्छ' भनेका छन्।

तेहरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको बारम्बार दोहर्‍याउने गरेको छ।

इरानका राष्ट्रपति मसुद पेजश्किआनले इरान परमाणु हतियारको पछि नलागेको विश्वलाई विश्वस्त तुल्याउन तयार रहेको सरकारी टेलिभिजनलाई बताएका छन्।

सहमति निकट?

वार्ताको आशा

तस्बिर स्रोत, AFP via Getty Images

भारतको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबीओले "केही महत्त्वपूर्ण भएको तर त्यो अन्तिम नभएको" बताएका थिए।

उनले ४८ घण्टाभित्र हुने प्रगतिले "स्ट्रेट… बिना रहित रूपमा पूर्ण रूपमा खुला हुने" सङ्केत दिएका थिए।

इरानी विदेशमन्त्री बाघेईले सरकारी टेलिभिजनलाई इरानले "अन्तिम सम्झौता"को निम्ति थप वार्ता गर्न अनुमति दिने समझदारी पत्र" लाई निर्णायक रूप दिने प्रक्रियामा रहेको शनिवार बताएका थिए।

ट्रम्पले पनि शनिवार ट्रुथ सोसल पोस्टमा सम्झौतालाई "समझदारीको ज्ञापन पत्र" को संज्ञा दिएका थिए।

वार्ताको निम्ति मध्यस्थता गरिरहेका पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले हालैका वार्तालाई "आशावादी अवस्था" भन्दै सकारात्मक परिणाम "सहमति निकट" रहेको बताएका छन्।

जरोस्लाफ लुकिफका साथमा।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।