इजरेल र हिज्बुल्लाह 'युद्धविरामका लागि सहमत'

तस्बिर स्रोत, EPA
एक वरिष्ठ अमेरिकी अधिकारीले इजरेल र लेबननको हिज्बुल्लाह युद्धविराम गर्न सहमत भएको बताएका छन्।
इजरेलका एक सैनिक प्रवक्ताले भने युद्धविराम कार्यान्वयनमा रहेको तर "आदेश पाए सेनाले पुनः सैन्य कारबाही" गर्ने बताए।
अमेरिका र इरानबीच भएको सहमतिलाई लेबननमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ उक्त सम्झौता भएको हो।
शुक्रवार अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो।
लेबननले पछिल्लो इजरेली हवाई आक्रमणमा कम्तीमा १८ जना मारिएको बताएको थियो भने इजरेलले हिज्बुल्लाहले चार सैनिक मारिदिएपछि आफूले जबाफी आक्रमण गरेको जनाएको थियो।
चिन्तामाझ 'सहमति'

तस्बिर स्रोत, Reuters
इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले हिज्बुल्लाह र इजरेलबीच युद्धविराम भएको पुष्टि गरेको छ। आईडीएफका प्रवक्ता एफी डेफ्ररिनले एउटा विज्ञप्तिमा भने, "हामी युद्धविरामको अवस्थामा छौँ। आईडीएफ आदेश पाएको खण्डमा लडाइँलाई पुन: जारी राख्न तयार छ।"
अमेरिका र इरानबीच भएको सम्झौताअनुसार लेबननमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो। तर लेबननको स्वास्थ्य मन्त्रालयले इजरेलका हवाई हमलाहरूमा दक्षिण भागमा गत राति कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको थियो।
इजरेली सेनाले आफूले इरानको समर्थन पाएको हिज्बुल्लाह समूहलाई निसाना बनाएको उल्लेख गर्दै आफ्ना चार जना सैनिकहरू मारिएको बताएको थियो।
इजरेलका सैनिकको मृत्युबारे चरम दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इट्मा बेन गभिरले उनकै शब्दमा सम्पूर्ण लेबनन जल्नुपर्ने बताएका थिए।
लेबननका राष्ट्रपति योजेफ आउनले इजरेली आक्रमणको विस्तारलाई खतरनाक भन्दै यसले तनाव चर्काउने चिन्ता जनाएका थिए।
उक्त तनावमाझ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्डको भ्रमणमा ढिलाइ गरेका थिए।
यसै हप्ता हस्ताक्षर भएको अमेरिका-इरान सम्झौताको कार्यान्वयनका आगामी पाटोहरूबारे प्राविधिक छलफल गर्न स्विट्जरल्यान्डमा आज वार्ता हुन लागेको थियो।
ह्वाइट हाउसले बिहीवार अबेर भान्स वार्ताका लागि नजाने भन्दै भ्रमणको तयारी प्रक्रिया 'समान्य वा अनुमानयोग्य' नभएको बताएको थियो।
दुई देशबीचको सम्झौतामा हस्ताक्षर भएपछि अमेरिकाले इरानविरूद्धको सामुद्रिक नाकाबन्दी हटाएको थियो।
ह्वाइट हाउसको विज्ञप्ति आउनु केही घण्टाअघि हिज्बुल्लाहसम्बद्ध लेबननको सञ्चारमाध्यमले इजरेलको जारी आक्रमणका कारण वार्ता स्थगित भएको खबर प्रकाशित गरेको थियो।
इरान युद्धमा कसरी जोडियो हिज्बुल्लाह
गत फेब्रुअरी अन्त्यमा इरानका सर्वोच्च नेता इजरेली हमलामा मारिएपछि हिज्बुल्लाहले इजरेलमा रकेट हमलाहरू गरेको थियो। त्यसपछि मार्चको प्रारम्भमा इजरेल, अमेरिका र इरानबीचको युद्धमा लेबनन पनि तानिएको थियो।
इजरेलले लेबननभर बमबारी गरेको थियो र उत्तर सीमाबाट हिज्बुल्लाह लडाकुलाई लखेट्ने उद्देश्यले कैयौँ भाग कब्जामा लिएका थियो।
पछिल्लो द्वन्व यता लेबननमा कम्तीमा ३,९१२ जना मारिएका र ११,६९९ घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
दक्षिण लेबननका दर्जनौँ समुदायहरू पूर्ण रूपमा ध्वस्त हुँदा झन्डै १० लाख मानिस विस्थापित भएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















