अमेरिका र इरानबीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पको भनाई, भारतमा रुबिओले यसो भने

भारतमा पत्रकार सम्मेलनमा बोल्दै मार्को रुबिओ।

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: ३ मिनेट

संयुक्त राज्य अमेरिका र इरानबीच जारी युद्धविराम लम्ब्याउने सम्झौताको खाकाबारे विवरणहरू बाहिर आउन थालिरहँदा इरानले होर्मुज जलमार्ग 'युद्ध अघिको पूर्ववत् अवस्था'मा नफर्कने बताएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौतामा लगभग सहमति भएको जानकारी दिएका छन्।

इरानी सञ्चारमाध्यमहरूले उक्त सम्झौताले सबै मोर्चामा युद्ध अन्त्य गर्ने र तेहरानले परमाणु अस्त्र कार्यक्रम अघि नबढाउने प्रतिबद्धता समेटेको जनाएका छन्।

सम्झौता अन्तर्गत स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा आउने भनिएको छ।

समाचार वेबसाइट एक्सिओसले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै ट्रम्प प्रशासनले इरानलाई तेल खुला रूपमा बिक्री गर्न "प्रतिबन्धमा केही छुट दिने" उल्लेख गरेको छ।

ती अधिकारीकाले इरानको परमाणु कार्यक्रमलाई नियन्त्रण गर्न थप वार्ता हुने पनि उल्लेख गरेका छन्।

कसले के भनिरहेका छन्?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज जलमार्गको पुनः सञ्चालनसहितका विषय समेटिएको इरानसँगको सम्झौतालाई लगभग अन्तिम रूप दिइएको बताएका छन्।

उनले विस्तृत विवरण दिएका छैनन् तर "सम्झौताका अन्तिम पक्ष र विवरणहरू अहिले छलफलमा रहेको तथा चाँडै घोषणा गरिने" छन्।

सम्झौताले इरानलाई परमाणु अस्त्र हासिल गर्न नदिने पनि उनले उल्लेख गरे।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिका र इरानका धारणाहरू पछिल्लो हप्तामा समान बिन्दुमा आइरहेको उल्लेख गर्दै त्यसको अर्थ प्रमुख सवालहरूमा सहमति हुने भन्न नमिल्ने जनाए।

उनले 'परस्पर विरोधी' धारणा राखेको भन्दै अमेरिकाको आलोचना गरेका छन्।

इरानको विदेश मन्त्रालयका प्रवक्ता।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिका र इरानका धारणाहरू पछिल्लो हप्तामा समान बिन्दुमा आइरहेको बताए

इरानको अर्ध सरकारी सञ्चार माध्यम तस्नीमले सम्झौता अन्तर्गत होर्मुज जलमार्ग 'युद्ध पूर्वको उसको अवस्थामा तत्काल नफर्कने' उल्लेख गरेको छ। युद्धअघिकै तहमा उक्त जलमार्गको सञ्चालन तीस दिनभित्र हुने उक्त समाचार संस्थाले जनाएको छ।

इरानका विदेशमन्त्री इस्क दारले 'सकारात्मक र दिगो समाधान नजिकै रहेको' टिप्पणी गरेका छन्। उनले राष्ट्रपति ट्रम्प र पाकिस्तान, साउदी अरेबिया, टर्की, कतार, इजिप्ट, यूएई र जोर्डनका प्रतिनिधिबीचको फोन कुराकानीलाई 'क्षेत्रीय शान्तिको दिशामा महत्त्वपूर्ण कदम' भनेका छन्।

अमेरिकी विदेश मन्त्रीले के भने?

अमेरिकी विदेश मन्त्री मार्को रुबिओ र भारतका विदेशमन्त्री एस जयशङ्कर नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा।

तस्बिर स्रोत, Getty Images

यसैबीच भारतको भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबीओले 'आज अबरेसम्ममा केही समाचार आउन सक्ने' भन्दै त्यसबारे थप घोषणा राष्ट्रपतिले गर्ने सङ्केत गरेका छन्।

उनले भने, "केही प्रगति भएको छ- महत्त्वपूर्ण प्रगति, यद्यपि त्यो अन्तिम प्रगति होइन।"

रुबिओले अमेरिकाको लक्ष्य "एकदमै स्पष्ट रहेको" उल्लेख गर्दै त्यसमा इरानको जल सेना, बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्ने उसको सामर्थ्य र उसको रक्षा उद्योगको क्षमता नष्ट गर्ने उद्देश्य पूरा भएको बताए।

"त्यो एपिक फ्युरीको उद्देश्य थियो, ती उद्देश्य पुरा भइसकेका छन्।"

उनले इरानले कहिले पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने भन्दै राष्ट्रपति ट्रम्प त्यसमा सदैव प्रस्ट रहेको जनाए।

होर्मुज जलमार्ग विश्वको प्रमुख औद्योगिक धमनीका रूपमा चिनिन्छ जहाँबाट संसारको २० प्रतिशत तेल ढुवानी हुन्छ।

होर्मुज जलमार्ग

तस्बिर स्रोत, Amirhossein KHORGOOEI / ISNA / AFP via Getty Images

अमेरिका र इजरेलको आक्रमणको जवाफमा इरानले उक्त जलमार्ग बन्द गरिदिएपछि कैयौँ व्यावसायिक पानीजहाजहरू आक्रमणमा परेका थिए।

त्यसयता सयौँ पानीजहाजहरू उक्त जलमार्गमा आवतजावत गर्न सकेका छैनन् भने २० हजार भन्दा बढी पानीजहाजकर्मीहरू खाडी क्षेत्रमा अलपत्र छन्।

प्रत्येक महिना उक्त कोरिडोरबाट ३ हजार जति पानीजहाजहरूको ओहोरदोहोर हुने गरेको थियो।

होर्मुज जलमार्ग बन्द हुँदा विश्वव्यापी आपूर्ति प्रणालीमा सङ्कट देखिएको छ भने इन्धनको मूल्य समेत आकासिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।