इरानसँगको वार्ता सकारात्मक दिशामा, नोभेम्बर ३ अघि आक्रमण हुँदैन: ट्रम्प

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश र इरानबीचको वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन्।
नोभेम्बर ३ तारिखमा हुने मध्यावधि चुनावअघि इरानमाथि कुनै आक्रमण नहुने पनि उनले बताएका छन्।
गत फेब्रुअरी २८ तारिखमा अमेरिकाले इजरेलसँग मिलेर 'अपरेशन एपिक फ्यूरी' अन्तर्गत इरानमाथि आक्रमण गरेको थियो।
त्यसयता उनले इरानविरुद्ध छिट्टै विजय हासिल गर्ने उद्घोष गर्दै आए पनि दुई देशबीचको द्वन्द्व यथास्थितिमा कायम छ।
केही अमेरिकी सञ्चारमाध्यमहरूले नोभेम्बरको मध्यावधि चुनावअगाडि नै पेन्टागनले इरानमाथि हमला गर्ने सम्भावनाका विवरण दिइरहेका बेला ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले इरानसँग अमेरिकाले उनकै शब्दमा 'सार्थक वार्ता' गरिरहेको पनि बताए।
ट्रम्पले के भनेका हुन्?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक रहेको बताए पनि नाकाबन्दी पूर्ण रूपमा कायमै रहने बताएका छन्।
"इस्लामिक गणतन्त्र इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ। म सबैलाई स्पष्ट पार्न चाहन्छु कि इरान आर्थिक, सैन्य र दुवै पक्षमा निकै खराब अवस्थामा छ। यसका बावजुद नाकाबन्दी पूर्ण रूपमा कायमै रहने छ। स्ट्रेट अफ होर्मुजबाट उल्लेख्य रूपमा तेल गइरहेको छ। हिजो राति मात्र २२ मिलियन ब्यारेल तेल पार भयो र एक ब्यारेल पनि इरानबाट आएन। न त इरानमा नै गएको छ," सामाजिक सञ्जाल ट्रूथ सोसलमा उनले लेखेका छन्।
"हामी अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि चुनावअघि इरानमाथि कुनै पनि बेला आक्रमण गर्ने छैनौँ। इरानसँग परमाणु हतियार हुने छैन।"
यसअघि स्ट्रेट अफ होर्मुज पुन: खुलाउने विषयमा इरानले अघि सारेको प्रस्ताव ट्रम्पले अस्वीकार गरेका थिए।
त्यसपछि तेहरानले अमेरिकी वार्ताकारहरूबाट आधिकारिक धारणाको प्रतीक्षा गर्ने जनाएको थियो।
ट्रम्पले प्रस्ताव अस्वीकार गरेको इरानका विदेशमन्त्री अब्बास अरागचीले टेलिग्राममार्फत् बताएका हुन्।
त्यसपछि ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले इरानको प्रस्ताव "स्वीकार्य नभएको" भन्दै तेहरानले ठूलो घाटा बेहोरिरहेकोले स्ट्रेट अफ होर्मुज तत्काल खुलाउन चाहेको बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















