दुई देशका अधिकारीको वार्ता हुँदै गर्दा इरानलाई 'ध्वस्त पारिदिने' संयुक्त राष्ट्रसङ्घमा ट्रम्पको चेतावनी

तस्बिर स्रोत, EPA/Shutterstock
- Author, बर्न्ड डीबसमन जुनियर, खशाएर जोनीडी, सारा स्मिथ र नाडा टफिक
- Published
- पढ्ने समय: ३ मिनेट
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अथवा शान्ति सम्झौता गर्ने भन्नेबारे आफूले "ठूलो निर्णय" को सामना गर्नुपरेको संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा बताएका छन्।
मङ्गलवार न्यूयोर्कमा उनको सम्बोधनका बेला इरानी प्रतिनिधिमण्डलका एक जना सदस्य मात्र त्यहाँ उपस्थित थिए।
ट्रम्पले इरान द्वन्द्व समाधान नभए आफूले इस्लामिक गणतन्त्रलाई "पूर्ण रूपमा ध्वस्त" पार्न सक्ने चेतावनी दिए।
आफ्नो सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपतिले "विश्वव्यापी सरकार" को अवधारणालाई अस्वीकार गरे भने रुस-युक्रेनबीच शान्ति सम्झौताको मध्यस्थता गर्ने वाचा गरे।
आर्टिफिशल इन्टेलिजन्स एआईको दौडमा अमेरिकाको विजय सुनिश्चित गर्ने वाचा उनले गरे।
ट्रम्पको प्रयास
उच्चस्तरीय कूटनीति वार्ताहरू भएकै दिन ट्रम्पका टिप्पणीहरू आएका छन्, जसमा अमेरिकी र इरानी प्रतिनिधिहरूबीच भएको वार्ता पनि समावेश छ।
मध्यपूर्व र युक्रेनमा जारी युद्धहरूबाट ट्रम्पको विदेश नीति परीक्षणको कसीमा छ र उनले एक दर्जनभन्दा बढी विश्व नेताहरूसँग भेटवार्ता गर्दै छन्।
राष्ट्रसङ्घीय महासभामा उनले आफ्नो भाषण अर्थतन्त्र, आप्रवासन, सीमा व्यवस्थापन र हिंसात्मक अपराधविरुद्ध लड्ने क्षेत्रमा आफ्ना उपलब्धिहरूको चर्चा गर्दै प्रारम्भ गरे।
ट्रम्पका अभिव्यक्तिहरू म्यानहटनमा उपस्थित कूटनीतिज्ञहरूलाई भन्दा नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावमा मतदाताहरूलाई आकर्षित गर्ने प्रयास जस्तो देखिन्थ्यो।
आफ्नो सम्बोधनको धेरैजसो हिस्सा उनले इरानसँगको युद्धलाई जायज ठहराउनमा खर्चिए। गत फेब्रुअरीमा अमेरिका र इजरेलले इरानमाथि आक्रमण शुरू गरेदेखि विश्वव्यापी तेलको मूल्य बढेको छ भने ट्रम्पको लोकप्रियता पनि खस्किएको छ।

तस्बिर स्रोत, Reuters
ट्रम्पको स्वर राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसका अभिव्यक्तिभन्दा भिन्न थियो, जसले विश्वव्यापी विभाजन गहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै संसारभरिका मानिसहरूको "अन्तरनिर्भरता" मा जोड दिए।
द्वन्द्वले तेहरानलाई परमाणु अस्त्र हासिल गर्नबाट रोकेको र सम्झौताको सट्टा शक्ति अर्थात् अल्टिमेटमले शान्तिको महत्त्व दर्शाएको ट्रम्पले टिप्पणी गरे।
"के इरानसँग एउटा त्यस्तो सम्झौता हुन सक्छ जसले उनीहरूलाई पुनर्निर्माण गर्ने र पहिलाभन्दा अझ ठूलो राष्ट्र बन्ने मौका दिन सक्छ?," उनले प्रश्न गरे।
"अथवा मैले इस्लामिक गणतन्त्रलाई पूर्ण रूपमा चाँडै नष्ट पार्नुपर्छ ताकि उनीहरूले मानिसहरू र देशहरूलाई मार्ने तथा नष्ट पार्ने फेरि कहिल्यै अवसर नपाऊन्। के मैले उनीहरूलाई नर्कमा पठाउनुपर्छ?"
दबावको रणनीति
ट्रम्पले इरानसँगको सम्झौता नोभेम्बरको चुनावपछि तुरुन्तै हुनेमा आफू विश्वस्त रहेको दाबी पनि गरे।
ट्रम्पका अभिव्यक्तिहरूले वार्ता खुला राख्दै बल प्रयोग गर्ने धम्की दबाव सिर्जना गर्ने विदेश नीतिको रणनीतिलाई सङ्केत गर्छन्।
अमेरिकी अधिकारीहरूले महासभाको 'साइडलाइन'मा इरानी प्रतिनिधिमण्डलसँग गरेको तीन घण्टा लामो बैठक "निकै उत्पादक" भएको ट्रम्पले पछि पत्रकारहरूलाई बताए।
इरानको सरकारी टेलिभिजनले विदेशमन्त्री अब्बास अरागचीले मध्यपूर्वका लागि अमेरिकी विशेषदूत स्टिभ विट्कफसँग भेटेवार्ता गरेको पुष्टि गर्यो। यद्यपि तेहरानस्थित अधिकारीहरूले त्यसबारे कुनै टिप्पणी गरिसकेका छैनन्।
संयुक्त राष्ट्रसङ्घको भवनबाट बाहिर निस्कँदै गर्दा बीबीसीले विट्कफलाई बैठकहरू कस्तो भयो भनी सोधेकोमा उनले औँठा देखाउँदै राम्रो भएको सङ्केत गरे।
"उनीहरूले सफलतापूर्वक छलफलको एउटा चरण पूरा गरेका छन्, हामीलाई विश्वास छ कि त्यो रचनात्मक र आशाजनक साबित हुने छ। मध्यस्थकर्ताहरूले आफ्नो काम जारी राख्ने छन्," विट्कफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















