ट्रम्पद्वारा रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा

तीन दिने युद्धविरामको अवधिमा कैदी साटासाट पनि गरिने छ

तस्बिर स्रोत, Reuters

    • Author, रोबर्ट ग्रीनल
  • पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा गरेका छन्।

नाजी जर्मनीमाथि तत्कालीन सोभियत सङ्घले विजय हासिल गरेको सम्झनामा खुसियाली मनाउन रुस र युक्रेनले घोषणा गरेको एउटा छुट्टै युद्धविराम उल्लङ्घन गरेको आरोप एकअर्कामाथि लगाइरहेका बेला ट्रम्पले पछिल्लो घोषणा गरेका हुन्।

तीन दिने युद्धविरामका क्रममा दुई देशबीच एक/एक हजार जना कैदीहरू साटासाट गरिने पनि ट्रम्पले उल्लेख गरेका छन्।

त्यसलगत्तै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराममा युक्रेनको संलग्नता पुष्टि गरे भने रुस पनि त्यसमा सहमत भएको रुसी सञ्चारमाध्यमले उल्लेख गरे।

त्यसअघि दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राखेका थिए र मस्कोका मेयरले उनको शहरलाई रातभरि ड्रोन हमलाको निशाना बनाइएको बताएका थिए।

पुटिन र जेलेन्स्कीको प्रशंसा

ट्रम्पले पुटिन र जेलेन्स्कीप्रति आभार व्यक्त गरेका छन्

तस्बिर स्रोत, Jim WATSON / AFP via Getty Images

आफ्नो पोस्टमा ट्रम्पले तीन दिने युद्धविरामका लागि व्यक्तिगत रूपमा आफूले आग्रह गरेको भन्दै त्यसमा सहमत भएकोमा राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशंसा गरेका छन्।

"रुस र युक्रेनबीच मे ९, १० र ११ तारिखका दिन तीन दिने युद्धविराम हुने घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ। रुसमा विजय दिवस मनाइन्छ र युक्रेनमा पनि उत्सव मनाइन्छ। किनभने तिनीहरू द्वितीय विश्वयुद्धका पनि हिस्सा थिए।"

"यस युद्धविराममा लडाइँका सबै गतिविधि बन्द गर्ने र दुवै देशबाट एक/एक हजार जना कैदीहरूको साटासाट समावेश हुने छ। मेरो अनुरोधमा सहमत भएकोमा म राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभारी छु।"

"आशा छ यो लामो, घातक र कठिन युद्धको अन्त्यको सुरुवात हो। यो द्वितीय विश्वयुद्धपछिको सबैभन्दा ठूलो द्वन्द्व हो र यसलाई अन्त्य गर्न वार्ता जारी छ," उनले अगाडि लेखेका छन्।

यसअघि पुटिनले विजय दिवस मनाउनुअघि मे ८ तारिखदेखि ९ तारिखसम्म लागु रहने एउटा युद्धविरामको घोषणा गरेका थिए। विजय दिवस मनाउने परेडमा आक्रमण नगर्न रुसले युक्रेनलाई चेतावनी दिएको छ।

युक्रेनलाई रुसको चेतावनी

रुसी रक्षा मन्त्रालयले मस्कोमाथि हमला गरिएमा किएभको केन्द्रमा एउटा "भीषण जबाफी क्षेप्यास्त्र हमला," थालिने चेतावनी दिएको छ।

उसले विदेशी कूटनीतिज्ञहरूलाई मे ९ तारिखअगाडि युक्रेनी राजधानीबाट अन्यत्र जान चेतावनी समेत दिएको छ।

झन्डै दुई दशकयता पहिलो पटक परेडमा सैनिक उपकरणहरूको प्रदर्शनी गरिने छैन। युक्रेनले कार्यक्रमहरू बिथोल्न सक्ने आशङ्कामा मस्कोमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

सुरक्षाको कारण देखाउँदै मस्को र सेन्ट पिटर्सबर्गका बासिन्दाहरूलाई मोबाइलमा इन्टरनेटको पहुँच सीमित हुन सक्ने भनिएको छ।

सैनिक परेडमा सैन्य उपकरणहरू प्रदर्शन गरिने छैन

तस्बिर स्रोत, Getty Images

विजय दिवसमा मस्कोमा ठूलो सङ्ख्यामा विदेशी पाहुनाहरू उपस्थित हुँदै आएकामा यसपालि बेलारुस, मलेशिया र लाओसका नेता एवं केही सङ्ख्यामा अरू अतिथिहरूको सहभागिता रहने छ।

अमेरिकाले रुस र युक्रेनबीच कैयौँ चरणका वार्ताको मध्यस्थता गरिसकेको छ, तर ती वार्ताहरूले अहिलेसम्म नतिजा दिन सकेका छैनन्।

मध्यपूर्वको युद्धतर्फ अहिले वाशिङ्टनको ध्यान मोडिएको भन्दै चिन्ता समेत व्यक्त हुँदै आएका छन्।

शुक्रवार इटलीको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबिओले अमेरिका रुस र युक्रेनबीच वार्ता गराउन अझै मध्यस्थता गर्न तयार रहेको बताएका थिए। तर वार्ताहरूमा प्रगति नहुने भए अमेरिकाले समय खेर नफाल्ने उनले टिप्पणी गरे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।