भारतीय अभिनेता नाना पाटेकरको निधन : विशिष्ट शैली र जीवन्त अभिनयको सम्झना

तस्बिर स्रोत, Getty Images
जीवन्त अभिनय र विशिष्ट संवाद प्रस्तुतिका लागि परिचित भारतीय चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको उनका छोरा मल्हार पाटेकरले बीबीसी मराठीलाई बताएका छन्।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, नाना पाटेकरको निधन हृदयाघातका कारण भएको हो।
गोवास्थित आफ्नो निवासमा बिहीवार बिहान अचेत अवस्थामा भेटिएपछि नाना पाटेकरलाई अस्पताल लगिएको थियो।
बीबीसी हिन्दीका अनुसार त्यतिबेला उनको घरमा पाटेकरका सहयोगी र एक मित्र मात्र थिए। ती सहयोगीले एम्बुलेन्समा राखेर पाटेकरलाई अस्पताल पुर्याएका थिए।
गोवाको मणिपाल अस्पतालका डा शेखर सांलुखेले एएनआई न्यूज एजेन्सीलाई बताएअनुसार "लगातार ४५ मिनेटसम्म सीपीआर गर्दा पनि पाटेकरलाई बिउँताउन सकिएन"।
पाटेकर भारतीय सिनेमाका सर्वाधिक परिचित अनुहारहरूमध्ये एक थिए। उनले तीनवटा राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए। जटिल, भावनात्मक र प्रायः अस्थिर स्वभावका पात्रहरूलाई जीवन्त बनाउने अभिनेताका रूपमा उनले विशेष पहिचान बनाएका थिए। उनी मराठी चलचित्र र रङ्गमञ्चका पनि प्रभावशाली व्यक्तित्व थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पाटेकरप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। मोदीले उनको बहुआयामिक अभिनय क्षमता र स्पष्टवादी व्यक्तित्वको प्रशंसा गरेका छन्।
सामाजिक सञ्जाल 'एक्स'मा मोदीले पाटेकरले चलचित्रमा भूमिका निर्वाह गरेका पात्रहरू "पुस्तौँसम्म सम्झिइरहने" खालका छन् भनेका छन्। पाटेकरको निधनले कलाक्षेत्रमा "ठूलो रिक्तता" उत्पन्न भएको मोदीको टिप्पणी छ।
पाटेकरसँग 'वेल्कम' चलचित्रमा सहकार्य गरेका बलिउड अभिनेता अक्षय कुमारले उनलाई "दुर्लभ प्रतिभा भएका कलाकार"का रूपमा सम्झिएका छन्।
पाटेकरको आवाज, अभिनयको तीक्ष्णता र इमान्दारीले दर्शकको ध्यान सहजै खिच्ने गरेको उनले औँल्याएका छन्।
पाटेकरले सन् १९७८ मा 'गमन' चलचित्रबाट आफ्नो फिल्मी यात्रा सुरु गरेका थिए।
त्यसपछि केही समयसम्म उनले विभिन्न चलचित्रमा साना भूमिकाहरू निर्वाह गरे। तर उनले प्रस्तुत गर्ने ऊर्जाशील र प्रभावशाली अभिनय सबैको दृष्टिमा पर्न थाल्यो।
उनले सन् १९८९ मा 'परिन्दा' चलचित्रमा खेल्ने अवसर पाए। उक्त चलचित्रले उनलाई भारतभरि चिनायो।
परिन्दामा उनले खेलेको अस्थिर तथा कठोर स्वभाव भएको अन्ना नामक गुन्डाको भूमिकाले व्यापक प्रशंसा बटुल्यो। यही भूमिकाका लागि उनले आफ्नो पहिलो राष्ट्रिय चलचित्र पुरस्कार तथा फिल्मफेअर पुरस्कार जिते।

तस्बिर स्रोत, Getty Images
यसपछि पाटेकरले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन।
सन् १९९० को दशकमा उनले धेरै चलचित्रमा अविस्मरणीय पात्रहरूको भूमिका निर्वाह गरे। ती चरित्रहरूले अभिनय गर्न सक्ने उनको प्रतिभाको गहिराइ र निपुणता देखाउँछन्।
उनी आफैँले निर्देशन गरेको 'प्रहार' चलचित्रमा उनले निर्वाह गरेको मेजर चौहानको भूमिकाले व्यापक प्रशंसा पायो। त्यसपछि 'अङ्गर' मा माजिद खानको खलपात्र,'तिरङ्गा' मा देशभक्त र जोसिला चरित्र अनि विशेष गरी 'क्रान्तिवीर' मा प्रतापनारायण तिलकको भूमिकाले उनलाई ठूलो ख्याति दिलायो।
'क्रान्तिवीर'मा उत्कृष्ट अभिनयका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट अभिनेताको सम्मान प्राप्त गरे।
समालोचकहरूले उनलाई आक्रामक र चर्को स्वरमा प्रस्तुत हुने पात्रको भूमिका गर्ने अभिनेता भनेर मूल्याङ्कन गर्न थालेका बेला उनले 'खामोशी'मा सुन्न र बोल्न नसक्ने व्यक्तिको भूमिकामा संवेदनशील र मन छुने अभिनय प्रस्तुत गरे।

तस्बिर स्रोत, Getty Images
सन् २०१० मा निर्देशक प्रकाश झाको फिल्म 'राजनीति'ले पाटेकरको अभिनययात्रामा अर्को आयाम थप्यो। एक चतुर र प्रभावशाली राजनीतिकर्मीको भूमिकामा उनको अभिनयको ठूलो प्रशंसा भएको थियो।
पाटेकरले निर्वाह गरेका भूमिकाबाट उनको अभिनय क्षमताको विशाल दायरा झल्किन्छ। उनले गुन्डा, सैनिक, प्रहरी, नेता, देशभक्त, खलनायक, हास्यपात्र र दुःखान्त चरित्रमा अभिनय गरेका छन्।
उनले हिन्दी र मराठी सिनेमाबीच सहज रूपमा काम गरे। कहिलेकाहीँ निर्देशक र लेखकका रूपमा पनि पर्दापछाडि बसेर काम गरे।
'परिन्दा', 'क्रान्तिवीर' र 'अग्निसाक्षी'का लागि प्राप्त उनका तीन राष्ट्रिय पुरस्कारहरूले उनको सफल र विशिष्ट अभिनय यात्रा दर्साउँछन्।
पाटेकर मराठी र हिन्दी दुवै रङ्गमञ्चका प्रभावशाली व्यक्तित्व पनि थिए। सिनेमाले उनको बृहत् परिचय स्थापित गर्नुअघि उनले वर्षौँसम्म रङ्गमञ्चमा काम गरेका थिए। रङ्गमञ्चमै उनले संवाद प्रस्तुत गर्ने आफ्नो सशक्त र यथार्थपरक शैली विकास गरेका थिए।
'पुरुष' र 'हमिदाबाईची कोठी' उनका सबैभन्दा चर्चित नाटकहरूमध्ये पर्छन्।
चलचित्र क्षेत्रमा ठूलो सफलता हासिल गरे पनि उनी आफ्नो व्यावसायिक जीवनमा रङ्गमञ्चसँग निरन्तर आबद्ध रहे।
पाटेकर सामाजिक अभियानमा सक्रियताका लागि पनि परिचित थिए।
तत्कालीन सरकारको आलोचना सीधा शब्दमा गर्नेमा पनि उनी कहलिएका थिए। उनी सीधा, स्पष्ट र निर्भिक रूपमा मन्त्रीहरू र उनीहरूका नीतिहरूको सार्वजनिक रूपमा आलोचना गर्न कहिल्यै हिचकिचाउँदैनथे।
किसानसँग सम्बन्धित मुद्दाहरू उनका मन पर्ने विषय थिए।
उनको काम अभिव्यक्ति र वक्तव्य दिनेमा सीमित थिएन। सन् २०१५ मा उनले अभिनेता मकरन्द अनासपुरेसँग मिलेर 'नाम फाउन्डेशन' स्थापना गरेका थिए। उक्त संस्थाले महाराष्ट्रमा किसान कल्याणकारी कार्य र जल संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ।
तर उनको करिअर विवादरहित थिएन।
सन् २०१८ मा अभिनेता तनुश्री दत्ताले करिब एक दशकअघि चलचित्र छायाङ्कन स्थलमा भएको भनिएको घटनासम्बन्धी पाटेकरविरुद्ध यौन उत्पीडनको आरोप लगाएपछि भारतको #MeToo आन्दोलनमा यो विषयले व्यापक चर्चा पाएको थियो। पाटेकरले ती आरोपहरू अस्वीकार गरेका थिए।
सन् २०१९ मा प्रहरीले उनीविरुद्ध पर्याप्त प्रमाण नभेटिएको बताउँदै उनलाई सफाइ दिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















