तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चाडपर्वमा घर फर्किएका प्रवासी नेपालीको फेरि कर्मथलो फर्किनुपर्ने चिन्ता
- Author, विमला चौधरी
- Role, नेपालगञ्ज
- Published
- पढ्ने समय: ३ मिनेट
दशैँको टीका र तिहारको रमझमसँगै घरपरिवारसँग माया साट्न भारतबाट नेपालीहरू स्वदेश फर्किरहेका छन्।
तर उनीहरूको मनमा चाडबाडको खुसीसँगै फेरि भारत फर्किनै पर्छ नत्र कसरी परिवारको गुजारा चलाउने भन्ने चिन्ता पनि उत्तिकै छ।
रोजगारीका लागि भारतमा पसिना बगाइरहेका धेरै नेपालीका लागि चाडपर्व मनाउन देश फर्किए पनि आर्थिक जोहोका लागि कर्मथलो फर्किने अवस्थाले मन नरमाइलो बनाउँछ।
नेपालगञ्जस्थित जमुनाहा नाकामा भेटिने प्रवासी नेपालीका अनुभवले त्यस्तै आवाज प्रतिविम्बित गर्छन्।
सुर्खेत र दैलेखमा घर रहेको बताउने ५८ वर्षीय रनबहादुर बोगटी करिब ४० वर्षदेखि भारतमा मजदुरी गर्दै आएका छन्।
दशैँमा समेत घर नआउने सोच बनाएका उनी एक हप्ता वा बढीमा दस दिनका लागि मात्रै नेपाल आएका हुन्।
तिहारसमेत नमानी भारत फर्किने मनसाय उनी बताउँछन्।
"चाडबाड मनाएर भारत गएपछि फेरि कहिले आउने हो टुङ्गो छैन। गाडीभाडा महँगो छ। वैशाखजेठमा खेतीपातीको तयारीका बेला आउन सकिएला," उनले भने।
भारतमा मजदुरी गर्ने नेपालीको व्यथा र गुनासो
सल्यानका ४७ वर्षीय मिनबहादुर बोहराको अनुभव पनि उस्तै छ। भारतको सिम्लामा मजदुरी गरेर फर्किएका उनी दशैं–तिहार मनाएपछि लगत्तै भारत फर्किने योजनामा छन्।
सिम्लामा अत्यधिक हिमपात हुने भएकाले तिहारपछि गढवालतिर काम खोज्न जाने उनको सोच छ।
"मजदुरी गरेर घरगुजारा चलाउनुपर्छ। यसअघि जति भोट हाले पनि अहिलेसम्म शुद्ध खानेपानी पाउन सकेका छैनौँ," उनले गुनासो गरे।
तर सल्यानकै ४९ वर्षीय कृष्णबहादुर पुनको सोच भने फरक छ।
विद्यार्थी जीवनदेखि राजनीतिमा चासो राख्दै आएका उनी एक दशकभन्दा बढी समयदेखि भारतमा रोजगारी गरे पनि नेपालमा चाडपर्वबाहेक निर्वाचनमा आउन छुटाउँदैनन्।
कुनै समय सुर्खेत शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारीको सचिवसमेत रहेको बताउने उनी आगामी स्थानीय तहको निर्वाचनमा भोट हाल्न आउने योजनामा छन्।
दशैँतिहार पछि भारत फर्किने योजना
दैलेखकी २२ वर्षीया दिलमाया विश्वकर्मा दाजु–भाउजू र श्रीमानसँगै भारतको पुनामा मजदुरी गर्दै आएकी छन्।
बर्दियाका ३५ वर्षीय रामबहादुर बुढा पनि भारतको बेङ्गलोरमा मजदुरी गर्छन्। दशैँतिहारपछि फेरि भारत फर्किने तयारीमा रहेका उनी नेपालमा युवाका लागि पर्याप्त रोजगारी नभएको गुनासो गर्छन्।
"नेपालमा बसेर काम छैन, युवालाई रोजगारी नै छैन। घरपरिवार पाल्नैपर्यो," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।