इरान-अमेरिका सम्झौतालाई आफ्नो जितका रूपमा प्रस्तुत गर्दै तेहरान

तस्बिर स्रोत, Reuters
- Author, अमिर अजिमी
- Role, वरिष्ठ समाचार सम्पादक, पर्सियन सेवा
- Published
- पढ्ने समय: ३ मिनेट
इरानले इजरेललाई लेबननमा आफ्नो आक्रमण नरोके कडा जबाफ दिने चेतावनी दिएको छ।
इरानको सैन्य मुख्यालयले इजरेलले ८४ पटक युद्धविराम उल्लङ्घन गरेको दाबी गरेको छ।
लेबननको सरकारी सञ्चारमाध्यमले इजरेली आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको जनाएको छ।यसअघि इजरेली सेनाले शङ्कास्पद सवारीसाधनमा आक्रमण गरिएको बताएको थियो।
जी सेभन सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धेरै मानिसहरूको ज्यान गएकोमा आफू इजरेलसँग असन्तुषट भएको बताएका थिए।
उनले हिज्बुल्लाहका नेता खोज्ने क्रममा इजरेलले आवासीय भवनहरूमा आक्रमण गरेको आरोप लगाए।
अमेरिका पछि हटेको इरानी दाबी
इरानको नेतृत्वले अमेरिकासँग भएको भनिएको समझदारीपत्रलाई आफ्नो जितका रूपमा प्रस्तुत गरेको छ। तर यो तर्क स्थापित गर्न त्यति सजिलो चाहिँ छैन।
युद्धले भर्खरै ठूलो क्षति पुर्याएको इरानमा अर्थतन्त्र व्यापक दबावमा छ। अनि इरानभित्र केही पक्षहरू अमेरिकासँगको सम्झौता नमान्ने मनस्थितिमा देखिएका छन्।
इरानभित्र र विदेशमा रहेका केही इरानीहरू देशभित्रको सङ्कटलाई कूटनीतिका लागि उपयुक्त क्षण नभई सत्ता परिवर्तनको अवसरका रूपमा हेरिरहेका हुन्छन्।
तेहरानमा अहिलेको राजनीतिक परिवेश विभाजित छ। अनि नेतृत्वले चाहिँ सम्झौतालाई जनतामाझ स्वीकार्य बनाउन प्रयास गरिरहेको छ।
वरिष्ठ इरानी अधिकारीहरूले यो सम्झौतालाई आफ्नो जितका रूपमा देखाउन प्रयास गरेका छन्। इरानका सभामुख तथा वार्ताको नेतृत्व गरेका मोहम्मद बागेर गालिबाफले इरानले "अन्तिम विजयतर्फ ठूलो कदम चालेको" बताएका छन्।
जितको दाबीका तर्कहरू
राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँगको सहमतिलाई रूपान्तरणकारी भनेका छन्। सम्झौता कार्यान्वयन भए इरानका धेरै समस्या समाधान गर्न त्यसले सहयोग पुर्याउने उनको दाबी छ।
गालिबाफले यसलाई सकारात्मक लिनुलाई महत्त्वपूर्ण मानिन्छ। किनभने उनी पेजेस्कियानले मध्यमार्गी समूहसँग जोडिएका छैनन्।
उनले गरेको समर्थनले इस्लामिक गणतन्त्रभित्रका पनि शक्तिशाली केन्द्रहरू र इस्लामिक रेभलूशनरी गार्ड कोर समेत सम्झौताप्रति सकारात्मक रहेको सङ्केत दिन्छ।
तेहरानको नेतृत्वले अमेरिका र इजरेलले आफ्ना मुख्य उद्देश्यहरू हासिल गर्न असफल भएको तर्क गर्दै यो युद्धमा आफ्नो जित भएको दाबी गरेको छ।

तस्बिर स्रोत, EPA
अमेरिका र इजरेलले इरानलाई आत्मसमर्पण गर्न बाध्य पार्न नसकेको, इस्लामिक गणतन्त्रलाई सत्ताबाट हटाउन नसकेको, सैन्य कारबाहीमार्फत् इरानको परमाणु कार्यक्रम अन्त्य गर्न नसकेको अनि हिज्बुल्लाहसँग इरानका सम्बन्ध तोड्न नसकेको विषयलाई उनीहरूले विजय भनेका छन्।
बरु इरान अझै वार्ताको टेबलमा रहेको अनि लेबननलाई पनि त्यसमा समेटिएको विषयलाई इरानले आफ्नो जितका रूपमा चर्चा गरेको छ।
इरानभित्रै फरक मत
इरानी नेतृत्वले प्रचार गरिरहेको यो विषय इरानभित्रै विवादित बनेको छ।
इरानका एक सांसदले सम्झौताले आफ्नो देशलाई "अमेरिकी उपनिवेश" बनाउन सक्ने भन्दै आलोचना गरेका छन्।
उनले इरानी वार्ताकारहरूलाई होर्मुज जलमार्ग नखोल्न सर्वोच्च नेताले दिएको निर्देशन उल्लङ्घन गरेको बताएका छन्।
उनको यो आलोचनालाई इरानमा महत्त्वपूर्ण मानिन्छ। किनभने उनी इरानको संसद्का राष्ट्रिय सुरक्षा समितिका उपप्रमुख पनि हुन्। त्यस कारण उनको भनाइ राष्ट्रिय सुरक्षा अनुगमन गर्न बनाइएको संस्थाभित्रैबाट आएको हो।
इरानमा संसद्मा कट्टरपन्थी नेताहरूको आवाज, राज्य समर्थित सञ्चारमाध्यम र रातको समयमा हुने सरकारको समर्थनमा आयोजित सभाहरूमा अमेरिका विश्वासनीय साझेदार नभएको तर्क गर्दै आएको देखिन्छ।
उनीहरूले युद्धभन्दा अगाडि पनि कूटनीतिक वार्ताहरू भएका र ट्रम्प प्रशासन र इजरेलले त्यसलाई युद्धको तयारी गर्ने मौकाको रूपमा लिएको तर्क गर्दै आएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















