रसुवाको एउटा गाउँ जहाँ बाढीपछि बेग्लै चिन्ता थपिएको छ

बन्दाखेतमा गत्लाङ गाउँकी एक वृद्धा

तस्बिर स्रोत, Nima Norbu Tamang

तस्बिरको क्याप्शन, गत्लाङकी धामी डोल्मो तामाङ
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

भदौ १० गतेको भोटेकोशी-त्रिशूलीको विनाशकारी बाढीले ठाउँअनुसार फरकफरक पीडा दिएको पीडितहरू बताउँछन्।

आफन्त र खेतबारीसहित सर्वस्व गुमाएका मानिसहरूको एक थरीको पीडा छ भने आफन्त गुमाएका तर खेतबारी बाँकी रहेका मानिसहरूको अर्कै खालको पीडा छ।

'कालो गाउँ'ले परिचित रसुवाको आमाछोदिङमो गाउँपालिका-३ मा पर्ने गत्लाङ गाउँका कम्तीमा २९ जना बाढीपछि हराइरहेका स्थानीय जनप्रतिनिधिले बताएका छन्।

उक्त गाउँमा बाढी नपसेको भए पनि बाढीको प्रभावले छोएको छ। सीमावर्ती बजारमा काम गर्न गएका सो गाउँका कैयौँ व्यक्ति भीषण बाढीको चपेटामा परे।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार कन्टेनर चलाउने, रसुवा-तिब्बत सिमानामा पसल थाप्ने, आपूर्तिकर्ताका रूपमा काम गर्ने जस्ता गत्लानवासीहरूलाई बाढीले बगाएको हो।

मूलतः तामाङ समुदायको बसोबास रहेको गत्लाङवासीलाई परिवारका सदस्य हराइरहेको पीडा त छँदै छ, बाढीसँगै गाउँको सडकसम्पर्क टुटेपछि एउटा छुट्टै चिन्ता थपिएको छ।

गाउँलाई जोड्ने सडकसञ्जाल नहुँदा बारीमा फलिरहेका लाखौँ मूल्य बराबरको बन्दाकोबी नबेचिएर त्यसै कुहियो भने भोलि गएर कसरी गुजारा गर्ने भन्ने चिन्ता थपिएको उनीहरू सुनाउँछन्।

फुर्पु वाङमो तामाङ

तस्बिर स्रोत, Nima Norbu Tamang

तस्बिरको क्याप्शन, फुर्पु वाङमो तामाङ

'बाटो नबने बर्बाद हुन्छ'

गत्लाङकी ४० वर्षीया फुर्पु वाङ्‌मो तामाङ विनाशकारी बाढी आएको धेरै दिनपछि शनिवार बारी पुग्दा झारपात उम्रेको देखेर तिनलाई उखेल्न थालिन्।

"अबको १५-२० दिनमा त बन्दाकोपी बेच्न मिल्छ, तर सडक छँदै छैन। सब कुहिएर जाने चिन्ता पो थपियो," झारपात उखेल्दै गर्दा उनले बीबीसी न्यूज नेपालीसँग भनिन्।

"बन्दाकोपी बेच्ने बेलासम्म बाटो बनेन भने त बर्बादै हुन्छ। बन्दाकोपी बेचेरै अरू खाद्यान्न किन्ने किसानहरूको त बिजोग नै हुने भयो। यो बेचिएन भने यो कुनामा खानेकुरा पनि नपाइएला," फुर्पुले चिन्ता व्यक्त गरिन्।

किसानहरूले बन्दाकोबी बेचेरै चामल, नुन, तेल किन्नेदेखि बालबच्चा पढाउने गरेको उनी सुनाउँछिन्। "के खाने, बच्चाहरू कसरी पढाउने? धेरै चिन्ता भयो।"

फुर्पुले यसपालि ६ रोपनी जतिमा बन्दाखेती गरेकी छन्। "पोहोर दुई लाख रुपैयाँ बराबरको बेचेका थियौँ। यसपालि पोहोरभन्दा बढी रोपेका छौँ," उनले भनिन्।

गत्लाङ गाउँको बन्दाखेत

तस्बिर स्रोत, Nima Norbu Tamang

फुर्पुका श्रीमान्‌ निमा नोर्बु तामाङ स्थानीय स्वास्थ्य चौकीमा काम गर्छन्। जागिरबाट बचेको समय उनी खेतीपातीमा आफ्नी श्रीमतीलाई सघाउँछन्।

बन्दाखेती थालेको पाँच वर्ष भए पनि विगत तीन वर्षदेखि उनको परिवारले उत्पादन बढाउँदै लगेको छ।

"पोहोर राम्रो विक्री भएर यो वर्ष हामीले मात्र नभई अरू किसानले पनि अझ बढाएर बन्दा रोपेका छन्, तर यसपालि नै यो विपद्‌ आइपर्‍यो। विक्री भएन भने गाईबस्तुलाई खुवाएर पनि सकिँदैन," निमाले बीबीसी न्यूज नेपालीसँग भने।

पछिल्लो केही वर्षयता बर्सेनि करोड रुपैयाँभन्दा बढीको बन्दाकोबी बेच्दै आएका गत्लाङ्वासीहरूले यसपालि पहिलाभन्दा बढी खेती गरेका उनी सुनाउँछन्।

उनका अनुसार राम्रो आम्दानी र तत्काल नगद पनि पाउने भएपछि किसानहरूले अरू खेती छोडेर बन्दाकोबी उत्पादन बढाएका हुन्।

तर उनीहरूलाई के थाहा थियो ठ्याक्क बेच्ने समयको आसपास नै बाढीले बगाएर सडक सञ्जालको यो नियति होला भनेर।

"कतिपय किसानलाई आफन्त गुमाएको चिन्ता त छँदै छ, रोपेको बन्दा पनि अब कुहिएर जाने भयो भनेर अर्को चिन्ता थपिएको छ," निमाले भने।

'सिङ्गो गाउँलाई चिन्ता छ'

तेन्पी निमा तामाङ

तस्बिर स्रोत, Tenpi Nhima Tamang

तस्बिरको क्याप्शन, तेन्पी निमा तामाङ

गत्लाङकै ३१ वर्षीय तेन्पी निमा तामाङ र उनका काकाका छोराहरूसहित छ जना मिलेर यसपालि ३५ रोपनीमा बन्दाखेती गरेका छन्।

"हामी दाजुभाइ नसकेर गाउँलेलाई पनि रोप्न दिएका छौँ। हाम्रो चाहिँ लेकमा भएर अलि पछि तयार हुन्छ। कोहीकोहीको आजभोलिमै बेच्नका लागि तयार हुन लागेको छ," उनले सुनाए।

गत वर्षको तुलनामा सिङ्गो गाउँले धेरै बन्दा फलाएको भन्दै उनले बेच्न सकिए यसपालि राम्रो आम्दानी हुने बताए।

"यो पालि पूरै गाउँमा गरी ८-९ करोड रुपैयाँ बराबरको बन्दाखेती भएको छ। राम्रो मूल्य पाएमा हामी दाजुभाइले नै ३० लाख रुपैयाँ जति आम्दानी गर्छौँ," तेन्पीले आशा व्यक्त गरे।

त्यो आशा व्यक्त गर्दै गर्दा बाटोको कुराले उनलाई निराश बनाउँछ। "मुख्य चिन्ता नै बाटो हो। पासाङ ल्हामु राजमार्ग नै क्षतिग्रस्त भएपछि काठमाण्डू, पोखरा, हेटौँडा, वीरगन्ज, भैरहवा, बुटवललगायत ठाउँमा हाम्रा बन्दा जाने गरेकोमा अब कसरी जाला?," उनले भने।

अनि उत्पादित बन्दा बेच्न नसकिए त्यसपछि झेल्नुपर्ने समस्याबारे घोत्लिएर तेन्पी झन्‌ चिन्तित बन्छन्।

"त्यही [बन्दाकोबी बचेको] पैसाले चामल किन्छौँ, त्यही पैसाले छोराछोरीको स्कूलको फिस तिर्छौँ, औषधिउपचार गर्छौँ। त्यही नभए हामीले के गर्नु? सिङ्गो गाउँलाई निकै चिन्ता पो छ त," उनले अगाडि थपे।

अरू केही नभए पनि गाउँलाई बजार र शहरसँग जोड्ने बाटो बन्यो भने आफूहरूको चिन्ता हट्ने तेन्पी सुनाउँछन्।

'…नभए ठूलै नोक्सानी होला'

गत वर्षको बन्दाखेत

तस्बिर स्रोत, Tenpi Nhima Tamang

तस्बिरको क्याप्शन, गत वर्ष गत्लाङका किसानले एक करोड रुपैयाँभन्दा बढीका बन्दाकोबी विक्री गरेका बताएका छन्

आमाछोदिङमो गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङ पनि गाउँलेहरूको समस्या लिएर आफू पनि चिन्तित बनेको सुनाउँछिन्।

"बाटो बन्न सकेन भने त किसानहरूको उत्पादन खेर गएर करोडौँ रुपैयाँ बराबरको नोक्सानी हुने देखिन्छ," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

भदौ १० गतेको अकल्पनीय बाढीले बगाएपछि रसुवाको स्याफ्रुबेँसीदेखि सानो भर्खु जोड्ने सडक नै अहिले अस्तित्वमा नभएको उनले सुनाइन्।

"तत्काल एउटा बेलिब्रिजसम्म हाल्न सकिए त्यो नोक्सानी बेहोर्न नपर्ला। होइन भने ठूलै नोक्सानी बेहोर्नुपर्ने देखिन्छ," तत्काल तुइन राख्ने पहलमा जुटेकी उपाध्यक्ष चण्डिकाले भनिन्।

उनका अनुसार गत्लाङमा मात्र नभई आमाछोदिङमो गाउँपालिकाका अरू वडाका किसानहरूले पनि ठूलो क्षेत्रमा बन्दाखेती गरेको बताइन्।

"ठ्याक्कै क्षेत्रफल भन्न सकिनँ मैले, तर यस पाला धेरै मात्रामा बन्दाखेती भएको छ," उनले भनिन्।

भदौ १० गते नेपाल-चीन सीमामा आएको भीषण बाढीले सडक पूर्वाधारदेखि सञ्चार, जलविद्युत्‌‌लगायत क्षेत्रमा व्यापक क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

रसुवादेखि नुवाकोट, धादिङसहितका जिल्लामा भएको भएको क्षतिको स्तर हेर्दा पुनर्निर्माणमा नेपाललाई लामो समय लाग्न सक्ने विज्ञहरूले बताइरहेका छन्।

लाखौँ रुपैयाँको लगानी रहेको जीविकोपार्जनको मुख्य स्रोत बनेको बन्दाकोबी बेच्ने बेलासम्म कुनै वैकल्पिक बाटो बन्ला भन्ने आस चाहिँ फुर्पु, तेन्पी, निमा जस्ता किसानहरूले मारिसकेका छैनन्।

"गाउँलेहरूलाई आशा छ यो बाटोको विकल्पमा अरू कुनै बाटो चाहिँ जरुर निस्किएला," निमाले आशा व्यक्त गरे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।