फोन चार्ज गर्ने तार धेरै नटिक्नुको कारण प्रयोगकर्ताको 'खराब' बानी

तस्बिर स्रोत, Serenity Strull/ BBC/ Getty Images
- Author, टामस जर्मेन
- पढ्ने समय: ५ मिनेट
हामीले आफ्नो दैनिक जीवनमा सधैँ प्रयोग गर्ने भए पनि 'चार्जिङ केबल' अर्थात् फोन चार्ज गर्ने तारलाई खासै वास्ता गरेका हुँदैनौँ। तार बिग्रिएपछि ब्याटरी सकिन लागेको फोन हातमा पर्दा मात्र हामी झसङ्ग हुन्छौँ। चार्जिङ केबलहरू तपाईँकै कारण बिग्रिन्छन्। यहाँ तिनको हेरचाह र प्रयोग गर्ने तरिकाबारे चर्चा गरिएको छ।
माइकल पेक्ट चार्जिङ केबललाई "निकै दुःख" दिन्छन्। उनी यूनिभर्सिटी अफ मेरिल्यान्डस्थित सेन्टर फर एड्भान्स्ड लाइफ साइकल इन्जिनिअरिङका संस्थापक हुन्। प्रविधि कम्पनीहरू आफूले उत्पादन गरेका उपकरणहरू उक्त प्रयोगशालामा पठाएर ती किन बिग्रिन्छन् भनेर पत्ता लगाइदिन आग्रह गर्छन्। "हामी शवगृहजस्तै हौँ," पेक्ट भन्छन्, "तर विद्युतीय उपकरणका लागि।"
उनको टोलीले केबल थिच्ने, तन्काउने, धेरै पटक जोड्ने जस्ता गर्न सकिने सबै कठोर व्यवहार यूएसबी केबलसँग गर्दै आएको छ। त्यसपछि उनी एक्स–रेमार्फत् परीक्षण गरेर ती तारहरूमा कस्तो क्षति पुगेको छ भनेर अध्ययन गर्छन्।
चार्जिङ केबल बेर्ने उत्तम तरिका के हो? मैले पेक्टलाई यो साधारण प्रश्न सोधेँ।
म तार खुकुलो हुने गरी गोलो बनाएर बेर्नुपर्छ भन्ठान्थेँ! मलाई तार धेरै कसिँदा वा गुजमुजिँदा चाँडै बिग्रिन्छ जस्तो लाग्थ्यो। मैले चिनेजानेका धेरै मानिसको धारणा पनि त्यस्तै छ। त्यसैले त्यो तरिका वैज्ञानिक रूपमा पनि ठिक छ भन्ने सुन्न पाइएला जस्तो मलाई लागेको थियो।
तर मैले आफू र लाखौँ मानिसले त्यसरी तार बेर्न समय खेर फालेका रहेछन् भन्ने थाहा पाएँ।
"त्यसले खासै फरक पार्दैन," पेक्ट भन्छन्। "हामीले ठूला कम्प्युटर कम्पनीहरूका लागि काम गरेका छौँ। गलत तरिकाले बेरेका कारणले मात्र केबल बिग्रिएको हामीले कहिल्यै पाएका छैनौँ।"
मलाई त्यो कुरा पत्याउन निकै गाह्रो लाग्यो। त्यसपछि मैले अरू विज्ञहरूसँग पनि कुरा गरेँ।
सबैले उही कुरा भने - चार्जिङ केबल जसरी बेरे पनि हुन्छ। तर अरू खराब बानीका कारण केबल चाँडै बिग्रिने गरेका रहेछन्।
म आफूले सिकेका कुरा अब तपाईँहरूलाई भन्दै छु। चार्जिङ केबलहरू हाम्रो लागि निकै उपयोगी हुन्छन्। तर तिनले काम गर्न छोडेपछि मात्र हामी तिनको महत्त्व बुझ्छौँ। तार बिग्रियो भने हाम्रो फोन वा विद्युतीय उपकरण चार्ज गर्ने उपाय नै हुँदैन।
तिनको प्रयोग र हेरचाह राम्ररी गरियो भने हाम्रो खर्च र पर्यावरण पनि जोगिन्छ भन्ने कुरा बिर्सिनुहुँदैन।
राम्रो व्यवहार
"यो संसारमा दुई प्रकारका मानिस छन्। चार्जिङ केबल बिगार्ने र नबिगार्ने," दीर्घकालीन प्रयोग र उपभोक्ता अधिकारसम्बन्धी संस्था आईफिक्स्इट का सहसंस्थापक काइल वाइन्स भन्छन्। "स्वीकार गर्न गाह्रो भए पनि म बिगार्ने खालमै पर्दोरहेछु। चार्जिङ केबल बिग्रिँदा प्रायजसो तार र प्लग जोडिने ठाउँमै समस्या देखिएको हुन्छ।"
अब केबलको संरचना बुझौँ। चार्जिङ केबलमा धातुका मसिना तारहरू हुन्छन् तर तिनलाई विद्युत् प्रवाह हुन नदिने पदार्थबाट बनेको खोलले ढाकिएको हुन्छ।
केबलको एउटा छेउमा ती मसिना तारलाई प्लगसहितको कनेक्टरमा जोडिएको हुन्छ। प्रायजसो त्यही जोर्नीमा समस्या देखा पर्छ। यसो सोचविचार गर्ने हो भने कारण स्पष्ट बुझिन्छ। केबल प्रयोग गर्दा तारले कनेक्टरको आड पाउँछ अनि तार बाङ्गिने ठाउँ पनि त्यही हो।
एउटा पेपर क्लिपको उदाहरण हेरौँ। बारम्बार एउटै ठाउँमा मोड्दा त्यो भाँचिन्छ। अमेरिकाको वुस्टर पोलिटेक्निक इन्स्टिट्यूटका मक्यानिकल एन्ड मटिअरिअल्स इन्जिनिअरिङ विभागका प्रमुख रोबर्ट हायर्स भन्छन्, "सूक्ष्म तहमा हेर्ने हो भने लचकताको सीमा नाघ्ने गरी मोड्दा परमाणुहरूबीचको बन्धन चुँडिन्छ र स्थान सर्दा फेरि बन्छ।"
अनि 'डिस्लोकेशन' भनिने त्रुटिहरूको थुप्रो बन्छ जसमा परमाणुहरू लामबद्ध हुँदैनन्, गलैँचामा चाउरी परे जस्तो हुन्छ। त्यस्ता त्रुटिहरू धेरै हुँदा धातु कडा बन्छ र चुँडिन्छ अनि पेपर क्लिप बिग्रिन्छ। चार्जिङ केबलभित्र धातुका तारहरू पनि त्यसरी नै बिग्रिन्छन्।

तस्बिर स्रोत, Serenity Strull/ BBC/ Getty Images
यो कुरा बुझेपछि तपाईँ आफूले गर्दै आएका सामान्य गल्तीहरू दोहोर्याउनु हुन्नहोला। "प्लगबाट हटाउन धेरै मानिसहरू ओछ्यानमा पल्टिएर केबलको लामो भाग तान्छन्, म पनि कहिलेकाहीँ अल्छी लागेको बेला त्यसै गर्छु," पेक्ट भन्छन्। "कनेक्टर नै निकाल्दा नपर्ने भए पनि त्यसरी तान्दा कनेक्टरमा अतिरिक्त दबाव पर्छ,"
हायर्सका अनुसार निकै छोटा केबलहरू प्रयोग गर्दा पनि समस्या निम्तिन्छ। सकेटसम्म पुर्याउन केबललाई तन्काउँदा पनि त्यो बिग्रिन्छ। ओछ्यान वा अन्यत्र पल्टिएर चार्जमा राखेको फोन चलाउँदा कनेक्टर बाङ्गो कोणमा छ भने पनि समस्या निम्तिन्छ।
"फोन चार्जमा जोडेर कारको कप होल्डरमा राखेको पनि देख्छौँ," वाइन्स भन्छन्। "त्यसो गर्दा फोनको तौल र गाडी उफ्रिँदा पर्ने दबाव केबलको एउटै ठाउँमा पर्छ।" त्यसो गर्न छोड्नुहोस्। त्यसो गर्दा बिगार मात्रै हुन्छ।
तपाईँले जान्नुपर्ने अर्को महत्त्वपूर्ण कुरा लामा र गर्हौँ केबलहरू बेर्ने तरिका हो। चलचित्र वा अडिओमा काम गर्ने जोसुकैलाई सोध्नुभयो भने उनीहरूले तपाईँलाई केबल दोबार्ने "ओभर-अन्डर" विधिबारे बताउने छन्। यद्यपि वाइन्स र अरू विज्ञहरूका अनुसार तपाईँहरूले प्रयोग गर्ने मसिना र लचिला केबलमा त्यस्तो विधि उपयोगी हुँदैन।
कस्तो केबल धेरै टिक्छ
वाइन्सका अनुसार केबल धेरै कसिलो गरी बेर्नु राम्रो होइन। तर बाङ्गिने गरी नमोडे वा कनेक्टर नतानेसम्म
बेर्दैमा केबल बिग्रिने सम्भावना निकै कम हुन्छ। अन्ततः सबै कुरा कनेक्टरसँग गरिने व्यवहारमा निर्भर हुन्छ।
उक्त भाग राम्ररी चलाउने हो भने चार्जिङ केबल र चार्जर लामो समय टिक्ने हार्यस बताउँछन्।
तर केबल पनि राम्रो हुनुपर्छ। मैले कुरा गरेका सबै जनाका अनुसार सस्ता र कमसल केबलहरूका कारण समस्या उत्पन्न हुने गरेको छ। सस्तो खोज्नुको साटो बलियो केबल किन्ने हो भने बारम्बार हुने खर्च जोगिन्छ।
'ब्रेडेड केबल' पाइन्छ भने त्यो रोज्नुहोस्। त्यस्तो केबलमा तारबाहिर प्लास्टिक नभई कसिलो कपडा वा नाइलनको जाली बाटिएको हुन्छ। "त्यो राम्रो तरिका हो," वाइन्स भन्छन्, "एपलले पनि नयाँ मोडलमा 'ब्रेडेड केबल' प्रयोग गर्न थालेको छ किनभने त्यसरी बाटिएको जालीले तारलाई बलियो र सुरक्षित बनाउँछ।"
यी कुराहरू वस्तुतः खासै ठूला होइनन्। केबल तपाईँ हाम्रो जीवनको सर्वाधिक आकर्षक प्रविधि पनि होइन। त्यसले काम गरे पुग्छ। उपयोगी हुँदा हामीले त्यसलाई खासै वास्ता नगरे पनि हुन्छ।
तर गलत तरिकाले बेवास्ता गरियो भने चाहिँ सूक्ष्म रूपमा हुन थालेको क्षतिले पछि ठूलो रूप लिन्छ र तपाईँ अप्ठ्यारोमा पनि पर्न सक्नुहुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























