पीडित परिवारले गुनासो गर्दा उल्टै गाली, जथाभावी टिप्पणी गर्नेलाई कारबाहीको दायरामा ल्याउँदै सरकार

साइबर अपराध
Published
पढ्ने समय: ५ मिनेट

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले बाढीको केही दिनयता दैनिकजसो सामाजिक सञ्जालमा गर्दै आएको पोस्टमा शनिवार एउटा हरफमा उनले लेखे "यो संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने, थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुन्छ।"

भदौ १० गते हिमचट्टान फुटेर भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर हराएका व्यक्तिका परिवार लक्षित उनको पोस्ट थियो त्यो।

सरकारको खोजी, उद्धार र राहतप्रति गुनासो गर्ने परिवारप्रति सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी हुने गरेको पाइन्छ।

अहिले सामाजिक सञ्जालमा प्रेषित भएका थुप्रै भिडिओ र कमेन्टहरूमा बाढी पीडित व्यक्तिमाथि अनावश्यक र अश्लिल टिप्पणी गरिएको भन्दै त्यस्ता व्यक्तिमाथि अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

बीबीसीसँग केही दिनअघि कुरा गर्दै बाढीपीडित एक महिलाले भनेकी थिइन्, "सरकारले समयमै उद्धारका लागि विज्ञहरू र उपकरणहरू परिचालन गर्न सकेको भए हाम्रो परिवारको सदस्यको अवस्था चाँडै थाहा हुन्थ्यो कि? बाँचिरहेकै अवस्थामा भेट्न सकिन्थ्यो कि भन्ने आशा छ।"

यसो भनेको केहीबेरमा उनले आफैँ फोन गरेर भनिन्, "मैले अघि सरकारसँग गरेको गुनासो नराखिदिनुहोस् है। फेरि सामाजिक सञ्जालमा धेरै गाली आउँछ। मैले अस्ति लेखेको पोस्टमा मलाई धेरै नराम्रा कमेन्टहरू आए। हामीलाई त पीडामाथि पीडा थपिएको छ।"

मानिसहरूको आक्रोशमा कस्ता टिप्पणी भएका छन्?

अहिले सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ जहाँ एकजना महिलाले बाढीमा हराइरहेका श्रीमान्सहित परिवारका अन्य सदस्यलाई खोज्न सरकारले तत्परता नदेखाएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।

उनले सामाजिक सञ्जालमा देखिने भिडिओमा भनेकी छन्, "बच्चाले गएर दागबत्ती दिने भनिरहेको छ। मैले कतिजनालाई गुहार मागिसकेँ मलाई पठाइदेउ भनेर। कहाँ जानुपर्ने हो म यसका लागि? केही छैन हाम्रो देशमा? के सरकार हो यस्तो यो? यस्तो नाबालकलाई लिएर 'हजुर, हजुर' भन्दा पनि कसैले केही सुन्दैन। बाटो भएको भए हामी हिँडेर पनि जान्थ्यौँ नि। मेरो बुढा छैन। मेरो आमाबुवा छैन। मेरो हजुरआमा, भाइबुहारी कोही छैन। मेरो घर छैन। मेरो घरपरिवारको काजकिरिया गर्न जान लागेको हो। सरकार मेरो बुढाको सास नभेटाइदिए पनि लास त भेटाइ दे न।?..."

उनले भिडि‌ओमा आफ्नो परिवार हराएको १० दिनमा पनि सरकारले केही नगरेको गुनासो गरेकी छन्।

त्यसमा उनलाई अश्लीलसहितका थुप्रै गाली गरेका कमेन्टहरू आएका छन्।

योलगायत अन्य थुप्रै त्यस्ता भिडिओहरूमाथि आफूहरूले अनुसन्धान गरिरहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

ब्यूरोका प्रवक्ता दीलिपकुमार गिरीले ब्यूरोको १० जनाको टोलीले अहिले अनुसन्धान गरिरहेको जानकारी दिए।

"भदौ १०को बाढीपछि पीडितका आफन्तले परिवार खोज्ने क्रममा व्यक्त गरेका आक्रोशमा अश्लील टिप्पणी गरेर थप पीडा दिने काम गरेको देखिन्छ। यो विषयमा १० गतेबाट नै ब्यूरोले बाढीसम्बन्धी तथ्यहीन, भ्रामक लगायत पीडितलाई थप पीडा दिने कमेन्ट गर्नेहरूको अनुगमन गर्न र उनीहरूको पहिचान गर्न १० जनाको एउटा टोली गठन गरेर अनुसन्धान गरिरहेका छौँ," उनले भने।

"यसमा कसैले उजुरी नगरे पनि हामीले आफैँ अनुसन्धान गरिरहेका छौँ।"

उनले माथि उल्लेखित महिला जसको भिडिओ सार्वजनिक भएपछि धेरैले नकारात्मक र अश्लीललगायत थप पीडा दिने कमेन्ट गरे उनीहरूको पहिचान गर्न अनुसन्धान भइरहेको जानकारी दिए।

"तत्काल त्यो भिडिओलाई डाउनलोड गरेर त्यससम्बन्धी अनुसन्धान गर्न र संलग्न व्यक्तिहरूको पहिचानका लागि मेटा(फेसबुकको माउ कम्पनी)लाई लेख्ने काम पनि भइसकेको छ," उनले भने।

त्यस्तै कुनै समुदायलाई आँच पर्ने टिप्पणी गरिएको विषयहरूमा पनि आफूहरूले अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

सामाजिक सञ्जालमा आफूलाई बैतडीका बताउने एक पुरुषले "रसुवामा बाढी आएको ठिक भयो... " भन्दै विभिन्न समुदायलक्षित घृणा फैलाउने पोस्ट राखेका थिए। अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको प्रवक्ता गिरीले बताए।

कस्तो कारबाही हुन्छ?

साइबर ब्यूरो
तस्बिरको क्याप्शन, साइबर अपराधका मामिला हेर्न नेपाल प्रहरीले छुट्टै ब्यूरो बनाएको छ

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पीडितलाई थप पीडा दिनेमाथि सरकार निर्मम हुने बताएका छन्।

सामाजिक सञ्जालको दुरुपयोग गरेर अरूको चरित्र हत्या गर्ने वा गालीगलौज गर्नेलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ आकर्षित हुने जानकारहरू बताउँछन्।

उक्त दफा अनुसार दोषीलाई एकदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था रहेको साइबर ब्यूरोका प्रवक्ता गिरीले बताए।

उनले सामाजिक सञ्जालमा गरिएका टिप्पणीमा उजुरी परेपछि मात्रै नभइ प्रहरीले आफैँ अध्ययन र अनुसन्धान गरिरहेकोले अरूलाई गालीगलौज गर्ने वा अरूको चरित्रहत्या गर्न खोज्ने व्यक्ति उम्किन नसक्ने भन्दै सचेत रहन आग्रह गरे।

पीडितलाई झन् पीडा - कस्ता मानिसले दिइरहेका छन्?

कतिपयले उनी जस्तै सरकारप्रति गुनासो वा आक्रोश पोख्नेको कडा आलोचना गर्ने एउटा 'परिचालित समूह' रहेको बताउने गरेका छन्।

यस्तो प्रवृत्तिबारे बोल्दै खासगरी यसरी सामाजिक सञ्जालमा तीन प्रकारका मानिसहरू देखिने गरेको कम्प्युटर विज्ञानमा विद्यावारिधि गरेकी तथा एआईबारे विभिन्न अनुसन्धानमा संलग्न एकजना विज्ञ दोभान राई बताउँछिन्।

उनले एकथरी सरकारका कट्टर समर्थक अर्कोथरी अरूको दुखमा टिप्पणी गर्न रमाउने र अर्को थरी 'रेज बेइटिङ' अर्थात् नराम्रो कुरा लेखेर सामाजिक सञ्जालमा प्रयोगकर्तालाई धेरैबेर आफ्नो कन्टेन्टमा टिकाउन त्यसो गर्नेहरू पनि रहेको बताएकी छन्।

"त्यस्तो आक्रामक अथवा नकारात्मक कुराहरूमा मन नपराएर अचम्ममा पर्नेहरू पनि अडिन्छौँ त्यसले गर्दा पनि हाइ भ्यालू भएर एल्गोरिदम्‌को लागि धेरै भ्यालु दिने भयो। अनि नकारात्मक मानिसहरू पनि त्यसमा इन्गेज हुने भए। त्यसले गर्दा एल्गोरिदम्‌मा माथि तैरिने भयो," उनले भनिन्।

"अनि कहिलेकाहीँ चाहिँ - सरकारले त गरेकै छ नि। पहिलेको सरकारले के गरेको थियो र भन्ने पनि देखिन्छ। सरकारप्रति धेरै नै सहानुभूति राखेर सरकारप्रति प्रश्न गर्नेलाई निन्दा गर्ने अतिवाद पनि देखिएको छ। त्यसले पनि सामाजिक सञ्जालमा संवादलाई बढी ध्रूवीकृत गरेको छ।"

अहिलेजस्तो विपद्को बेला खासगरी सरकारलाई आवश्यकता अनुसार झक्झकाउने र आवश्यकता अनुसार संयम हुनुपर्ने उनी बताउँछिन्।

"अहिले गर्नुपर्ने चाहिँ सरकार जुनजुन कुरामा चुकेको छ त्यसमा झक्झकाउने हो। त्यसैले कुन कुरामा विरोध गर्नुपर्छ, कुन कुरामा अलि संयम लिनुपर्छ भन्नेमा हामीले नागरिक समाज र इन्फ्लुएन्सरहरूले पनि रणनीतिक भएर तर कुन तहमा गाली गर्ने भन्ने पनि संयम नै हुनुुपर्छ होला," उनले भनिन्।

उनले कतिपय अवस्थामा सरकारसँगै नजिक रहेको टोलीले पनि यस्तो गरेको हुनसक्ने भन्दै त्यसलाई सरकारले नै रोक्नुपर्ने बताइन्।

"सरकारसँग नजिक रहेको टीमले नै यस्तो (सरकारको आलोचना गर्नेलाई) गाली गर्ने समूह परिचालित गरेको छ भने त्यसको राजनीतिक मात्रै नभइ नैतिक जिम्मेवारी पनि सरकारले लिनुपर्छ।"

अधिवक्ता बाबुराम अर्याल कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सरकारको बचाउ गर्ने अवस्थामा पुगेर यस्ता टिप्पणीहरू आएको बताउँछन्।

"सरकार पक्ष नै संयमित भएको भए उसका समर्थक पनि संयमित हुने थिए। उनीहरूको सामाजिक सञ्जालको इन्गेजमेन्टले उनीहरूको बचाउ गर्नेहरूलाई आक्रामक बनाइरहेको देख्छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।