तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मुख्य राजमार्गसहित देशका विभिन्न स्थानमा सडक अवरुद्ध, कृष्णभीरको अवस्था कस्तो छ
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
बिहीवारदेखि जारी अविरल वर्षाले काठमाण्डूसँग जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्।
भोटेकोशी-त्रिशूली बाढीका कारण कृष्णभीरको सडक अवरुद्ध भएपछि उक्त राजमार्ग गत असोज १ देखि मात्रै पुनः सञ्चालनमा आएको थियो। तर अहिलेको वर्षाका कारण उक्त राजमार्गमा फेरि आंशिक क्षति पुगेको जानकारी एक स्थानीय जनप्रतिनिधिले बीबीसी न्यूज नेपालीलाई दिएका छन्।
"नयाँ ट्र्याकको सपोर्ट भागमा रहेको 'गेभिन' जाली पनि आधाजति खस्यो। हिजो बेलुका ढुङ्गासहित आएको पहिरो बिहान डोजरले पन्छाउँदापन्छाउँदै तलको त्यो भाग खसेपछि जोखिम रहेकोले अहिले काम रोकिएको छ," कृष्णभीर पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष बस्नेतले भने।
"त्यहाँ जमिन खस्दै गइरहेको छ। दिनभरि पानी परेर सडक थप बिग्रियो भने समय लाग्छ। अहिले [बिहान]सम्म चाहिँ नयाँ ट्र्याक खसेको छैन। त्यसको छेउसम्म पहिरो आएको छ। तर दिनभरि पानी पर्दा खस्ने सम्भावना पनि छ।"
पृथ्वी राजमार्ग काठमाण्डू उपत्यकाका लागि निकै महत्त्वपूर्ण छ। गत महिनाको विनाशकारी बाढीका कारण कृष्णभीरमा त्रिशूली नदीको किनारमा अवस्थित उक्त राजमार्गको सडक भासिएको थियो। वैकल्पिक बाटो बनाएपछि उक्त राजमार्ग १८ दिनपछि बल्ल खुलेको थियो।
सतर्कतास्वरूप सडक बन्द
शुक्रवारदेखि आइतवारसम्म भीषण वर्षा हुन सक्ने भन्दै सरकारी निकायहरूले आवश्यक पर्दाबाहेक लामो दूरीको यात्रा नगर्न तथा उच्च सतर्कता अपनाउन मानिसहरूलाई केही दिनयता अनुरोध गर्दै आएका छन्।
अधिकारीहरूले ठूलो वर्षा हुन सक्ने ठानिएका विभिन्न जिल्लामा सतर्कतास्वरूप विभिन्न स्थानमा सवारी आवागमन बन्द गराएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सुनसरी, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रपलान्चोक, नुवाकोट, ललितपुर, चितवन, लमजुङ, म्याग्दी, रोल्पा, दाङ, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ र बैतडीका मुख्य सडकहरू बन्द गरिएको छ।
अन्यत्रको अवस्था कस्तो छ
गृह मन्त्रालय अन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखा (एनईओसी)का अनुसार कोशी, बाग्मती र लुम्बिनी प्रदेशका १४ वटा राजमार्ग अवरुद्ध रहेका छन्।
अविरल वर्षाका कारण आएको बाढी, पहिरो, लेदो र सडक भासिएका कारण ती राजमार्गका सडकहरू अवरुद्ध भएको एनईओसीले जनाएको हो।
बाग्मती प्रदेशमा मात्रै १० वटा राजमार्ग अवरुद्ध रहेका र कोशी प्रदेशका दुई र लुम्बिनी प्रदेशका दुई राजमार्ग अवरुद्ध रहेको गृह मन्त्रालयले जनाएको छ।
चितवनस्थित इच्छाकामना गाउँपालिकामा पर्ने कुरिनटारनजिक धारापानीमा सडक भासिँदा साना गाडी र माेटरसाइकल मात्र सञ्चालन गर्न मिल्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएकाे छ।
पृथ्वी राजमार्गमा पर्ने नारायणगढ-मुग्लिन सडकखण्डमा विभिन्न स्थानमा पहिराे गएकाले जिल्ला प्रशासन कार्यालय चितवनले उक्त राजमार्गमा सवारी आवागमन रोकेको छ।
बाढीका कारण पासाङल्हामु राजमार्ग, त्रिशूली-मैलुङ-रसुवागढी राजमार्ग, कालुपाण्डे राजमार्ग अनि पहिरो र लेदो आएका कारण कान्ति लोकपथ पनि अवरुद्ध भएका छन्।
कान्ति लोकपथमा पर्ने ललितपुरको गोदावरी नगरपालिका-६ बिर्खेधारा, ललितपुरको बाग्मती गाउँपालिका-३ भट्टेडाँडा हुँदै जाने पाङ्दुरडोल र टार्कुचे अनि मकवानपुरको भीमफेदी गाउँपालिका-८ खहरे खोल्सामा पनि लेदो आएका कारण बाटो अवरुद्ध भएको बताइएको छ।
एनईओसीका अनुसार काभ्रेको रोसी गाउँपालिकामा पर्ने चारसयबेँसी र गिम्दीबेँसीमा आएको पहिरोका कारण बीपी राजमार्ग पनि अवरुद्ध भएको छ।
कोशी प्रदेशका सिद्धिचरण लोकमार्ग र चतरा-वाराहक्षेत्र अनि पहिरोको कारण अवरुद्ध लुम्बिनी प्रदेशका कालीगण्डकी करिडर र घोराही-थवाङ शहीद मार्ग रहेका गृह मन्त्रालयले जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।