तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रिमिअर कप उपाधि जितसँगै नेपाल एसिया कपमा पनि छनोट
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
संयुक्त अरब इमिरेट्स (युएई)लाई ४४ रनले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली एसीसी प्रिमिअर कपको च्याम्पियन बनेको छ।
योसँगै नेपाल आगामी एसिया कपको लागि पनि छनोट भएको छ।
नेपालले एसिया कप प्रतियोगिता खेल्न लागेको यो दोस्रो पटक हो।
सन् २०२७ को जुनमा बाङ्ग्लादेशमा हुने एसिया कप प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्ग्लादेश तथा अफगानिस्तान पनि सहभागी हुने छन्।
यसअघि नेपालले सन् २०२३ मा पहिलो पटक एसिया कप खेलेको थियो। जहाँ टोलीले भारत र पाकिस्तान विरुद्ध 'प्रभावकारी' प्रदर्शन गरेको थियो।
शनिवार बिहान मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आशिफ शेखको शतकिय पारीको मद्दतले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो स्कोर खडा गरेको थियो।
जबाफमा आएको चिर प्रतिद्वन्द्वी युएईलाई नेपालले ४९.१ ओभरमा २६९ रनमा अलआउट गर्न सफल भयो।
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ३०० रन पार गरेको यो तेस्रो पटक हो। यसअघि नेपालले स्कटल्यान्ड विरुद्ध गत वर्ष ३२१ रन र अमेरिका विरुद्ध यसै वर्ष ३१७ रनको स्कोर खडा गरेको थियो।
आशिफको शानदार शतक
ओपनर आशिफ शेखले आवश्यक समयमा निकै महत्त्वपूर्ण इनिङ खेले।
नेपाली प्रशिक्षक स्टुआर्ट ल ले फाइनलमा देव खनाल र शेर मल्ललाई बेन्चमा राखेर अर्जुन कुमाल र सन्दीप जोरालाई मैदानमा उतारेका थिए।
आशिफले अर्जुनसँग मिलेर पहिलो विकेटका लागि ९७ रनको महत्त्वपूर्ण साझेदारी गरे। आशिफले १०२ रनको शतक प्रहार गरे।
१०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए। यो उनको एक दिवसीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक पनि हो। उनको प्रदर्शनले नेपालको जितको लागि आधार तयार भएको थियो।
अर्जुन ४३ रन बनाई २१ औँ ओभरमा आउट भएपछि आशिफले ईशान पाण्डे (१३ रन)सँग दोस्रो विकेटका लागि ३६ रनको तथा तेस्रो विकेटका लागि रोहित पौडेलसँग मिलेर ६८ रनको साझेदारी गरेका थिए।
आशिफ बाहेक नेपाली इनिङ उकास्नमा गुलशन झाको अर्ध शतक पनि उल्लेखनीय भयो। उनले ३८ बल खेलेर ५२ रन बनाए। जसमा ३ चौका र ४ छक्का सामेल थियो। रोहित पौडेलले ४० रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १८ तथा वसिर अहमदले अविजित १५ रन जोडे।
फाइनलमा मौका पाएका सन्दीप जोराले ७ रन जोडे भने करण केसी र ललित राजवंशीले १/१ रन जोडे।
युएईको राहुलको चुनौती
राहुल चोपडा र सोहेब खानले छैटौँ विकेटमा ८७ रनको साझेदारी गरेर टोलीलाई उकास्न प्रयास गरेका थिए।
तर ३१४ रनको विशाल चुनौती पार गर्न आएको युएईको टोली सुरुआत मै धरमराउन पुगेको थियो।
छैटौँ ओभर भित्र १ रनको अन्तरमा दुई ओपनरलाई आउट गर्दै नेपाली बलरहरूले जितको मार्ग पक्रिन सुरु गरेका थिए। २८ बलमा ४२ रन बनाएका तनिष सुरीलाई करण केसीले तथा अदिब उस्मानीलाई ललित राजवंशीले बोल्ड गरे।
तर राहुल चोपडा एक्लैले संघर्ष गरेपछि टोली एक समय लक्ष्य पूरा गर्ने स्थितिमा पुगेको थियो।
सोहेब ५२ रन बनाएर ३८.४ ओभरमा आउट भएपछि मात्र युएईको हातबाट खेल चिप्लिन पुगेको थियो।
राहुलले चोटसंग संघर्ष गर्दै अविजित १०० रन बनाए।
कप्तान हरप्रित सिंहले ३३ रन बनाए।
नेपाली कप्तान सन्दीप लामिछानेले सुरुआतदेखि नै भिन्न बलरहरूलाई प्रयोग गरेका थिए।
नेपालका करणले ३, दीपेन्द्र र ललितले २ विकेट लिए भने सन्दीप, गुलशन, र रोहितले १/१ विकेट लिएका थिए।
युएई-नेपाल चिरप्रतिद्धन्दी
नेपाल र युएई एसियाली क्रिकेटका चिर परिचित प्रतिद्वन्द्वी हुन्। सन् २०२३ को संस्करणमा नेपालले युएईलाई ७ विकेटले पराजित गरी एसिया कपमा छनोट भएको थियो।
त्यसको अर्को वर्ष २०२४ को संस्करणमा नेपाल युएईको हातबाट सेमिफाइनलमा नै रोकिन पुगेको थियो।
त्यसपछि तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग पनि पराजित भएपछि नेपाली टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा समेत छनोट हुन असफल भएको थियो।
जारी प्रतियोगितामा नेपालले २०२४ को संस्करणको बदला लिन सफल भएको देखिएको छ।
प्रिमिअर कपका शीर्ष ३ टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुने प्रावधान अनुसार नेपाली टोली यसपालि इमर्जिङ टिम्स एसिया कपमा पनि छनोट भइसकेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।