इरानसँगको अमेरिकी-इजरेली सङ्घर्ष: युद्ध एउटा तर जितका दाबी दुइटा

इरानको दैनिक जनजीवन झल्काउने तस्बिर

तस्बिर स्रोत, AFP via Getty Images

    • Author, आमिर आज्मी
    • Role, बीबीसी न्यूज पर्सियन
  • पढ्ने समय: ५ मिनेट

इरानसँगको अमेरिकी-इजरेली युद्धको यो चरण अहिलेका लागि सायद समाप्त हुन सक्छ, कमसेकम वाशिङ्टनबाट यस्तै सन्देश आइरहेको छ।

गएको मे ५, मङ्गलवारका दिन केही साताको युद्धविरामपछि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले 'अपरेसन इपिक फ्युरी' प्रभावकारी रूपमा समाप्त भएको बताए। तर उक्त घोषणा व्यापक वक्तव्यका बीच कहीँ ओझेलमा पर्‍यो।

यस्तोमा एउटा स्वाभाविक प्रश्न उठ्छ: आखिर यो युद्ध कसले जित्यो? यो प्रश्नको जबाफ कसले कहानी सुनाइरहेको छ भन्ने कुरामा निर्भर गर्छ।

इरानमा यो युद्धलाई त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले देशले विश्वकै सबैभन्दा शक्तिशाली सैन्य गठबन्धनको सामना गर्दै उनीहरूलाई पराजित गरेको प्रमाणका रूपमा प्रस्तुत गरेका छन्।

वाशिङ्टनमा राष्ट्रपति डोनल्ड ट्रम्प र उनको प्रशासनले पनि आफ्नो जितको दाबी गरेका छन् र आफूहरूले आफ्ना लक्ष्यहरू हासिल गरेको बारम्बार बताएका छन्।

यी सार्वजनिक वक्तव्यबाजीभन्दा पर अहिले वास्तविक जित कहाँ छ भन्ने निर्धारण गर्न युद्धभन्दा पनि वार्ता अधिक महत्त्वपूर्ण बन्दै गएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबि‌ओ

तस्बिर स्रोत, Anna Moneymaker/Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी विदेशमन्त्री मार्को रुबि‌ओले "अपरेशन इपिक फ्यूरी" का उद्देश्यहरू पूरा भएका र इरानसँगको युद्धको आक्रामक चरण अब "समाप्त" भएको बताएका छन्

एक्सिओस, रोएटर्स र अन्य अमेरिकी सञ्चारसंस्थाका विवरणहरुका अनुसार ह्वाइट हाउसले इरानसँग १४ बुँदे समझदारी पत्रमा सहमतिनजिक पुगिएको ठानेको छ।

उक्त दस्तावेजले इरानको परमाणु कार्यक्रम, होर्मुज जलमार्ग तथा व्यापक क्षेत्रीय तनावबारे थप वार्ताका निम्ति एउटा ढाँचा तयार गर्ने छ।

इरानी विदेश मन्त्रालयका एक जना प्रवक्ताले आफूहरूले उक्त प्रस्तावको समीक्षा गरिरहेका र आफ्नो प्रतिक्रिया पाकिस्तानी मध्यस्थकर्तामार्फत् सार्वजनिक गर्ने बताएका छन्। तर केही वरिष्ठ इरानी राजनीतिज्ञहरूले यसलाई सार्वजनिक रूपमा अस्वीकार गरिसकेका छन्।

इरानी संसद्‌अन्तर्गतको राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका एक जना प्रवक्ताले समाजिक सञ्जाल एक्समा "हार्दै गरेको युद्धबाट अमेरिकाले केही हासिल गर्न नसक्ने," भन्दै उक्त प्रस्तावलाई "अमेरिकी इच्छासूची"का रूपमा खारेज गरेका छन्।

हालसम्म सार्वजनिक भएका उक्त प्रस्तावका विवरणअनुसार इरानले आफ्नो परमाणु गतिविधिको ठूलो हिस्सा २० वर्षका लागि स्थगित गर्नुपर्ने छ भने उच्च स्तरमा प्रशोधित युरेनिअमको भण्डार हस्तान्तरण गर्नुका साथै व्यापक अन्तर्राष्ट्रिय निरीक्षणलाई पनि अनुमति दिनुपर्ने छ।

ती विवरणहरूका अनुसार उक्त सम्झौताअन्तर्गत इरानले होर्मुज जलमार्ग पूर्ण रूपमा खुला गर्ने प्रत्याभूति दिनुपर्ने छ।

त्यसको सट्टामा अमेरिकाले क्रमशः प्रतिबन्धहरू हटाउनुका साथै जफत गरिएका इरानी सम्पत्तिहरू फुकुवा गर्ने छ। त्यतिमात्र नभई सम्झौताको अवधि समाप्त भएपछि इरानलाई सीमित मात्रामा युरेनियम प्रशोधन पुनः सुरु गर्न अनुमति दिने सम्भावना पनि रहने छ।

तर इरानभित्र धेरैका लागि यी सर्तहरू सम्झौताभन्दा पनि आत्मसमर्पणजस्ता प्रतीत हुन्छन्। उनीहरूको तर्क सरल छ। उनीहरू निर्णायक परिणाम दिन विफल भएकाले अमेरिका "अपरेशन इपिक फ्यूरी" रोक्न बाध्य भएको ठान्छन्।

साथै अमेरिकाले होर्मुज स्ट्रेट पुन: खोल्न सुरु गरेको "अपरेशन फ्रीडम"ले खाडीका देशहरूलाई थप गहिरो द्वन्द्वमा तान्ने जोखिम बढाएको उनीहरूको बुझाइ छ।

इरानले यस अवधिमा उक्त क्षेत्रका देशहरूमा रहेका अमेरिकी सैन्य अड्डा र ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरे पनि तीमध्ये कुनै पनि देश आधिकारिक रूपमा सोझै द्वन्द्वमा प्रवेश गरेका थिएनन्।

अयोतोल्लाह अली खामेनेईको तस्बिर भएको होर्डिङ बोर्ड

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, इरानका तात्कालिक सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई इरानमा अमेरिका र इजरेलले फेब्रुअरीमा चलाएका सैन्य कारबाहीमा मारिएका थिए

अझ महत्त्वपूर्ण कुरा के हो भने युद्धका क्रममा आफ्ना धेरै नेता, उच्च तहका सैन्य कमान्डरहरू र वरिष्ठ सुरक्षा अधिकारीहरू मारिँदा पनि इस्लामिक गणतन्त्र टिकिराख्यो। त्यस्तो स्थितिमा पनि राजनीतिक र सैन्य प्रणाली निष्प्रभावी भएन र छिट्टै नै नयाँ पदाधिकारीहरू नियुक्त गरिए।

युद्धअघि केही पश्चिमा अधिकारीहरू र विश्लेषकहरूले तीव्र सैन्य अभियानका साथै इरानका शीर्ष नेता र कमाण्डरहरूको हत्याले नयाँ प्रकारका सरकारविरोधी प्रदर्शनहरू जन्माउन सक्ने र सम्भवतः सत्तासमेत ढल्न सक्ने ठानेका थिए। तर त्यसो भएन।

युद्धअघि महिनौँसम्म देशै हल्लाएका प्रदर्शनहरू सडकबाट निकै हदसम्म मत्थर भएर गए। सुरक्षा निकायहरूले नियन्त्रण कडा बनाए, गिरफ्तारीहरू बढे र केही मृत्युदण्डसमेत दिइए। सोही समयमा सरकारी सञ्चारमाध्यमहरूले देशका विभिन्न सहरहरूमा सरकारको समर्थनमा निस्किएका र्‍यालीहरू बारम्बार देखाए।

इरानी संसदका प्रवक्ता गालिबाफ

तस्बिर स्रोत, Iranian Parliament Speaker Office/Handout/Anadolu via Getty Images

तस्बिरको क्याप्शन, इरानका शीर्ष वार्ताकार मोहम्मद बागेर गालिबाफले भने: "अहिलेको अवस्थाको निरन्तरता अमेरिकाका लागि असहनीय छ भन्ने हामीलाई थाहा छ, जबकि हामीले अहिलेसम्म सुरुवात पनि गरेका छैनौँ।"

इरानी संसद्‌का प्रवक्ता तथा शीर्ष वार्ताकार मोहम्मद बागेर गालिबाफले हालै लेखे: "अहिलेको अवस्थाको निरन्तरता अमेरिकाका लागि असहनीय छ भन्ने हामीलाई थाहा छ, जबकि हामीले अहिलेसम्म सुरुवात पनि गरेका छैनौँ।"

इरानी नेतृत्वका लागि केवल जोगिनु मात्रै पनि पहिले नै जितका रूपमा गणना हुन सक्छ, विशेष गरी त्यतिखेर जतिखेर तेहरानले उक्त क्षेत्रका अमेरिकी सैन्य अड्डा तथा नागरिक पूर्वाधारहरू र इजरेलमा समेत पुर्‍याइएका क्षतितर्फ सङ्केत गर्छ।

यही कारणले गर्दा तेहरान अर्को चरणको युद्धबाट बच्न विशेष हतारोमा देखिँदैन। इरानी अधिकारीहरू आफ्नो देशसँग आर्थिक पीडा, सैन्य दबाब र लामो सङ्घर्ष सहने क्षमता आफ्ना विरोधीहरूभन्दा बढी भएको ठान्छन्।

होर्मुज जलमार्ग

तस्बिर स्रोत, Asghar Besharati/Getty Images

तस्बिरको क्याप्शन, इरानले अहिले होर्मुज जलमार्ग पुन: खोल्ने विषयलाई सहुलियतका रूपमा नभइ वार्तामा प्रयोग हुने साधनका रूपमा हेर्छ

त्यसका साथै उनीहरू होर्मुज जलमार्ग बन्द हुँदा विश्व अर्थतन्त्रमा इरानको अझै कति प्रभाव छ भन्ने देखिएको ठान्छन्। उक्त जलमार्ग ऊर्जा आपूर्तिको "चोकपोइन्ट" मात्र भन्दा अधिक भएको प्रमाणित भयो। यो अवरुद्ध हुँदा ढुवानी, खाद्य आपूर्ति, बीमा लागत तथा समग्र अन्तर्राष्ट्रिय व्यापारमा असर पर्‍यो। इरानले अहिले होर्मुज जलमार्ग पुन: खोल्ने विषयलाई सहुलियतका रूपमा नभइ वार्ताको प्रयोग हुने साधनका रूपमा हेर्छ।

क्षेत्रीय तहमा यसको अझ व्यापक असर पर्न सक्छ। यो द्वन्द्वपछि इरान थप बलियो महसुस गर्दै बाहिरिन सक्छ, विशेषगरी ती छिमेकी राष्ट्रहरूप्रति जसले अमेरिकी सैन्य अड्डा राख्नुका साथै युद्धका क्रममा अप्रत्यक्ष रूपमा अमेरिकी तथा इजरेली कारबाहीलाई सघाए।

ध्वस्त भएका भवनका भग्नावशेषमा केही खेलौना

तस्बिर स्रोत, NurPhoto via Getty Images

तस्बिरको क्याप्शन, युद्धका क्रममा इरानले आफ्ना वरिष्ठ सैन्य अधिकारीहरू गुमाउनुका साथै मुख्य पूर्वाधारहरूमा पनि गम्भीर क्षति बेहोरेको छ

यसको अर्थ इरानले चाहेका सबै कुरा हासिल गर्‍यो भन्ने होइन। यसले ठूलो क्षति बेहोरेको छ, वरिष्ठ सैन्य अधिकारीहरू तथा महत्त्वपूर्ण पूर्वाधारहरू गुमाएको छ। यो अझै पनि गम्भीर आर्थिक दबावमा छ जसले फेरि प्रदर्शनहरू भड्किन सक्ने अवस्था सिर्जना गर्न सक्छ। अमेरिका र इजरेलले पनि उन्नत हतियार र गुप्तचर क्षमताको प्रयोग गर्दै इरानको भित्री भागसम्मै गहिरो प्रहार गर्न सक्ने क्षमता देखाएका छन्।

तर युद्धहरू सधैँ रणभूमिमा मात्र तय हुँदैनन्।

अन्ततः युद्धका आधारमा नभइ त्यसलाई अन्त्य गर्ने वार्ताका परिणामहरूका आधारमा यो द्वन्द्वको मूल्याङ्कन हुन सक्छ। वाशिङ्टनले इरानलाई परमाणु सम्बन्धी ठूलो सम्झौता गर्न बाध्य बनाउन सकेमा अमेरिकाले त्यसलाई आफ्नो सफलता ठान्ने छ। तर फेरि तेहरानले क्षेत्रीय प्रभाव कायम राख्दै आफ्नो परमाणु कार्यक्रमलाई पूर्ण रूपमा रोक्न नपर्ने अवस्था सुरक्षित गर्न सक्यो भने इरानले त्यसलाई आफ्नो विजयका रूपमा प्रस्तुत गर्ने छ।

यति बेला दुवै पक्षले आफ्ना मानिसहरूलाई आफू विजयी भएको बताइरहेका छन्। त्यसको वास्तविक जबाफ भने वार्ता सकिएपछि मात्र स्पष्ट हुन सक्छ। त्यो पनि यदि दुवै पक्ष वार्ताको टेबुलमा बसे र अन्त्यसम्म त्यहाँ टिकिराखे भने मात्रै।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।