'ब्रेकिङ ब्याड'का अभिनेता आरजे मिटीको ३४ वर्षको उमेरमा निधन

तस्बिर स्रोत, Getty Images
- Author, नार्डिन साद
- Reporting from, लस एन्जलस
- Published
- पढ्ने समय: ४ मिनेट
अमेरिकी अभिनेता आरजे मिटीको ३४ वर्षको उमेरमा निधन भएको छ। ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा लागुऔषधका बादशाह वाल्टर ह्वाइटका विद्रोही छोराको भूमिका निर्वाह गरेसँगै उनी निकै चर्चित भएका थिए।
"हामी अत्यन्त दुःखका साथ यो जानकारी गराउन बाध्य भएका छौँ कि प्रिय अभिनेता, परोपकारी तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका प्रबल समर्थक आरजे मिटीको निधन भएको छ," उनका प्रतिनिधिले बीबीसीलाई भने।
उनको निधन टेक्ससमा भएको हो। उनको मृत्युको कारण खुलाइएको छैन।
सेरेब्रल पाल्सीबाट पीडित मिटीले एमी पुरस्कार जित्न सफल ड्रामा सिरिजमा वाल्टर ह्वाइट जुनियरको भूमिका निर्वाह गर्न आफ्नै जीवनका अनुभवहरूको सहारा लिएका थिए। उक्त अभिनयका निम्ति उनले सन् २०१४ मा स्क्रिन एक्टर्स गिल्ड अवार्ड जितेका थिए।
'षड्यन्त्रको आशङ्का छैन'
उनका प्रतिनिधि शान रेलीले बीबीसीलाई दिएको वक्तव्यमा भनिएको छ, "मिटीले यस भूमिकामा मौलिकता ल्याएका थिए र अपाङ्गतासम्बन्धी जागरूकताका निम्ति एउटा मञ्च तयार गरेका थिए।"
उनले परोपकारी तथा सामुदायिक पहलहरूलाई सहयोग गर्न 'द मिटी फाउन्डेशन' पनि स्थापना गरेका रेलीले भनेका छन्।
ब्राउनस्विल प्रहरी विभागले बीबीसीलाई दिएको वक्तव्यमा उनको निधनको पुष्टि गरिएको छ।
त्यसमा मृत्युको कारण अहिलेसम्म पत्ता नलागेको र अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ। प्रहरीका अनुसार, घटनामा कुनै षड्यन्त्रकोआशङ्का भने छैन।
ब्रेकिङ ब्याड

तस्बिर स्रोत, Getty Images
'ब्रेकिङ ब्याड' सन् २००८ देखि २०१३ सम्म पाँच सीजन प्रसारण भएको थियो।
भिन्स गिलिगनले निर्माण गरेको यस एन्टी-हिरो ड्रामाले प्राइमटाइम एमी पुरस्कारका लागि ५८ वटा मनोनयन प्राप्त गरेको थियो र १६ वटा पुरस्कार जितेको थियो। त्यसमा सन् २०१३ र २०१४ मा उत्कृष्ट ड्रामा सिरिजका उपाधि पनि समावेश छ।
यसलाई धेरैले २१औँ शताब्दीकै उत्कृष्ट अमेरिकी टेलिभिजन शृङ्खलाहरूमध्येको ठान्छन्।
उक्त सिरिजमा ब्रायन क्र्यान्स्टनले न्यु मेक्सिकोको एक माध्यमिक विद्यालयमा रसायनशास्त्र पढाउने शिक्षकको भूमिका निर्वाह गरेका छन्। क्यान्सर भएको पत्ता लागेपछि उनी आफ्नो परिवारको पालनपोषण गर्न अपराधको संसारमा प्रवेश गर्छन्।
उनी उक्त अँध्यारो संसारमा जति गहिरिँदै जान्छन्, त्यति नै आफ्नो छोरासँगको दूरी बढ्दै जान्छ। सिरिजका अधिकांश भागमा वाल्टर जुनियरले हल्काफुल्का शैलीमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहन्छन्।
'द हलिऊड रिपोर्टर'सँगको एउटा कुराकानीमा उक्त सिरिजको प्रमुख पात्रमध्येको जेसी पिङ्कम्यानको भूमिका निर्वाह गर्ने आरोन पलले मिटीको निधनबाट आफू निकै दुःखी भएको बताएका छन्।
"तिम्रो निकै याद आउने छ," उनले भनेका छन्।
सिरिजमा उनको काकाको भूमिका निर्वाह गर्ने डिन नोरिसले सामाजिक सञ्जालमा लेखेका छन्, "आरजेले मेरो छोराको भूमिका मात्र निर्वाह गरेका थिएनन्। छायाङ्कन स्थलमा म सधैँ एउटा सानो बच्चाको जस्तै उनको हेरचाह गर्थेँ।"
उनले लेखेका छन्, "उनी अत्यन्तै मायालु युवा थिए र उनको निकै याद आउने छ।"
मिटीको अभिनययात्रा
लुइजियानामा हुर्किएका उनी सन् २००५ मा आफ्नी कान्छी बहिनीको अभिनय करिअरलाई सहयोग गर्न लस एन्जलस गएका थिए। त्यसैबेला उनले उक्त महत्त्वपूर्ण भूमिकाका लागि अडिशन दिएका थिए।
त्यसअघि उनले लस एन्जलसमा आफ्नो पहिलो अडिशन क्यालिफोर्नियाको मेथाम्फेटामिनविरोधी जनचेतनामूलक विज्ञापनका लागि दिएको बताएका थिए।
यसै महिनाको सुरुतिर एउटा पोडकास्टमा उनले भनेका छन्, "अब ब्रेकिङ ब्याडका लागि दिएको अडिशनको कुरा गरौँ। मेरो विचारमा यो सिरिज अहिले पनि मेथाम्फेटामिनविरुद्धको एउटा सन्देश हो, किनकि यसको अन्त्य कसैका लागि पनि सुखद हुँदैन।"
मिटीका पर्दामा देखिएका अन्य कामहरूमा हाना मोन्टाना, स्विच्ड एट बर्थ, वेस्टह्याम्पटन र उनको पछिल्लो चलचित्र टकिङ टु स्ट्रेन्जर्स समावेश छन्।
टकिङ टु स्ट्रेन्जर्स यसै वर्षको सुरुतिर रिलिज भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















