होर्मुज जलमार्ग एक साताभित्रै खोल्ने गरी अमेरिकालाई इरानको सम्झौता प्रस्ताव

तस्बिर स्रोत, Bloomberg via Getty Images
इरानका विदेशमन्त्री अब्बास अरागचीले एक साताभित्रै होर्मुज जलमार्ग पुनः खोल्न सक्ने गरी आफ्नो देशले अमेरिकालाई एउटा सम्झौता प्रस्ताव गरेको बताएका छन्।
"आवश्यक शर्तहरू पूरा भएमा" त्यो सम्भव रहेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घमा अरागचीले पत्रकारहरूलाई बताए। उनका अनुसार गत जुन महिनामा हस्ताक्षर गरिएको समझदारीपत्रमै ती शर्तहरू समावेश छन्।
"अब निर्णय गर्ने कुरा अमेरिकाको हातमा छ," अरागचीले भने। उक्त योजना कतारमार्फत् अमेरिकासम्म पुर्याइएको उनले बताए।
इरानको प्रस्तावबारे जिज्ञासा राख्दा एक अमेरिकी अधिकारीले मध्यस्थकर्ताहरूमार्फत् सकारात्मक वार्ता भइरहेको र परमाणु मुद्दाहरूमाथि छलफल पनि त्यसमा समावेश रहेको बीबीसीलाई बताए।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "इस्लामिक गणतन्त्र इरानलाई ध्वस्त पारिदिने" चेतावनी यसै साताको शुरूतिर दिएका थिए।
ऊर्जा मूल्यमा असर
अमेरिका र इजरेलले गत फेब्रुअरी २८ तारिखमा इरानमाथि हवाई आक्रमण शुरू गरे, जसको बदलास्वरूप इरानले इजरेल तथा खाडी देशहरूमा रहेका अमेरिकी हवाई अखडाहरूमाथि आक्रमण गर्नुका साथै होर्मुज जलमार्ग बन्द गरिदियो।
लडाइँ शुरू हुनुभन्दा अगाडि विश्वको लगभग २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास उक्त जलमार्ग भएर ढुवानी हुने गर्थ्यो। तर होर्मुज जलमार्गमा उत्पन्न अवरोधले ऊर्जाको मूल्यमा व्यापक उतारचढाव निम्त्याएको छ।
खास गरी आउँदो नोभेम्बरमा हुने अमेरिकी चुनावको पृष्ठभूमिमा राष्ट्रपति ट्रम्पमाथि जारी द्वन्द्व अन्त्य गर्ने उपाय खोज्न दबाव पनि बढाएको बताइन्छ।
"यदि आवश्यक शर्तहरू पूरा गरिन्छ भने जलमार्ग पुनः खोल्न सकिन्छ र सात दिनभित्रै सामान्य आवागमन पुनर्स्थापित गर्न सकिन्छ," अरागचीले पत्रकारहरूसँग भने।
इरानले अपेक्षा गरेको अमेरिकी कदमबारे उनले स्पष्ट नपारे पनि "अमेरिकाले चाल्नुपर्ने कदमहरू नयाँ नभएको र पुरानै समझदारीपत्रमा ती सबै समावेश रहेको" उनले बताए।

तस्बिर स्रोत, ISNA/WANA/REUTERS
'सबै तयारी पूरा'
"म तपाईँलाई भन्न सक्छु कि यदि अमेरिकी पक्ष होर्मुजको जलमार्ग पुनः खोल्ने सम्झौतामा पुग्न गम्भीर छ भने सबै तयारीहरू पूरा भइसकेका छन्," अरागचीले अगाडि थपे।
होर्मुज जलमार्गमाथि नियन्त्रण कायम गरिएसँगै अमेरिका "धेरै बलियो स्थितिमा रहेकोले आफूहरूलाई कुनै हतार नरहेको" एक अमेरिकी अधिकारीले बीबीसीलाई बताए।
युद्धविराम सुनिश्चित गर्ने र होर्मुज जलमार्ग कम्तीमा आंशिक रूपमा पुनः खोल्ने उद्देश्यका साथ अमेरिका र इरानबीच गत जुन १८ तारिखमा समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।
इरानले कहिल्यै पनि परमाणु अस्त्र प्राप्त नगर्ने विषय चौधबुँदे सम्झौतामा समावेश थियो।
अमेरिका, इरान र तिनीहरूका साझेदारहरूले "सबै मोर्चा" मा सैनिक कारबाही अन्त्य गर्ने तथा अमेरिकी नौसैनिक नाकाबन्दीको अन्त्य एवं प्रतिबन्धहरूमा राहत जस्ता विषयहरू सम्झौतामा समावेश थियो।
इरानले होर्मुज जलमार्ग भएर व्यावसायिक जहाजहरूको सुरक्षित मार्ग सुनिश्चित गर्न आवश्यक प्रयास गर्ने तथा भविष्यमा ढुवानी व्यवस्थापनबारे ओमानसँग वार्ता गर्ने विषय पनि सम्झौताले समेटेको थियो।
तर दुवै पक्षले पुनः एकअर्कामाथि हमलाहरू थालेपछि केही समयमै त्यो सम्झौता भङ्ग हुन पुग्यो।
इरानलाई हूथीको साथ
अनुमतिबेगर होर्मुज जलमार्ग पार गर्न खोज्ने जहाजहरूमाथि आक्रमण गर्ने गरिएको इरानले बताउने गरेको छ।
अमेरिकाले होर्मुज जलमार्गमा रहेका इरानी अड्डाहरूका साथै तटदेखि टाढा रहेका इरानी ट्याङ्करहरूमा आक्रमण गर्ने गरेको छ।
अमेरिकाले इरानी बन्दरगाहहरूमाथि नाकाबन्दी पनि जारी राखेको छ, जसका कारण इरानको अर्थतन्त्रमा निकै असर परेको छ।
त्यसयता उक्त जलमार्ग भएर तेल निर्यात गर्न अमेरिका सफल भएको ट्रम्पले दाबी गर्दै आएका छन्।
ढुवानी डेटाअनुसार पछिल्ला १० दिनको औसत हेर्दा दैनिक १८ वटा जहाजहरूले इन्धन ओसारपसार गरिरहेका छन्, यद्यपि केही दिनमा उक्त सङ्ख्या नौसम्ममा झरेको देखिन्छ।
यद्यपि इरान समर्थित यमनका हूथीहरूले रेड सी हुँदै साउदी अरबबाट तेल निर्यातमा अवरोध पुर्याउने उद्देश्यले आक्रमणहरू तीव्र पारेका छन्।
आक्रमण चर्काएको उक्त समूहले यसै महिना रेड सी तटका ठूला रणनीतिक महत्त्वका भागहरूमाथि कब्जा गरेको छ।
त्यसमा विश्वव्यापी ढुवानीका निम्ति अर्को महत्त्वपूर्ण मार्ग बाब अल-मान्डब जलमार्गमा पर्ने मोखा बन्दरगाह पनि समावेश छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















