दिल्लीमा प्रधानमन्त्री बालेन शाहको दोस्रो दिनको कार्यक्रम यस्तो छ

तस्बिर स्रोत, PMO Nepal
- Author, फणीन्द्र दाहाल
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
- Reporting from, नयाँ दिल्ली, भारत
- Published
- पढ्ने समय: ४ मिनेट
आफ्नो परिचित कालो चस्मा र कालै रङ्गको कोट, दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर राजकीय भ्रमणमा दिल्ली आएका नेपालका प्रधानमन्त्री बालेन शाहले हैदरावाद हाउसमा सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गर्ने वार्ता अर्थपूर्ण हुने अधिकारीहरूले बताएका छन्।
नेपालका ३६ वर्षे युवा प्रधानमन्त्री शाह गएको मार्चमा सरकारको नेतृत्व गरेपछि पहिलो दुईपक्षीय विदेश भ्रमणका क्रममा आइतबार अपरान्ह दिल्ली आइपुगेका हुन्।
सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा केही संयुक्त समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम छ।
दुवै प्रधानमन्त्रीले पत्रकारहरूको उपस्थितिमा सम्बोधन गर्ने कार्यक्रम छ जसलाई उत्सुकतापूर्वक हेरिएको छ।
भ्रमण सकेर प्रधानमन्त्री शाहसहितको प्रतिनिधिमण्डल सोमबार नै काठमाण्डू फर्कँदैछ।

तस्बिर स्रोत, PMO/X
भारतीय पक्षले प्रधानमन्त्री मोदीसँगका नेपाली प्रधानमन्त्रीको छलफललाई अभिरुचिपूर्वक हेरिरहेको सङ्केत पनि दिएको छ।
प्रधानमन्त्री शाहसँग आइतवारसाँझ भेटेका भारतीय विदेश मन्त्री एस जयशङ्करले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "नेपालका प्रधानमन्त्री बालेन शाहसँग भेट गर्न पाउनु मेरो सौभाग्य हो। भारत नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिन्छ। भोली प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने वहाँको भेटघाट कार्यक्रमहरूलाई लिएर उत्सुक छु।"
नेपाली पक्षले दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्य सम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री मोदीसँगको भेटपछि विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने पनि उल्लेख गरेको छ।
भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्मको रेल सेवाको उद्घाटन र भोटेकोशी त्रिशुली बाढीपछिको पुनर्निर्माण प्याकेजसम्मका विषयमा सहयोगका घोषणाहरू गरिने भनिएको छ।

प्रतिनिधिमण्डलस्तरबाहेक एक्ला एक्लै पनि दुई प्रधानमन्त्रीले छलफल गर्ने भनिएको छ।
भ्रमण कार्यतालिका अनुसार हैदरवाद हाउसमा पुगेर तस्बिरहरू खिचाउने कार्यक्रम सम्पन्न भएपछि दुई प्रधानमन्त्रीबीच झन्डै ४५ मिनेट छलफल हुनेछ।
त्यसपछि मात्रै प्रतिनिधिमण्डलको तहमा छलफल हुनेछ। सम्झौताहरूमा हस्ताक्षर गरेपछि
भारतीय प्रधानमन्त्री मोदीले दिने दिवाभोजमा नेपाली प्रधानमन्त्री सहभागी हुनेछन्।
सोमबारको कार्यक्रम
यो छोटो राजकीय भ्रमणका सर्वाधिक महत्वका कार्यक्रमहरू सोमबारलाई तय गरिएको देखिन्छ।
बिहानको सुरुवात प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा 'गार्ड अफ अनर' लिएर थाल्नेछन्।
उक्त औपचारिक समारोहपछि राजघाट पुगेर महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यहाँबाट प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डल हैदरावाद हाउस पुग्नेछन् जहाँ दुई देशका सरकारप्रमुखबीच वार्ता हुनेछ।
उक्त कार्यक्रमपछि प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा गएर भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन् र त्यसपछि आजै उनको स्वदेश फर्कने कार्यक्रम छ।
पहिले र अहिले के फरक
इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। हात मिलाएर बाहिरिने क्रममा दुवैले प्रधानमन्त्री शाहको सम्मानमा विमानस्थलमा प्रस्तुत गरिएको सांस्कृतिक नृत्य अवलोकन गरेका थिए।
सामाजिक सञ्जाल एक्समा प्रसादले लेखेका छन् सत्ता सम्हालेयता नेपालका प्रधानमन्त्रीले गरेको पहिलो भ्रमणले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धमा नयाँ गति र ऊर्जा दिने उनको विश्वास छ।
पहिलो दिन जम्मा एउटा औपचारिक शिष्टाचार भेटको कार्यक्रममा आफूलाई सिमित तुल्याएका प्रधानमन्त्री शाहको कार्यसूची उनका पूर्ववर्तीहरूको भ्रमणहरू भन्दा पृथक् छ।
प्रधानमन्त्री शाहले नेपाल भारत सम्बन्धबारे आफ्नो दृष्टिकोण सम्भवत: सोमबार प्रधानमन्त्री मोदीसँगको भेटपछि सार्वजनिक रुपमा राख्नेछन्।

तस्बिर स्रोत, Jitin Prasad/X
आइतबार साँझ इन्डिया नेपाल बिज्नेश राउन्डटेबल नाम दिइएको दुई देशका उद्योगी व्यवसायी सहभागी कार्यक्रममा पनि प्रधानमन्त्री शाहले सहभागिता जनाएनन्। त्यसमा नेपालका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतकातर्फबाट उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसाद सहभागी थिए।
भारतीय सञ्चारमाध्यमहरूलाई दिएको संक्षिप्त प्रतिक्रियामा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री शाहको भ्रमण ऐतिहासिक हुने विश्वास व्यक्त गरेका थिए।
भारतीय विदेशमन्त्री जयशङ्करसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र नयाँ दिल्लीस्थित नेपाली राजदूत निश्चलनाथ पाण्डे सहितका अधिकारी सहभागी थिए।
आफ्ना मुख्य सल्लाहकार कुमार बेनसहित केही सल्लाहकार र विज्ञलाई भ्रमण दलमा सहभागी गराएका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँगको छलफलमा ककसलाई सहभागी गराउँछन् भन्नेमा पनि चासो छ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले विगतमा नेपालबाट आएका प्रधानमन्त्रीहरूसँग भेटवार्ता गर्ने गर्थे। यसपालि प्रधानमन्त्रीको तहमा त्यस्तो भेटवार्ता निर्धारण गरिएको देखिएको छैन। यसअघि जस्तो धार्मिकस्थलहरूका यात्रा र अन्य राज्यहरूको अवलोकन भ्रमणजस्ता कार्यक्रमहरू पनि समावेश छैनन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















