शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

सोमवार भएको एक रोमाञ्चक खेलमा ओमानलाई १० रनले पराजित गर्दै नेपालले आईसीसी विश्व कप लीग २ मा छैठौँ स्थान सुरक्षित गरेको छ।

पहिले ब्याटिङ गरेको नेपालले २८० रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। जवाफमा निकै बलियो शुरुवात गरेको ओमानलाई ७ विकेटको क्षतिमा २७० रनमा रोक्दै नेपालले महत्पूर्ण २ अङ्क हात पारेको हो ।

यो जितसँगै अङ्कतालिकामा नेपालको ३० अङ्क पुगेको छ भने सातौँ स्थानमा झरेको क्यानडाको २९ अङ्क रहेको छ।

ओडीआई हैसियतमा कस्तो प्रभाव?

छैटौँ स्थान सुरक्षित भएसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगिएको ठानिएको छ।

लीग २ को अङ्कतालिकामा शीर्ष ६ भित्र रहने टोलीको ओडीआई मान्यता कायम रहने व्यवस्था रहेको बताइएको छ।

यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसबारे आधिकारिक घोषणा गरिसकेको छैन।

क्रिकेट अधिकारीहरूका अनुसार आईसीसीले यससम्बन्धी घोषणा चाँडै गर्ने अपेक्षा गरिएको छ।

देव, रोहित र दीपेन्द्रको अर्धसतक

नेपालका लागि देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। अर्जुन कुमालको स्थानमा टोलीमा आएका ओपनर देव खनालले ५७ रन बनाउँदै नेपालको इनिङ्स सम्हाले।

नेपालको इनिङ्स उकास्न रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको साझेदारी निर्णायक बन्यो। यी दुईले चौथो विकेटका लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गरे।

रोहितले ८१ बलमा २ चौका र २ छक्काको मद्दतमा ८० रन बनाए। त्यस्तै, दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन जोडे। बसिर अहमदले ७ बलमा १७ रन बनाए।

यसअघि जारी शृङ्खलाका तीन खेलमध्ये नेपालले दुई खेल जितेको थियो। तर क्यानडासँगको तेस्रो तथा महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको थियो।

सोमवारको खेल ओमानभन्दा नेपाल र क्यानडाका लागि बढी महत्त्वपूर्ण थियो। नेपाल पराजित भएको भए क्यानडा छैटौँ स्थानमा रहन सफल हुने थियो।

यता, ओमान लिग तालिकाको चौँथो स्थानमा छ। ओमानले अझै एक शृङ्खला खेल्न बाँकी रहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।