'घाम लाग्दा पोल्छ, पानी पर्दा चुहिन्छ' : भोटेकोशी-त्रिशूली बाढीपीडितको व्यथा

    • Author, शक्तिमाया तामाङ
    • Role, नुवाकोट
  • Published
  • पढ्ने समय: ३ मिनेट

भोटेकोशी-त्रिशूली बाढीबाट विस्थापित भएर अस्थायी संरचनामा बस्दै आएका प्रभावित मानिसहरूलाई अहिलेको वर्षाले थप समस्या निम्त्याएको उनीहरूले बताएका छन्।

पालमुनि बस्दै आएका पीडितहरू भन्छन्, "माथिबाट पानी चुहिने र भुइँबाट चिसो आउने भएर बस्नै गाह्रो भयो।"

गत भदौ १० गते अकस्मात्‌ आएको बाढीपछि विस्थापित भएका मानिसहरू अन्य ठाउँमा बस्दै आएका छन्।

बाढीपश्चात्‌ अस्थायी संरचनाभित्र कष्टकर जिउन बाध्य भएको भन्दै पीडितहरू पुनर्स्थापना र जीविकोपार्जनका लागि सरकारले चाँडै नीति तयार गरी आवश्यक व्यवस्थापन गरिदिए सहज हुने बताउँछन्।

'कतै जाने ठाउँ छैन'

विसं २०७२ सालको भूकम्पपछि थातथलो छोडेर रसुवाको उत्तरगया गाउँपालिका खाल्टेमा बस्दै आएका तेम्बा तामाङले बाढीले परिवारका सदस्यसँगै खुसीहरू लुटेर लगेको सुनाए।

बाढीले उनकी श्रीमतीसहित तीन छोरी बगाएर लगेको छ। तेम्बाका अनुसार खाल्टेका प्रत्येक घरले परिवारका सदस्य गुमाएको अवस्था छ।

"बाढीले बगाएर लगेका व्यक्तिहरू कहाँ होलान् कुन्नि? म बाँचेर पनि उनीहरूको वियोगमा त्रिपालमुनि कष्टकर जीवन जिउन बाध्य छु," भक्कानिँदै बीबीसीसँग उनले भने।

"सबै ठाउँमा हिलो नै हिलो छ। सुत्ने ठाउँ छैन। राति भएपछि चिन्ता शुरू हुन्छ, सबैको झलझली याद आउछ। कहाँ जाने, के गर्ने, कतै जाऊँ भने जाने ठाउँ छैन। कोठा भाडामा लिएर बसूँ भने पैसा छैन। भएभरका सम्पत्ति बाढीले बगायो।"

अस्थायी शिविरमा बस्दै आएकी बुटी तामाङले विनाशकारी बाढीमा आमाबुवा र श्रीमान्‌सहित केही आफन्त गुमाएकी छिन्।

"पन्ध्र वर्ष विदेशमा बिताएपछि परिवारसँगै अब दुःखसुख गरी बस्न भनेर केही महिनाअघि मेरो श्रीमान्‌ नेपाल फर्कनुभयो। बाढीपछि बेपत्ता हुनुहुन्छ," बीबीसीसँग उनले भनिन्।

'सुत्नलाई खाट छैन'

बुटीका अनुसार उनका श्रीमान्‌ वैदेशिक रोजगारीमा हुँदा आफ्नो परिवारलाई खानालाउन सहज थियो।

भूकम्पले अन्यत्र बस्न बाध्य बनाएको भए पनि विस्थापित भएकाहरूकै बस्तीमा सानो पसल चलाएर जीविका चलाउँदै आएको उनले सुनाइन्।

परिवारका सदस्य गुमाउँदाको पीडासँगै अस्थायी शिविरमा कहिले चर्को घाम त कहिले पानीले बस्न कठिन भएको दुखेसो उनले गरिन्।

"गाउँका सबै जना एकै ठाउँमा बसेकाले दिनमा यताउता भेटघाट र बोलचाल गरेर बित्छ, तर रात कहिले नआइदिओस् जस्तो लाग्छ। यादले रातभरि निदाउन सकिँदैन," बुटीले भनिन्।

विनाशकारी बाढी आएको शनिवार ठ्याक्कै एक महिना पुगेको छ। हामी यस्तै बिचल्लीमा बसिरहेका छौँ। कहीँ जाने विकल्प नहुँदा दुःख सहेरै यहाँ यसरी बसिरहेकी छु," उनले अगाडि थपिन्।

बुटी भन्छिन्, सरकारले बाढीपीडितहरूको हकमा पुनर्स्थापनाका काम छिटो गरिदिए सहज हुने थियो।

अर्का विस्थापित रमेश घले पनि अस्थायी बसोबास स्थायी समाधान नभएको औँल्याउँछन्।

अस्थायी शिविरमा आफूहरूलाई खानाको राम्रो प्रबन्ध भए पनि सधैँ त्यसरी गुजारा हुन नसक्ने उनको तर्क छ।

तथापि तत्काल आफूसँग कुनै विकल्प नरहेको बताउँदै उनले भने, "अहिले बसिरहेको ठाउँमा धेरै गाह्रो छ। घाम लागेको बेला पाल बेस्सरी तातेर बस्नै सकिँदैन। अहिले अस्तिदेखि पानी परिरहँदा हिलो नै हिलो भएको छ। सुत्नलाई खाट पनि छैन। पानी पसेर बस्ने ठाउँ नै हुँदैन।"

अविरल पानी परिरह्यो भने बाढीपछि विभिन्न सङ्घसंस्थाबाट प्राप्त राहत सामग्रीहरू पनि जोगाउन नसकिएला कि भन्ने पीर उनलाई छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।