होर्मुज स्ट्रेट बन्दको घोषणाबीच पनि अमेरिका-इरान प्रत्यक्ष वार्तामा

भान्स

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: ३ मिनेट

संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानको "परमाणु मामिला" र लेबननसम्बन्धी विषयमा वार्तामा प्रगति हासिल हुने आशा व्यक्त गरेका छन्।

अमेरिका र इरानबीच युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा विस्तार गर्न स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुँदैछ।

भान्स वार्ताको निम्ति स्विट्जरल्यान्ड पुगेका छन्।

युद्धविराम सुरुमै कमजोर साबित भएको छ र तेहरानले लेबनानमा हिज्बुल्लाहमाथि भएको इजरेली आक्रमणलाई लिएर आक्रोश व्यक्त गर्दै आफूले स्ट्रेट अफ होर्मुज बन्द गरेको घोषणा शनिवार गरेको थियो।

जुन युद्ध अन्त्य गर्न तेहरानले अमेरिकासँग गरेको सम्झौताको उल्लङ्घन हो।

हिज्बुल्लाहले अमेरिका–इरान सम्झौता ध्वस्त पार्न इजरायलले ती आक्रमणहरूलाई प्रयोग गरिरहेको आरोप लगाएको छ।

तर अमेरिकी सेनाले उक्त दाबीको खण्डन गर्दै भनेको छ, "पारवहन निरन्तर चलिरहेको छ।"

भान्स

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, भान्स वार्ताको निम्ति स्विट्जरल्यान्ड पुगेका छन्

विदेशमन्त्री अब्बास अराग्ची र संसद्का सभामुख मोहम्मद बगर गालिबाफ सहितको इरानी प्रतिनिधिमण्डल प्रत्यक्ष वार्ताको निम्ति स्विट्जरल्यान्ड पुगिसकेको छ।

नयाँ चरणको वार्ता आइतवार हुन लागेको छ। त्यसतर्फ विमानमा उड्नुअघि उपराष्ट्रपति भान्सलाई इजरेल-हिज्बुल्लाह भिडन्त र दक्षिणी लेबननमा इजरेली हवाई आक्रमणबारे प्रश्न गरिएको थियो।

"वास्तवमा त्यहाँको परिस्थितमा सुधार भइरहेको छ र अवस्था अलि सुस्त हुँदैछ," उनले भने, "हामीले इजरेल र लेबनन दुवै खतरामुक्त र सुरक्षित छन् भन्ने सुनिश्चित गर्न निरन्तर व्यवस्थापन गर्नुपर्ने छ र त्यो भइरहेको छ। यसको प्राथमिक लक्ष्य नै सम्पूर्ण क्षेत्रलाई सुरक्षित बनाउनु हो।"

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आफ्नो देशले "अर्को पक्षले आफ्ना प्रतिबद्धता पूरा गरोस् भन्ने माग गर्ने" बताएका छन्।

पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख पनि वार्तामा

पाकिस्तानी प्रधानमन्त्री

तस्बिर स्रोत, Pakistan PM Office

वार्ताको आरम्भमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुने उनको कार्यालयले बीबीसीलाई जनाएको छ।

पाकिस्तानले युद्धकालभरि मध्यस्थकर्ताको रूपमा काम गरेको थियो। अमेरिका र इरानबीच अघिल्लो चरणमा भएको वार्ताको आयोजना उसैले गरेको हो।

पाकिस्तानी सेनाका प्रमुख फिल्ड मार्सल जनरल सैयद आसिम मुनीर पनि सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

शनिवार अबेर राति एक्समा पोस्ट गर्दै प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्सल आसीम मुनीर वार्तामा सहभागी हुने सूचना जारी गरेको छ।

इरानी वार्ताकार

तस्बिर स्रोत, EPA/Shutterstock

पोस्टमा भनिएको छ, "प्रधानमन्त्री इस्लामाबादबाट उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ स्विट्जरल्यान्ड प्रस्थान गर्नुभएको छ।"

अमेरिका र इरानका राष्ट्रपतिले तत्काल लागु हुने गरी लेबननमा जारी समेतका युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन्।

त्यसमा आगामी ६० दिनमा अन्तिम सम्झौतामा पुग्न थप वार्ता गर्ने प्रतिबद्धता छ।

लेबननमा इजरेली आक्रमणले निम्त्याएको 'सङ्कट'

आक्रमण

तस्बिर स्रोत, Reuters

तर लेबननको राजधानी बेरुतको दक्षिणी इलाकामा रहेको इरान समर्थित मिलिसिया समूह हिज्बुल्लाह र इजरेलबीचको भिडन्तले परिस्थितिलाई जटिल बनाएको देखिन्छ।

लेबननमा शनिवार भएको शृङ्खलाबद्ध हवाई आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु भएको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरेली फौज (आईडीएफ) ले हिज्बुल्लाहसँग सम्बन्धित ८० वटा स्थानमा आक्रमण गरेको र दर्जनौँको सङ्ख्यामा उसका सदस्यहरूलाई मारिदिएको बताएको छ।

आईडीएफका अनुसार उसका ४ जना सैनिक पनि मारिएका छन्।

अमेरिका र इरानबीच सम्झौताको घोषणा भएदेखि नै इजरेल र हिज्बुल्लाहबीच निरन्तर भिडन्त चलिरहेको थियो, तर दुई पक्षबीच तत्काल लागु हुने गरी युद्धविराम गरिएको पुष्टि शुक्रवार दिउँसो भएको छ।

भान्स

तस्बिर स्रोत, Reuters

सम्झौता हुनुअघि इजरेलले लेबननबाट आफ्नो सेनालाई फर्काउने आफ्नो कुनै मनसाय नभएको बताउँदै हिज्बुल्लाहसँगको आफ्नो लडाइँ इरान युद्ध भन्दा अलग रहेको बताएको थियो।

हिज्बुल्लाहले लेबननमा इजरेली आक्रमण अमेरिका–इरान सम्झौता ध्वस्त तुल्याउने प्रयास भएको टिप्पणी गरेको छ।

अमेरिकी सरकारले लेबननमा इजरेलले गरिरहेको कारबाहीको आलोचना गरेको छ।

हिज्बुल्लाहले इरानी सर्वोच्च नेता मारिने गरी अमेरिका-इजरेलले गरेको हमलाको बदला स्वरूप इजरेलमा क्षेप्यास्त्र प्रहार गरेपछि उ पनि युद्धमा तानिएको थियो।

लेबननको स्वास्थ्य मन्त्रालयले इजरेल र हिज्बुल्लाहबीच मार्च २ तारिखमा पुनः द्वन्द्व सुरु भएयता ४,०५७ जना मारिएको जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।