सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनामा आईपीओको दुई प्रतिशत दिनु कति उचित?

Published
पढ्ने समय: ४ मिनेट

बाढीपछिको राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेअर निष्कासन (आईपीओ)मा दुई प्रतिशत दिने गरी कानुनी प्रक्रिया अगाडि बढाउने विषय उचित नभएको विज्ञहरूले बताएका छन्।

ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री विराजभक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीका लागि सरकारले उनीहरूको कामको प्रशंसा गर्दै त्यस्तो सुविधा दिने कानुनी प्रक्रिया अघि बढाइएको बताएका हुन्।

तर जो व्यक्ति जे जिम्मेवारीका लागि खटिएका हुन् उनीहरूलाई 'खुसी पार्न' ल्याइएको र त्यो गर्न नमिल्ने कुरा भएको विज्ञहरूले बताएका हुन्।

भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको भीषण बाढीपछि मानिसहरूको उद्धार र खोजी कार्यमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू खटिएका थिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्यसरी खटिएका सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) को सङ्ख्या करिब २१ हजार रहेको छ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सम्बोधन गर्ने क्रममा ऊर्जा मन्त्री श्रेष्ठले भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्न उक्त व्यवस्था ल्याउन लागिएको बताएका थिए।

"कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र सीमित साधन स्रोतका बीच पनि खोज, उद्धार तथा पुनर्स्थापनामा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका अत्यन्त प्रशंसनीय छ," संसद्‌मा बोल्दै उनले भने।

"उहाँहरूको समर्पण र योगदानको उच्च सम्मान गर्दै बहालवाला सुरक्षाकर्मीका लागि जलविद्युत् आयोजनाको प्राथमिक शेअर आईपीओमा दुई प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन आवश्यक प्रक्रिया अगाडि बढाएको विषय निवेदन गर्छु।"

विज्ञहरू के भन्छन्?

पूर्व अर्थमन्त्री तथा पूर्वअर्थसचिव रामेश्वर खनाल सुरक्षाकर्मीलाई दिन हुँदैन भन्दा उनीहरूको हितको विरुद्धमा बोलेको रूपमा लिइन सक्ने तर यसलाई कुनै तरिकाबाट न्यायोचित मान्न नसकिने बताउँछन्।

"जलविद्युत् आयोजनाको शेअर र सुरक्षाकर्मीको श्रमको कुनै सम्बन्ध नै छैन। कुनै बैङ्कको सुरक्षा गार्डलाई बैङ्कको सुरक्षा गरिदिए बापत शेअर दिनुपर्छ भन्ने जस्तो यस्तो ननसेन्स नीतिमा दिमाग गयो हाम्रो मन्त्रीहरूको। यो चित्तबुझ्दो र सैद्धान्तिक रूपमा मिल्दो कुरा होइन," पूर्व अर्थमन्त्री खनालले भने।

"उनीहरू स्थानीय प्रभावित पनि होइनन्। यसले विकृति। यो गर्नै नहुने गलत काम गरेजस्तो भयो"

पूर्व मुख्यसचिव विमल कोइराला पनि सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनामा दुई प्रतिशत आईपीओ दिने व्यवस्था गर्नु भनेको केवल उनीहरूलाई खुसी पार्न गरिएको रूपमा बुझ्नुपर्ने बताउँछन्।

"यस्ता परियोजनाहरूमा त सबैको समान हक लाग्छ। जलाधार क्षेत्रमा पर्ने बाहेकको अरू क्षेत्रमा त समान हक लाग्ने हो" उनले भने।

"सुरक्षाकर्मीलाई दिने भनेको त उनीहरूलाई खुसी पार्न गरेको होला। यो कुरा नमिल्दो हो। तर अब इन्सेन्टिभ (प्रोत्साहन) दियो भने सरकारको पक्षमा जुनसुकै बेला तयार हुन्छन् भन्ने जस्तो लाग्यो होला। त्यो त उनीहरूको (सुरक्षाकर्मीको) कर्तव्य नै हो जुनसुकै बेला तयार हुने।"

आईपीओ के हो र किन यसमा धेरै मानिसको आकर्षण हुन्छ?

कम्पनीहरूले सर्वसाधारणलाई शेअर जारी गर्नुलाई नै प्राथमिक शेअर निष्कासन (आईपीओ) भनिन्छ।

कुनै पनि कम्पनी सञ्चालनका लागि चाहिने पुँजी जुटाउने चरणमा शेअरमा जानुलाई नै आईपीओ भनिने नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सूचना अधिकारी मुराहरी पराजुली बताउँछन्।

"कुनै पनि कम्पनीले सर्वसाधारणमा जाने निर्णय गरेपछि धितोपत्र बोर्डबाट स्वीकृति लिएपछि सीडीएस (केन्द्रीय निक्षेप प्रणाली) सञ्चालन गर्ने सीडीएस एन्ड क्लिएरिङ लिमिटेड सीडीएससीको प्लेटफर्ममार्फत् सर्वसाधारणमाझ शेअर बिक्री हुन्छ," उनले भने।

"कम्पनीले शेअर जारी गरेको एक महिनाजस्तोमा स्टक एक्सचेन्जमा आएर कारोबार हुन्छ।"

नेपालमा १०० रुपैयाँमा शेअर किनेपछि त्यो बजारमा गएर ह्वात्तै बढ्छ अनि नाफा कमाउन सकिन्छ भन्ने मान्यताका कारण आईपीओमा मानिसहरूको आकर्षण भएको पूर्व अर्थमन्त्री खनाल बताउँछन्।

"हाम्रो सभ्य बजार नभई विकृत बजार भएको हुनाले आईपीओ हुनुभन्दा अगाडि नै शेअर जारी गर्छ भन्ने बुझाइमा किनेर मानिसहरूले बजारमा बिक्री गरिरहेका छन्," उनले भने।

"आईपीओमा १०० रुपैयाँमा शेअर पाइयो भने भोलि गएर ४००/५०० वा एक हजारमा बिक्री गरेर नाफा कमाउँला भन्ने मात्रै हो। यो पुँजीवादको चरम विकृत रूप हो।"

कुनै पनि आईपीओ किनेर फाइदा हुन्छ भन्ने सुनिश्चित नभए पनि मानिसहरूको बुझाइ भने किनेपछि फाइदा हुन्छ भन्ने मान्यता रहेको बताइन्छ।

सुरक्षाकर्मीलाई आईपीओ दिएर उनीहरूलाई लाभ हुने सुनिश्चित नभए पनि सहुलियत र अग्राधिकार दिएको रूपमा बुझिने पूर्व मुख्यसचिव कोइरालाले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।