सी जिन्पिङ जसले चीनको शक्तिशाली नेता बन्नुअघि सर्वस्व गुमाएका थिए

    • Author, सान युआन
    • Author, ज्याक लाउ
    • Role, बीबीसी ग्लोबल चाइना यूनिट
  • Published
  • पढ्ने समय: ७ मिनेट

चिनियाँ राष्ट्रपति सी जिन्पिङले ११ वर्षयता पहिलो पटक संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमण गर्न लागेका छन्।

तर अमेरिकासँगको उनको पहिलो साक्षात्कार उनी चीनको सर्वाधिक शक्तिशाली नेता बन्नुभन्दा धेरै अघि भएको थियो।

चार दशकअघि सी देशको उत्तरमा अवस्थित एक काउन्टीका अधिकारी थिए। त्यस बेला उनले तथ्य पत्ता लगाउने एउटा अभियानअन्तर्गत मध्यपश्चिम अमेरिकाको भ्रमण गरेका थिए।

उनले कैयौँ दिन आइअवामा कृषिबारे जानकारी लिएका थिए भने खेतीयोग्य क्षेत्रहरूको भ्रमण गर्ने क्रममा सहरी क्षेत्रबाहिर अवस्थित एउटा स्थानीय परिवारसँग समय बिताएका थिए।

चिनियाँ सरकारी सञ्चारमाध्यमले आइअवाका तात्कालिक गर्भनर टेरी ब्रान्स्टेडसँगको उनको 'होमस्टे' र मित्रताबारे लेखेका थिए। ब्रान्स्टेड पछि ट्रम्पको कार्यकालमा चीनका लागि अमेरिकी राजदूत बनेका थिए। उक्त व्यक्तिगत सम्बन्धलाई सीको अमेरिकासँगको सम्बन्धसँग जोडेर समेत हेर्ने गरेको पाइन्छ।

आज अमेरिका र चीनबीचको सम्बन्ध पहिलाको भन्दा धेरै फरक छ। विश्वव्यापी प्रभावका लागि प्रतिस्पर्धा, एकआपसप्रति लक्षित आयातकर, प्रविधिमाथि नियन्त्रण र सैन्य प्रतिद्वन्द्विताले त्यस्तो सम्बन्धलाई परिभाषित गर्दै आएको छ।

त्रिहत्तर वर्षीय सी अहिले सामान्य अधिकारी होइनन्। चीनको नेताका रूपमा १४ वर्षमा उनले कम्युनिस्ट पार्टीलाई मात्रै नभई विश्वमा आफ्नो देशको उपस्थितिलाई रूपान्तरित गरेका छन्।

सम्पूर्ण कुरा गुमाएका 'राजकुमार'

सीको कथाको आरम्भ चाहिँ सुविधासम्पन्न परिवेशमा भएको थियो।

सन् १९५३ मा बेइजिङमा जन्मिएका उनी जनवादी गणतन्त्र चीन स्थापनामा सघाएका कम्युनिस्ट क्रान्तिकारी सी जोङ्सिनका छैटौँ सन्तान हुन्। उनका पिता पार्टीका वरिष्ठ नेता र उपप्रधानमन्त्रीसम्म बनेका थिए।

बाल्यकालमा सीले प्रतिष्ठित विद्यालयमा अध्ययन गरेका थिए र अधिकांश परिवारहरूले प्राप्त गर्न नसक्ने विशेष हैसियतको उपभोग गरेका थिए।

त्यसपछि उनको परिवारविरुद्ध राजनीति हुन थाल्यो।

सन् १९६० को दशकमा सीका पितालाई पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाइयो। निर्वासनमा पठाएर उनलाई कारखानामा मजदुरी गर्न लगाइयो र पार्टीबाट समेत हटाइयो।

'प्रतिक्रान्तिकारी' ठहर गरिएका पिताका सन्तान मानेर सीलाई जबरजस्ती एउटा पुनः शिक्षा हासिल गर्ने केन्द्रमा पठाइएको थियो। नेता माओ त्सेतुङको आदेशानुसार किसानहरूसँग सिक्नका लागि १५ वर्षे सी लाखौँ अन्य सहरी विद्यार्थीहरूसँगै गाउँ प्रवेश गरेका थिए।

आफ्नो यात्राबारे वर्णन गर्दै सन् २००४ को एउटा अन्तर्वार्तामा उनले भनेका थिए, "रेलमा रहेका सबै जना आँसुमा डुबेका थिए। म एक्लै मुस्कुराइरहेको थिएँ। यदि म नगएको भए म रोइरहेको हुने थिएँ। यदि म बसेको भए आफू अझै जीवित रहन्थेँ कि रहन्नथेँ भन्ने कुरा मलाई वास्तवमै थाहा छैन।"

उनी देशको पश्चिम भागमा अवस्थित शाङ्शी प्रान्तमा अवस्थित दुर्गम पहाडी गाउँ लिअङ्जिआह पनि गए। त्यहाँ उनले पहाडमा रहेको गुफामा सात वर्ष बिताए। त्यहाँ बस्दा सीले खेतीपाती गर्ने, मल बोक्ने र खाडल खन्ने काम पनि गरे।

"अमिल्याइएको तरकारी मेरो सबैभन्दा मन पर्ने परिकार बनेको थियो," त्यस बेलाको समयबारे उनले भनेका छन्। "अहिले पनि म त्यसलाई स्नेहपूर्ण ढङ्गले सम्झन्छु।"

त्यहाँ रहँदा कामको बोझ देखेर उनी छक्क पर्थे। सुरुका दिनमा भोक र उपियाँका कारण कठिनाइ महसुस गरेका सीलाई धूमपान गर्न उपलब्ध गराइएको छोटो विश्रामले केही राहत दिएको थियो।

शक्तिमा उदय

उनले २२ वर्षको उमेरमा चीनकै प्रसिद्ध प्राज्ञिक संस्था चिङ्ख्वा विश्वविद्यालयमा केमिकल इन्जिनिअरिङ अध्ययनका लागि गाउँ छोडे।

अध्ययन पूरा गरेपछि उनले बेइजिङभन्दा निकै टाढाका प्रान्तहरू फुजियान र जजीआङमा स्थानीय अधिकारीको रूपमा काम गरे। ती दुवै प्रान्त सन् १९८० मा अर्थतन्त्र उकालो लागेपछि धनी बने।

उनका बुवाका कारण सीलाई केन्द्रीय सरकार र सेनामा आफ्नो स्थान बनाउन र पार्टीसँग सम्बन्ध बनाउन सहज भयो।

तीमध्ये कैयौँ अधिकारीहरू पछि पार्टी नेतृत्वमा उनीसँग निकट समूहमा आबद्ध भए।

सीको पहिलो विवाह यूकेका लागि चिनियाँ राजदूत रहिसकेका नेताकी छोरीसँग भएको थियो। तर तीन वर्षमै उनीहरूले सम्बन्धविच्छेद गरे।

एक साझा साथीले अहिलेकी श्रीमती पङ लीआनसँग भेट गराएका थिए। सेनामा लोकगायिकाको काम गर्ने उनी चिनियाँ नववर्षमा टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा गाएर धेरैमाझ परिचित थिइन्।

धेरै चिनियाँहरूमाझ सन् ११९०को दशकसम्म पनि पेङ प्रान्तीय कर्मचारी रहेका उनका पतिभन्दा धेरै परिचित थिइन्।

सीको विदेश भ्रमणहरूमा पेङ पनि साथै जाने गरेकी छन्। 'प्रथम महिला' खासै चर्चामा नआउने चिनियाँ परम्परालाई उनले क्रमभङ्ग गरेकी छन्।

उनीहरूकी छोरी सी मिङ्जे सन् १९९२ मा जन्मिएकी हुन्। उनले अमेरिकाको चर्चित हार्भर्ड विश्वविद्यालयमा अध्ययन गरेकी हुन्। त्यसबाहेक उनीबारे धेरै कुरा सार्वजनिक रूपमा थाहा छैन।

सन् २००७ मा केही समय शाङ्घाईको प्रमुख नेता बनेलगत्तै सी चीनमा नीतिगत निर्णय गर्ने स्थायी समितिमा पुगे। त्यसको पाँच वर्षमा उनी हु जिन्ताओको उत्तराधिकारीका रूपमा चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च नेता बने।

चीनको नेताको रूपमा सीले देशको आर्थिक र राजनीतिक प्रणालीलाई धेरैले सोचेकोभन्दा पनि फरक ढङ्गले रूपान्तरित गरिदिए।

सीले बनाएको चीन

सीको चौधवर्षे शासनमा चीनले आत्मविश्वास बढाउँदै समृद्धि हासिल गरेको छ।

विदेशमा सीले 'बेल्ट एन्ड रोड इनिशटिभ'जस्ता चीनको उपस्थितिका परियोजनाहरू अघि बढाएका छन्। उनले 'ग्लोबल साउथ'को अवधारणा अघि सारेका छन्।

यही समयमा प्रमुख प्रजातान्त्रिक राष्ट्रहरूसँग चीनको सम्बन्ध विवादित पनि बनेको छ। साउथ चाइना सागर र ताइवानमा अमेरिकासँग तनाव बढ्दो छ।

चीनमा व्यापक नियन्त्रण कायम गरेकाले पनि सी राजनीतिक रूपमा बलियो स्थितिमा छन्।

सीको नेतृत्वमा चीनले शिन्जिआङ, तिब्बत र हङ्‌कङजस्ता क्षेत्रमा पहिलेभन्दा बलियो सुरक्षा र राजनीतिक स्थिरताका लागि विभिन्न उपाय लागु गरेको छ। समर्थकहरूले त्यसले सुव्यवस्था पुनर्स्थापित गरेको बताए पनि आलोचकहरू ती उपायले नागरिक स्वतन्त्रतामा व्यापक रूपमा कटौती गरेको टिप्पणी गरेका छन्।

सीले आफ्नै नाममा एउटा विचारधारा अघि सारे - "नयाँ युगका लागि चिनियाँ विशेषताको समाजवादसहितको जिन्पिङ विचारधारा"। उनीभन्दा अगाडिका दुई जना नेताले त्यसो गर्न सकेका थिएनन्।

सीले संविधानबाट राष्ट्रपतिको कार्यकालको सीमा पनि हटाए। त्यसबाट उनलाई दुई कार्यकालभन्दा बढी समय पदमा रहने बाटो खुल्यो।

चिनियाँ सरकारी सञ्चारमाध्यमले सीलाई गम्भीर व्यक्तिका रूपमा प्रस्तुत गरेको पाइन्छ। तर उनी कहिलेकाहीँ हल्का र रमाइलो भावमा पनि देखा पर्छन्।

उनले फुटबलप्रतिको आफ्नो प्रेमबारे बोलेका छन्। थाईल्यान्डका प्रधानमन्त्रीसँग कुरा गर्दा उनले चिनियाँ पुरुष फुटबल टोलीप्रतिको आफ्नो निराशाबारे ठट्टा पनि गरेका थिए। उनले यूकेका पूर्वप्रधानमन्त्री डेभिड क्यामरनसँग एक पिन्ट बिअर पिएका थिए।

आफूले उपहारमा दिएका चीनमा निर्मित शाउमी फोन जाँच्न कुनै सुरक्षा संयन्त्र छ कि छैन भन्दै उनले दक्षिण कोरियाका राष्ट्रपतिसँग ठट्टा गरेका तिए।

मित्र वा शत्रु?

विदेशी नेताहरूसँग सीको सम्बन्ध चीनको समग्र विदेशनीतिका प्राथमिकता झल्किने गरी समयानुसार कहिले नजिक र कहिले टाढा हुने गरेको छ।

रुसका भ्लादिमिर पुटिन जति कुनै पनि विदेशी नेता उनीसँग नजिक छैनन्। सी सत्तामा आएयता उनीहरूबीच ४० पटकभन्दा बढी भेटवार्ता भएको छ र सीले पुटिनलाई आफ्नो "सबैभन्दा निकटस्थ विश्वासपात्र" समेत भनेका छन्।

ट्रम्पसँग भने उनको सम्बन्ध अझ जटिल छ। चीनसँग 'व्यापारयुद्ध' सुरु गरे पनि ट्रम्पले प्रायः सीबारे आत्मीय ढङ्गले बोल्ने गरेका छन्। उनले सीलाई आफ्नो मित्र भन्दै उनको राजनीतिक शक्तिको प्रशंसा गर्दै छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सुरुमा उनले व्यक्तिगत कूटनीतिक सम्बन्धमा प्राथमिकता दिएका थिए। एशियाका दुई ठूला शक्तिबीच सहकार्य अघि बढाउन उनीहरूले अनौपचारिक बैठक र कुराकानी पनि गरेका थिए।

तर सन् २०२० मा सीमामा घातक झडप भयो र दुई देशबीचको सम्बन्ध दशकौँयताकै खराब अवस्थामा पुग्यो।

व्यक्तिगत प्रभाव भएका वा परिस्थितिअनुसार तत्काल निर्णय गर्ने क्षमता भएका नेताका पहिचान नभएका सीले व्यक्तिगत सम्बन्धभन्दा माथि राज्यको हितलाई राख्ने गरेका छन्।

सी यसै साता वाशिङ्टन डीसी पुग्दा उनको पहिचान कुनै बेला आइअवाका कृषिफार्महरूको भ्रमणमा पुगेका जिज्ञासु कनिष्ठ चिनियाँ अधिकारीका रूपमा सीमित हुने छैन। यस पटक उनी २१औँ शताब्दीका निर्णायक राजनीतिक व्यक्तित्वका रूपमा त्यहाँ हुने छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।